रणनीतिमा दृढ हुनु हरेक मालेमावादीका लागि अनिवार्य कुरा हो । रणनीति र कार्यनीतिबिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । राजनीति विज्ञान मात्र होइन कला पनि हो भन्ने कुराको महत्व पनि यसमा नै छ । कार्यनीति कतिपय वेला २४ घण्टामा पनि फेरिने र कतिपय समयमा विरोधी पक्षलाईसमेत् साथमा लिएर रणनीतिसँग जोड्नुपर्ने हुँदा यसमा पर्याप्त लचकता अपनाउनुपर्ने, कला पुर्याउनुपर्ने हुन्छ । रणनीतिक उद्देश्य पूरा नहुने कार्यनीति हुनै सक्दैन । तिलस्मी कुरा गरेर सगरमाथा चढ्ने रणनीति बनाएर हिन्द महासागरतिर यात्रा थाल्नु फट्याई मात्र हो । कुनै पनि हालतमा चर्तुर्याई र कला होइन राजनीतिमा एउटा इमान्दारिता चाहिन्छ । कार्ल माक्र्सले प्रष्ट शब्दमा भन्नुभएको छ ‘कम्युनिस्टहरू आफ्नो उद्देश्य लुकाउनुलाई अपराध ठान्छन्’ । उद्देश्य प्रष्ट भइसकेपछि अपनाउने लचकता मात्र हो, कार्यनीति । केही समय अगाडि जाने साझा स्वार्थ र गन्तव्य मिलेपछि मात्र सँगै हिँड्न सकिन्छ । उदाहरणको लागि राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको यात्रासम्म सँगै जाऔं भनेर १२बुँदे सम्झौता गरिएको थियो । त्यसमा कसैले कसैलाई झुक्याएको फसाएको थिएन । यद्यपि तात्कालिन सात दलीय राजनीतिक शक्तिको हकमा यो कुरा ठिक थियो । उनीहरू लोकतान्त्रिक गणतन्त्र भन्दा अगाडि जान सक्दैनथे । किनकि त्यो उनीहरूको अन्तिम लक्ष्य हो । परन्तु माओवादीको हकमा यो कुरा अन्तिम थिएन र हुँदैनथ्यो । तर विडमब्ना भयो त्यही, जो नहुनु थियो । यसमा माओवादीको मुख्य नेतृत्वतहका नेताहरूले राष्ट्र र जनताका निम्ति घात गरे र लोकतान्त्रिक गणतन्त्रमै सीमित भएर बस्न जनयुद्धका सबै उपलब्धिहरूलाई काठमाडौँको टुकुचामा लगेर सेलाइदिए । लोकतान्त्रिक गणतन्त्र नै हाम्रो गन्तव्य हो भनेर कसैले भन्छ भने त्यो आफ्नो उद्देश्यबाट विचलित र स्खलित हो त्यो माक्र्सको भाषामा अपराध हो । सामान्य व्यवहारमा हेर्दा पनि काठमाडौबाट काँकरभिट्टा जान हिँडेको बसमा नारायणगढसम्म जाने यात्रुलाई सँगै जाउँ भन्दा कुनै ढाँटछल भ्रम दिइरहनु पर्दैन र नारायणगढ पुगेपछि काँकरभिट्टा जाने यात्रुलाई तँ पनि झर अगाडि जान पाउँदैनस् भनेर खोसाखोस र तानातान गर्नु पर्दैन र नारायणगढमा झर्ने यात्रुले व्यवहारमा त्यसो गर्दैन पनि । यही हो कार्यनीति र रणनीतिको सम्बन्ध । नारायणगढसम्म पुग्ने दुवैको साझा गन्तव्य र स्वार्थ मिल्यो, त्यो सँगै गए एउटाको उद्देश्य र गन्तव्य पुग्यो अर्कोको उद्देश्य र गन्तव्य काँकरभिट्टासम्म हो । बरू उसले अगाडि बढ्ने अरू यात्रु साथी खोज्न सक्छ पाउन सक्छ । रणनीति र कार्यनीतिको यो द्वन्द्वात्मक सम्बन्धलाई व्यवहारमा लागू गर्ने क्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा कति भ्रम विवाद र अस्पष्टता रहँदै आएको छ ।
