
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा जातीय मोर्चाहरुको संयुक्त आयोजनामा नेपाल आयल निगमको कार्यालय टेकुमा विरोध प्रदर्शन गरिने भएको छ । जबस मोर्चाका नेताहरुको सोमबार बसेको बैठकले मंसिर १ गते १ बजे चर्को मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत महंगी बढ्दा जनजीवन निकै कष्टकर बन्न पुगेको विश्लेषण गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेजी गर्न र बढ्दो महंगी नियन्त्रण गर्न माग गर्दै विरोध प्रदर्शनको तयारी गरिएको सम्बद्ध नेताहरुले बताएका छन् ।

महिनामा तीन चार पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) लगायत ६ वटा विद्यार्थी संगठनहरु निरन्तर रुपमा आन्दोलित छन् भने नेकपा (विप्लव)ले आज मूल्यवृद्धिकै विरोधमा नेपाल बन्दको समेत आयोजना गरेको छ । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने विध्यार्थी संगठनहरुले चेतावनी समेत दिएका छन् ।