काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राखेर सुरु भएको विद्यार्थी आन्दोलन सशक्त बनाउने तयारी भइरहेको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलका अनुसार दोस्रो चरणको आन्दोलन स्वरुप संयुक्त विद्यार्थी आन्दोलनमा जोडिएका विद्यार्थी संगठनसम्बद्ध ६ वटा पार्टीका शीर्ष नेतृत्वहरुलाई ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलबाट ज्ञापन पत्र बुझाउन सुरु गरिएकोमा शनिबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (मसाल)की नेतृ दुर्गा पौडेललाई र आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा र जनसमाजवादीका नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाइएको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिदासम्म आन्दोलनलाई थप सशक्त बनाउने तयारी भइरहेको बताइएको छ ।
ज्ञापन पत्र बुझ्दै सत्ता गठबन्धनका नेताहरुसहित सबै पार्टीका नेताहरुले विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउन सबै प्रकारका सहयोग गरिने प्रतिबद्धता जनाएको विद्यार्थी नेताहरुले बताएका छन् ।
नेताहरुलाई बुझाइएको ज्ञापन पत्रमा भारतबाट मात्रै ल्याइने प्रशोधित इन्धनमाथिको एकाधिकार अन्त्य गरी अन्तर्राष्ट्रिय बजारबाट प्रत्यक्ष रुपमा तेलजन्य कच्चा पदार्थ नेपालमा आयात हुने वातावरण तयार गरेर दीर्घकालीन रुपमा समस्याको समाधान खोज्दै जनताको जनजीविकाकालई सहज बनाउन सत्ता साझेदार पार्टीहरु र सत्ता बाहिर रहेका पार्टीहरुबाट संयुक्त विद्यार्थी संगठनले महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा मूल्यवृद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी संगठन देशभर कठोर आन्दोलन सिर्जना गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

ज्ञापन पत्रमा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार