पुरानो पात्रो अनुसार सन १९१७ अक्टोबर १० मा रुसी जनताहरु सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेका र यो बोल्सेभिकले सत्ता लिने समय भएको लेनिनको भनाइ सँगै अगाडि बढाइएको विद्रोहको दृढ प्रस्ताव १० का बिरुद्ध २ मत सहित पारित भयो । कामेनेब र जिनोविभहरुले विद्रोहका बिरुद्ध करेन्स्की समक्ष गुप्त सामरिक सुचना पु¥याइनाले २४ अक्टोबरका दिन बिहान ९ बजे बोल्सेभिक पत्रीका “मजदुरको बाटो”को कार्यालयमा करेन्स्की सरकारका सैनिक द्वारा कब्जामा लिइ सम्पादक लगायत संचारकर्मीहरु माथी विद्रोह गर्न खोजेको आरोप सहितको अपराधीक मुद्दा दायर गरियो । लिओन ट्राटस्किको नेतृत्वमा रहेको सशस्त्र मजदुर तथा सेना सम्मिलित क्रान्तिकारी सैन्य समितिले करेन्स्की सरकार समर्थित सेनाद्वारा गरिएको उक्त कार्यको बिरोध मात्रै गरेन बरु १० बजे सो कार्यालय बोल्सेभिकहरुको नियन्त्रणमा लियो । सोही दिन ३ बजे सम्पुर्ण पुलहरु कब्जामा लिएर यातायात अबरुद्ध पार्ने आदेश अनुसार अगाडि बढेका करेन्स्किका सैन्य शक्तिसँग शृङ्खलाबद्द झडप गर्दै क्रान्तिकारी सैन्य समितिद्वारा टेलिग्राम कब्जा गर्नुका साथै संचार प्रणाली नियन्त्रणमा मात्रै लिइएन १९१७ अक्टोबर २५ ( अर्थात ७ नोभेम्बर ) राजधानी पेत्रोग्राद का सरकारी भवन, मुख्य संचार केन्द्र तथा सामरिक केन्द्रहरु सहित रेलमार्ग ,रेल स्टेसन तथा सरकारी गाडीहरु कब्जा गर्दै अगाडि बढेको बिद्रोही शक्ति सितकालिन दरवार प्रवेश गर्नु अगाबै सरकार प्रमुख करेन्स्की भाग्न पुगे ।

२६ डिसेम्बरका दिन दरवारमा सुरक्षा गर्न बसेका डेढसय सैनिक तथा ३ हजार कार्यकर्ता लाई नियन्त्रणमा लिएर बन्दी बनाउदै दिउँसो १० बजे प्रवेश गरेर ३ घण्टाको कारबाही पश्चात्सशस्त्र मजदुर तथा सेना सम्मिलित क्रान्तिकारी सैन्य समितिद्वारा अन्तरिम सरकारलाई बिस्थापित गरियो । अखिल रुसी कंग्रेसको अधिवेशनमा लेनिनले उक्त ऐतिहासिक घोषणा गर्नुभएको थियो । “साथिहरु ! हामीले समाजवादी राज्य रचनाको काम हाम्रो हातमा लिनुपर्छ” लेनिनले यो उद्गार व्यक्त गरिरहदा अक्टोबर क्रान्तिका उथलपुथलकारी परिघटनाका साक्षि जोन रिडले यसलाइ शताब्दिकै महान र युगान्तकारी भनाइका रुपमा उल्लेख गरेका थिए ।

विद्रोहमार्फत सत्ता कब्जा गरेको घोषणा गर्ने उक्त क्रान्तिकारी सरकारद्वारा तत्काल निम्न कानुनहरु जारी भए

१)निजि जमीनको पुनर्वितरण

२)निजि सम्पत्तिको राष्ट्रियकरण

३)रुसि बैंकहरूको राष्ट्रियकरण

४)निजि बैंक खाताहरु जफत

५)गिर्जाघरका सबै सम्पत्ति जफत

६)सबै वैदेशिक ऋणहरु र सहायता अस्वीकार र परित्याग

७)उद्योग कलकारखानाको नियन्त्रण तथा सोभियतमा हस्तान्तरण

८) कार्य दिवस ८ घण्टा र ज्याला निश्चित

सर्वहारावर्गको नेतृत्वमा मजदुर, किसान तथा देशभक्त सेना सम्मिलित विद्रोहमार्फत सत्ता कब्जा गरि समाजवादको ऐतिहासिक पहलकदमी लिएको १०४ बर्ष पूरा भएको छ ।१७८९ को फ्रान्सेली क्रान्तिको स्वतन्त्रता, समानता र भातृत्वको नारामा आधारित पुँजीपतिवर्गको नेतृत्वमा भएको सामान्तवाद बिरोधी क्रान्तिलाई आधुनिक युगको प्रजातान्त्रिक विचारधारामा आधारित पुँजीवादी युगको शुत्रपात मान्ने हो भने अक्टोबर क्रान्ती सर्वहारावर्गको नेतृत्वमा भएको समाजवादी युगको सबैभन्दा नवीन क्रान्तिको युगान्तकारी पहलकदमी हो ।

अक्टोबर क्रान्तिपछि विश्वमा चलेको जनवादी र समाजवादी क्रान्तिका लहरले चीन, कोरिया, क्युवा लगायत चौथाई विश्वमा सत्ता कायम गर्दै पुँजिवादी विश्व व्यवस्थालाई चुनौती सिर्जना गर्न सफल भयो । समाजवादी क्रान्तिको लहरले भयभीत पुँजीपतिवर्गको समाजवादी शिविर भित्र र बाहिरबाट गरिएको हमला तथा सर्वहारा आन्दोलन भित्र विद्यमान सिमा र कमजोरीका कारण ती व्यवस्थाहरु ढल्न पुगे ।

“आजको युग साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग हो” कमरेड लेनिनको यो संश्लेषण आज पनि उत्तिकै सान्दर्भिक छ र विश्वमा उठ्दै गरेका जनवादी र समाजवादी क्रान्तिका शृङ्खलाहरुले फेरि पनि क्रान्तिको ढोका ढकढक्याइ नै रहेको छ । आज विश्वको प्रमुख अन्तरविरोध मध्य श्रम र पुँजी बीचको अन्तरविरोध पनि हो । राज्य सत्ता र उत्पादनका साधनमाथि पुँजीपतिवर्गको एकाधिकारका कारण श्रमिकहरु माथिको शोषण र उत्पीडनले तिव्रता पाएको छ । सस्तो श्रम, प्राकृतिक श्रोत साधन कब्जा गर्दै आजको पुँजीवाद देशिय सिमाहरु छिचोल्दै विश्व परिभ्रमण गरिरहेको छ । यसरी भूमण्डलिकृत हुन पगेको विश्वपुँजीवाद खुल्ला बजार तथा उदारीकरणमार्फत प्रस्तुत छ । खुल्ला बजार र उदारीकरणमार्फत पुँजीवादले श्रमको दोहन र नाफा मात्रै केन्द्रीत गरेको छैन श्रमिकहरुलाइ विश्व श्रमबजारमा भौतारिनु पर्ने बाध्यात्मक परिस्थिति समेत निर्माण गरेको छ । हाम्रो जस्ता देशहरूबाट भौतारिने लाखौंको संख्यामा रहेका वैदेशिक श्रमिकहरुको कमारोतुल्य जीवनका उदेक लाग्दा परिघटना यसैका प्रतीक हुन ।

हामीलाई थाह छ वैदेशिक श्रम बजारमा ५० लाख नेपाली मजदुरहरु छन । औद्योगिकरणले विकास गर्न नसक्दा स्वदेशी श्रम बजारमा देशको श्रमशक्ति परिचालन हुन सम्भव भएन । संकुचित नेपाली श्रमबजार मजदुरपक्षीय छैन । उदारीकरणका नाममा अस्थायी, करार र ज्यालादारी प्रथा अगाडि बढाएको लामो समय भैसकेको छ । न्यूनतम पारिश्रमिक अन्तर्राष्ट्रिय र राष्ट्रिय बजार मूल्यभन्दा निकै तल छ र तोकिएको तलब ज्याला पनि लागू भैरहेको छैन ।

सामाजिक सुरक्षाको आश्वासन दिएर नो वर्क नो पे ÷ हायर एण्ड फायर जस्ता मजदुर बिरोधि कानुन सक्रिय बनाइएको छ । सामाजिक सुरक्षा कार्यान्वयन भएका छैनन । पुँजीपतिवर्गका लगानीमा मजदुर आन्दोलनलाई प्रभावित गर्न ट्रेड युनियनहरुलाइ लगानी गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु सक्रियतापुर्वक लागिरहेका छन । फलस्वरूप मजदुर आन्दोलनले गति लिन सकिरहेको छैन । यस्तो अबस्थामा मजदुर आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपतिवर्गको प्रभावबाट मुक्त गर्नु मात्रै छैन अर्थवाद, ट्रेड युनियनवाद र वर्ग समन्वयवादको प्रभावबाट समेत मुक्त गरेर मजदुरवर्गको सहभागिता सहितको राजनीतिक व्यवस्था स्थापनाका निमित्त मजदुर आन्दोलनलाई त्यस दिशातिर अग्रसर गराउनु आजको आवश्यकता भएको छ ।

(‘अक्टोबर क्रान्तिको सन्दर्भ र मजदुर आन्दोलनको दिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष तिमिल्सिनाले प्रस्तुत गरेको अवधारणा पत्र)

प्रतिक्रिया

सम्बन्धित खवर