लोकतान्त्रिक गणतन्त्रसम्म आउने काङ्ग्रेस एमालेको उद्देश्य हो, गन्तव्य हो । माओवादीको गन्तव्य र उद्देश्य नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादसम्म पुग्नु हो । लोकतान्त्रिक गणतन्त्रको स्टेशनमा आइसकेपछि तँ पनि अगाडि बढ्न पाउँदैनस् हामीले तँलाई मूल घरमा ल्याएको हो यहीँ झर अगाडिको यात्रा गर्न पाउँदैनस् भनेर झोलाझाम्टा र खरखजाना खोस्न थाल्नु र हातमा समाएर ओराल्न खोज्नु मुख्र्याई मात्र थियो । तथापि माओवादीको मुख्य नेतृत्मा सिघ्र सत्तालिप्प्साको मोहले समात्यो र बाह« बुँदे सम्झौताका सहयात्री सातदलीय शक्तिहरूले जता लतार्यो त्यतै लत्रिएर हिँडे । पार्टीभित्र भने विद्रोहको तयारी गर्ने हो भन्दै भ्रम दिइरहे । भ्रममा पारिरहे ।
नेपाली कम्युनिस्ट आन्दोलनमा संयुक्त मोर्चा, न्यूनतम कार्यक्रम, अधिकतम कार्यक्रम, रणनीतिमा अत्यन्तै विवाद अस्पष्टता, भ्रम, अन्यौल, सङ्किर्णता रहँदै आएको छ । प्रधान अन्तरविरोध खुट्याइसकेपछि त्यसैलाई आधार बनाएर संयुक्त मोर्चा बनाउँदै प्रधान शत्रुलाई एक्ल्याउँदै आवश्यक पर्दा गौण शत्रुलाई समेत साथमा लिएर एक एक थुङ्गा फूल उन्दै माला पूरा गरे जसरी एक एक वटा लडाईं जित्दै समग्र युद्ध जित्ने नियमलाई पालना नगर्दा घुमिफिरी रुम्जाटारको गोलचक्करमा फस्नेदेखि लिएर बौद्ध भिक्षु रहेसम्म घण्ट बजाइरहने प्रवृत्ति पनि देखापरेको छ । पछाडि फर्केर समीक्षा र सिंहावलोकन गर्दा यस्ता पनि दिन थिए भनेर सम्झँदा अहिले उदेक लाग्छ । संयुक्त मोर्चा गर्दा केन्द्रलाई दलाल र गद्यार भन्ने त्यही पार्टीको तल्लो इकाईलाई देशभक्त र बामपन्थी भन्ने’ जितेका पञ्चसँग कार्यगत एकता नगर्ने हारेका पञ्चसँग कार्यगत एकता गर्नेजस्ता वितण्डावादी कार्यशैली नेपाली कम्युनिस्ट आन्दोलनले बेहोरेको छ । यी माथिका विषयको आलोकमा माओवादी आन्दोलनका विभिन्न पार्टीहरूका बिचमा फेरि बहस वादविवाद चलेको छ । भनाई र गराइमा एकरूपता नहुँदा आशङ्का अविश्वास बढेको छ । अराजकतावादी व्यक्तिवादी नोकरशाही कार्यशैली नेता र कार्यकर्ताबिच राजा र रैतीको सम्बन्धलाई तोड्दै एउटा अतिवाद अर्को अतिमा पुगेर लेखहरूमा नामसम्म नलेख्ने समुहवादमा समेत फसेर सामुहिकताको केन्द्रीकृत अभिव्यक्तिको रूपमा नेतृत्वलाई पीरामीडीय आकारमा स्थापित गर्दै जाने भनिएकोमा एक्लो नेतृत्व स्थापित गर्ने काम भयो । मुसालाई बरदान दिँदै सिंह बनायो ‘अब तैलाई खान्छु भन्न थालेपछि पुन मुसिको भव: भन्ने ऋषिको ‘श्राप’जस्तो बन्न पुगेको छ, माओवादी पार्टीको नीति र नेतृत्वको अवस्था । ग्रामिण क्षेत्र मुक्त भए अब मध्यम वर्ग र शहरमाथि विजय प्राप्त गरेर ‘दलाल नोकरशाह र सामन्ती सत्ता’ विद्रोह गरेर कब्जा गर्दै सर्वहारा हितमा प्रयोग गर्ने भनेर अप्रिल थेसिस लेख्दै अक्टोबर क्रान्ति गर्न आएको पार्टी’ शहरको रमझममै हराएर आफ्नो गन्तव्य विर्संदै गयो । कार्यनीतिक लचकताको नाममा रणनीतिक उद्देश्य र गन्तव्यलाई छुपेरुस्तमको शैलीमा विसर्जन गर्दै लगियो ।
रणनीतिक दृढता, इमान्दारिता, सरलता, लगनशीलताको ठाउँ कार्यनीतिक दाउपेच, फट्याई, बेइमान, वर्ग उत्थान र श्रमचोर प्रवृत्तिले लिँदै गयो । ‘कम्युनिस्ट पार्टी नेताहरूको पार्टी हो, नेताहरूको नेता को हुने भन्ने कुरा मौकाको कुरा हो’ भन्ने वैज्ञानिकताको ठाउँ निम्न पूँजीवादी अहङ्कारले गर्दा म मात्रै जान्ने, चलाख, बाकपटुता, कागको फुल चोर्न सक्ने, पछाडि पनि आँखा भएको, म नभए पृथ्वी घुम्दैन, अरूले चलाउन सक्दैनन्’ भन्ने कुराले ठाँउ लिँदै गयो । रणनीतिक दृढता मात्र समाउने हो भने माक्र्सवाद कठमुल्लावादको धर्मशास्त्र बन्छ र हरेक माघ महिनामा पढिने स्वस्तानी ब्रत कथा भन्दा अरू केही हुँदैन । कार्यनीतिक लचकता मात्र अपनाउने हो भने माक्र्सवादको नाउमा कमाई खाने फटाहाहरूको एउटा झुण्ड मात्र बन्छ । जो एमाले र माओवादीकेन्द्र बनिरहेको छ । मन जे भयो सत्य सहज ज्ञान आज जे काम गर्यो त्यही नै माक्र्सवाद भन्ने अलग अलग दैनिक कार्य तालिका मात्र बन्दछ । रणनीतिक दृढता र सिद्धान्त रक्षाको नाममा प्रयोग र विकासबाट अलग भएको मोहनविक्रम प्रवृत्ति हाम्रो अगाडि खडा छ । कार्यनीतिक चतुर्याईको नाममा माक्र्सवादको आधारभूत कुरा वर्गसङ्घर्ष सर्वहाराको नेतृत्वमा निरन्तर क्रान्ति बल प्रयोगको भूमिका अधिनायकत्व झिकिदिँदा एमालेजस्तो संसदवादी बहुदलीय जनवादी सुधारवादी बुर्जुवा पार्टी बन्ने खतरा छ । यी दुवैबाट बच्नै रणनीतिक दृढता र कार्यनीतिक लचकताको द्वन्द्वात्मक सम्बन्ध कायम गरेर अगाडि जाने पार्टीको आवश्यकता छ । अहिलेसम्म त्यो भूमिका र जिम्मेवारी माओवादी पार्टीले निर्वाह गर्दै आएकोमा अब प्रश्नचिन्ह खडा भएको छ र फेरि नयाँ टेष्ट उत्र्तीण गर्न जरुरी छ ।
यही कुरा नेतृत्वमा पनि लागू हुन्छ । रणनीतिक कुरा मात्र गर्ने त्याग तपस्या बलिदानका मात्र कुरा गर्ने दैनिक सूचनाबाट अलग हुनेका २४ घण्टे महŒव भएका सूचना लिन दिन नखोज्ने दैनिक नुन तेल छाक बसेर आएका कार्यकर्ताको न्यूनतम आवश्यकताको गाँठो नफुकाउने हो भने कि त घरमा सम्पन्न भएका समस्या नभएका माथिल्लो वर्गका मानिसहरूको जमघट बन्छ पार्टी कि साधु सन्त र सन्यासीहरूको जस्तो बन्न पुग्छ । अर्कातिर कार्यनीतिक लचकताको नाममा वैचारिक उत्प्रेरणाको साटो भौतिक उत्प्रेरणालाई प्राथमिकतामा राख्ने हो भने पार्टीमा लाग्नु भनेको केही गुमाउन होइन केही पाउनको लागि हो भन्ने मानिसहरूको भिडतन्त्र बन्न पुग्छ । पार्टी बाँच्नको लागि खानको सट्टा खानको लागि बाँच्ने सम्प्रदायको पार्टी बन्छ । ठेक्कापट्टा, ठूला काला बजारीया, तश्करहरूले घेरा हाल्छन् र माक्र्सवाद उपयोगितावादमा फेरिन्छ । यस्को द्वन्द्ववाद भनेको मैले पार्टीलाई के दिएँ भनेर सोच्ने मलाई पार्टीले के दियो भनेर होइन भन्ने प्रवृत्तिको विकास गराउनु पर्छ भने तल्लो र विपन्न वर्गबाट आएका कार्यकर्तालाई सुख, दु:खमा साथ नदिने हो भने कम्युनिस्ट पार्टी अभिजात वर्गको पार्टीमा फेरिन्छ । निम्न पुँजीवादी समाजमा मानिसहरू सामुहिकतामा भन्दा वीर पूँजीवादी दृष्टिकोण राख्ने हुँदा हिरो खोज्ने प्रवृत्ति हुन्छ । त्यस्तो अर्थात् स्वस्थ, शिक्षित, धनी, हाकिम खोज्दै जाँदा मनहोमन, डा. केशरजंग रायमाझी, तुल्सीलाल, मोहनविक्रम जस्ता भेटिन जान्छन् ।
हामीलाई वैचारिक र भौतिकरूपमा सर्वहाराकृत नेतृत्वको खाँचो पर्छ । यसमा पनि पार्टीले द्वन्द्वात्मक सम्बन्ध राख्नु पर्छ । हरेक नेता तथा कार्यकर्ताले पार्टीलाई बढी भन्दा बढी दिऊँ भन्ने र पार्टीबाट सकेसम्म नलिँऊ र कम भन्दा कम लिऊ भन्ने सोचाई राख्नु पर्छ । यसो गर्दा मात्र सर्वहारा, तल्लो वर्गबाट आएका कार्यकर्ता पेशेवर क्रान्तिकारीलाई पार्टीमा टिकाउन सकिन्छ । रणनीतिमा सबै सर्वहाराकृत भन्ने र बनाउने हो । उत्पादनका साधन भूमी, पूँजी, श्रम र सङ्गठन सामजिक सम्पत्ति बनाउने र समाजवाद ल्याउने हो तर कार्यनीतिमा शासकवर्गकै एउटा तप्का विद्रोही बनेर क्रान्तिकारी बन्ने र तल्लो वर्गको मीतेरी बन्न आउने हुँदा हामीले शुद्धिकरणमार्फत् सर्वहाराकृत बनाउँदै अगाडि बढाउनु पर्छ । यसप्रकार हामीले नीति, नेतृत्वको रणनीति र कार्यनीतिलाई तालमेल मिलाउँदै साम्यवादी आन्दोलनलाई अगाडि बढाउने हो ।
































