देशमा चुलिंदै आइरहेको वर्तमान स्थितिले नेपालका सचेत स्वाभिमानि देशभक्त नेपाली जनसमुदाय सामु अहिले अत्यन्तै महत्वपूर्ण दुईटा प्रश्न खडा गरिदिएका छन् । पहिलो प्रश्न, स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको स्वाभिमानी नेपाली भएर बाँच्ने कि ? दोश्रो प्रश्न, भारतीय विस्तारवादको कमारो भई बाँच्ने ? हुनत: यो हालैमात्र सृजना भएको वर्तमान स्थिति होइन । हो त यो २००७ सालमा भए गरेको जन–क्रान्तिलाई भारतीय विस्तारवादीको ईसारा अर्थात भारतीय विस्तारवादीको नीति निर्देशनमा अल्झी जनक्रान्तिका अगुवा हुँ भनी दाबिगर्दै आएका नेपाली काँग्रेसले आफ्नो सचेतनाको दिब्यदृष्टी पुरै बन्दगरी धोकापूर्ण सम्झौतामा टुङ्ग्याई, अब नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भयो भनी भ्रमजाल फिजाई कायम गर्न ल्याएको संसदीय व्यवस्थालाई ०१७ साल पौष १ गते पूर्वराजा महेन्द्रले उक्त प्रजातन्त्रलाई हत्या गरी थोपर्न ल्याएको निरंकुश पञ्चायती व्यवस्था विरुद्ध ०४६ सालमा भएगरेको जनआन्दोलनबाट सृजित बहुदलिय प्रजातान्त्रिक राज्य व्यवस्थामा पनि देश र जनताको चाहाना र आवश्यकतालाई अनदेखा गरी सत्तासिन हुन पुगेका दलका नेताहरु विदेशी शक्ति केन्द्रको दलालीमा लम्पट बनी आ–आफ्नो स्वार्थ र दलगत स्वार्थमा लुब्द हुनपुग्नुबाट सृजित वर्तमान स्थिति हो ।
उपरोक्त प्रश्नको सटिक जवाफको निम्ति विगत र वर्तमानका भारतीय विस्तारवाद तथा विदेशी शक्तिकेन्द्र परस्त संसदीय दल एवम् पञ्चायति दलका नेताहरुको जालझेल युक्त षद्यन्त्रपूर्ण कार्यविधिबाट पूर्णतया मुक्तभई, हाम्रा स्वामिभानी नेपाली पूर्खाको पदचापलाई पछ्याउँदै, राष्टिय, स्वाधिनताको रक्षार्थ देशका तमाम क्रान्तिकारी कम्युनिष्ट अन्य क्रान्तिकारीहरु एवम् गरिखाने शोषित पिडित आम जनसमुदायकासाथ पुरै सचेततापूर्वक एकजुटभई विदेशी शक्तिकेन्द्रका दलालहरु विरुद्ध, क्रान्तिकारी संघर्षमा उत्रेर त्यस्ता दुष्ट नेपाली अनुहारका कुकृत्यकारहरुलाई बहुला कुकुरलाई लखेटेझैँ लखटेर ढुलोचटाई देश निकाला गरेर पठाउनु नै, आजका सचेत क्रान्तिकारी नेपाली जनसमुदायको राष्ट्रिय दायित्व हुनआएको छ ।
दश वर्षे जनयुद्धको दौरानमा १७ हजार युवा युवतीहरुको रगतको भेलमा डुबुल्की मार्दै शान्ति सम्झौताको नाउमा देश र जनतालाई नाङ्गेझार पार्दै दुनियाँ सामु, ति प्रतिकृयावादीहरुले चुसेर फालेको हड्डीमा रुमलिंदै गर्दा, बालुवाटारको एक कुनामा बसी समुद्र पार गरी कुन माइकालालले गणतन्त्रीय व्यवस्था ल्याउला हेरौंन भनि खिशिटिउरी गरी बसेका लोकतन्त्र तथा गणतन्त्र विरोधी के.पी.शर्मा ओलीसँग मितेरी गाँसी आनन्दित मनले रमाउन पुगेका दुनियामारा पुष्प कमल दाहाल प्रचण्डका मितेरी के.पी. शर्मा ओली अहिले गणतन्त्रलाई तोडेर नेपालमा राजतन्त्रलाई फर्काउने जमर्कोमा लागेर पुर्व राजा ज्ञानेन्द्रसँग मितेरी गाँस्न पुगेका छन् । खासमा भन्ने हो भने संसदीय दलका कुनै पनि पुराना नेताहरुलाई विस्वास गर्न योग्य छैनन् । भने नेपालका प्रगतिशिल आम जनताको चासो राजतन्त्र होइन जनगणतन्त्रीय राज्य व्यवस्थाको निम्ती संघर्षशील रही आएका छन् ।
देश र जनतामाथि आइपरेको वर्तमान सत्ताधारिहरुको कुकृत्यबाट सृजित स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न, भौगोलिक अखण्ड राष्ट्रिय स्वाधिनताको रक्षार्थ, क्रान्तिकारी पार्टीभित्र गैर क्रान्तिकारी चरित्रका व्यक्ति विशेषहरु लुकिछुपी घुसपैठ गरी पद र प्रतिस्ठा ओगटी, क्रान्तिकारी पार्टीको नीति निर्देशन विरुद्ध भित्रभित्रै नजानिन्दो पाराले गलत कृयाकलाप अपनाउँदै आउने त्यस्ता व्यक्तिहरुलाई छानिछानी अनुशासनको कारवाही चलाउँदै आवश्यक्ता हेरी पार्टीबाट समेत निस्कासन गर्नु गराउनु नितान्त जरुरी छ । यस कार्यको निम्ति क्रान्तिकारी पार्टीका नेतृत्व वर्ग एवम् जिम्मेवार व्यक्तित्वहरु सबैले, पार्टी प्रतिको आ–आफ्नो दायित्व अनुरुप पुरै क्रान्तिकारी सचेतता अपनाई कार्यविधिको निम्ति सकृय र चनाखो भई हर कार्यक्षेत्रमा दृष्टि–गोचर गर्नु गराउनु अत्यावसेक छ । अन्यथा क्रान्ति क्रान्तिकै नाउमा मात्र सिमित नहोला भन्न सकिन्न ।
परम्परागत बहुरुपियाहरु आफ्नो भेषभूषा र रङरुपले चिनिन्थे अर्थात चिन्नकै लागि यस्तो रुप रङ्ग धारण गर्दथे भने नयाँ बहुरुपियाहरु त्यसको ठीक उल्टो आफुहरुलाई कसैले नचिनुन भन्नेतर्फ हमेसा सचेत देखिन्छ । जस्तो कि वर्तमान सत्ताका नेतृत्वकारी, खास अर्थमा भन्नुपर्दा कोहिकसैको भरथेगमा जीवनयापन गर्दै हुलदर्वाजिमा हुर्किबढी आएका तर झापा बिद्रोह (वर्गसङ्घर्ष) मा जसोतसो आकर्षित भई राजनीतिक पगडि धारण गरी आएका, यीनका मनभित्र एउटा कुरा भए पनि बाहिर अर्को बोल्नु र देखाउन सक्ने, एकसेएक झुटलाई पनि साँचो भएजसरी नै निर्लज्ज भई प्रस्तुत गर्नसक्ने विवेक अनि नैतिकता मरेका नयाँ बहुरुपिया हुन यिनि । मानसम्मान धन, पद र प्रतिस्था अर्थात सत्तामा तिकीरहन कुनै पनि जालझेल गर्न पछी नपर्ने यीनकै कार्यविधिले प्रस्त्याएको छ ।
पटक पटक प्रतिनीधिसभा विघटन गर्दै अध्यादेश मार्फत राज्य संचालन गर्ने उद्देश्यको दहीको साक्षी बिरोलो भने जस्तै, वर्तमान राष्ट्रपति पदमा पदासिन राष्ट्रपतिको कार्यविधि पनि उस्तै रहिआएको छ । अर्कोकुरो संक्षेपमा भन्ने हो भने केपी शर्मा ओली न लोकतन्त्रवादी हो न त कम्युनिष्ट नै हो । हो त यिनको विगतका क्रियाकलाप र भनाइले अराजकताका नाइके साबित गरेको छ । नेपाल भारत बीच भए गरेको महाकाली संधी सम्पन्न गर्ने बेलाको प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनालका साथपाई उक्त क्रियाकलापमा सकृय भूमिका खेली प्रशस्त आर्थिक आर्जन गर्नुको लगतै भने जस्तो गरी, बालकोटमा भव्यमहल खडागर्नुको सँगै, देशमा भए गरेका विभिन्न राजनैतिक आन्दोलन विरुद्ध आफु जस्तै अराजकता अरिङ्गालहरु जमघट गरी बिरोध गर्ने शिलशीलामा ०६२/०६३ सालमा भए गरेको दोश्रो जनआन्दोलनलाई यिङ्गित गर्दै बुढो गोरुले तानेको बयल भाडामा सवार भई अमेरिका पुगिन्न भनि खिसितिउरि गर्ने र दोश्रो संविधानसभाबाट संविधान निर्माण गर्दैगर्दा, बालुवाटारको एक कुनामा बसेर कुन माइकालालले कोशी तरेर संघीय गणतन्त्र ल्याउला हेरुँन भनी खिसिटिउरी गर्दै आएका थिए ।
दश वर्षिय महान जनयुद्धलाई काँग्रेसी सरकारसँगको मिलेमतोमा आतंककारी घोषणा गर्न लाउन सहयोगी भूमिका खेल्नुको सँगै महान जनयुद्धका नेतृत्ववर्गका टाउकाको मूल्य तोकाई, टाउको काटेर झोलामा राखेर ल्याउ र त्यही झोला भरी पैसा लिएर जाउ भन्ने जस्तो क्रियाकलाप अपनाउँदै आएका ओली नेतृत्वको कम्युनिष्ट नामधारी सरकारको मकसद के हो ? यस सम्बन्धमा भन्नु नै पर्दा यिनको मुराद विशेषत: कम्युनिष्ट आन्दोलन त्यस पछि अन्य कुनै पनि आन्दोलनलाई उठ्नै नदिने फासिवादी सोच र क्रियाकलाप प्रष्ट झल्किरहेको देख्नमा आएको छ ।
कम्युनिष्ट शासन व्यवस्थाको मूल मर्म भनेकै निजी सम्पत्ति र स्वामित्वको अस्वीकार्यता हो । तर, ओली र यिनकै नेतृत्वको वर्तमान सरकारमा देश र जनताको भलो के गर्दा हुन्छ भन्ने सोचको उल्टो निजी सम्पत्ति केगरी थोपार्ने र स्वामित्व प्रति अत्यन्तै आकर्षण बढेको प्रष्ट देखिने गरी झल्किन्दै आएको छ । भने उनले दलाल बिचौलिया नराखी उनको नेतृत्वको सरकारले कुनै पनि आर्थिक क्रियाकलाप गर्दैन । उदाहरनार्थ उनको हितैषि मित्र हिजोका विपन्न चप्पलधारिहरुसँग, आज कुनै उद्योग व्यवसाय नगरी करोडौंको गाडी, बंगला हुनुले उनको कम्युनिष्ट रुप सबैका सामु उदाङ्गीएको छ ।
उनको नेतृत्वको वर्तमान सरकारको कार्यविधि अर्थात लेन्दुप दोर्जे पथ अनुशरण गर्दै आइरहेका मुख्र्याइँ र अहंकारी ओली नेतृत्वकारी वर्तमान राज्यसत्तामा देखापर्न थालेको संकट सँगै उनका आफ्नो अस्तित्वमा समेत संकट आउने देखेपछि संकट विमोचनार्थ, विगतमा नेपाल माथि भारतीय विस्तारवादले लादेको लामो समय्सम्मको नाकाबन्दीको समर्थनमा जुतेका मदेशी दलका पृथकतावादी नेपाली अनुहारका नकाबधारी ठाकुर–महतो समुहका राजेन्द्र महतोलाई, आफ्नो नेतृत्वको वर्तमान सरकारमा सम्मानपूर्वक उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री पदमा नियुक्त गर्नुको सँगसँगै भारतीय विस्तारवादको अभिलाषा पूरा गर्ने हेतुकासाथ नागरिकता अध्यादेश जाहेर गरी देशलाई अरु जतिल स्थिति तिर धकेल्न पुगेका छन् ।
राष्ट्रवादको भावनाले देशका कुनैपनि नागरिकतालाई व्यक्तिगत स्वार्थ र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितको काम गर्न प्रेरित गर्ने गर्दछ । जस्तो कि किसानले कृषि उत्पादनमा बृद्धिगरी कूल उत्पादकत्वमा बृद्धि गर्न सघाउनु, मजदुरले उद्योगलाई मुनाफामा लगेर राज्यको राजस्व बृद्धिमा योगदान गर्नु, शिक्षकले विद्यार्थीहरुलाई उचित शिक्षा दिई योग्य, इमान्दार अनि जिम्मेवार नागरिक बनाउनु । तर यहाँ त संसदीय दलका प्राय सबै नेताहरु व्यक्तिगत स्वार्थ, आफ्ना नातागोता र आसेपासेहरुको भरठेग र दलगत स्वार्थमा लम्पत हनुका साथै विदेशी शक्तिकेन्द्र सामु नतमस्तक भई घोप्तो पर्नु बाहेक देश र जनता प्रति कुनै चासो नराख्नु नै उनीहरुको राष्ट्रवादको परिभाषा रहिआएको छ ।
जननिर्वाचित संविधानसभाद्वारा निर्मित संविधान जलाएर करिव ६ महिना लामो समय नेपाल विरुद्ध भारतीय विस्तारवादीको नाकाबन्दीलाई समर्थन गर्नमा प्रमुख भूमिका निर्वाह गरी आएका महतोको बहुविवादास्पद अभिव्यक्ति सार्वभोमिक्ताको सिद्धान्त र संविधानको भविष्यमाथि नै गम्भिर प्रश्नचिन्ह खडा गरेको छ । हिजोसम्म ठाकुर–महतोले ओलीलाई मधेस विरोधी, पहाडी नस्लीय उग्रराष्ट्रवादी भएको आरोप लगाउँदै आएका थिए । तर, आफ्नै पार्टी समेत विभाजन गरेर, आज तिनै मधेस विरोधी पहाडी नस्लीय उग्रराष्ट्रवादी ओलीलाई सत्ताको सञ्जीवनी मात्रै दिएनन्, ओलीले दोश्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा समेत सहभागी हुनुपुगेका छन् । र उपप्रधानमन्त्री पदको सपथ ग्रहण गर्नुको लगतै राष्ट्र–विखण्डनवादी अभिव्यक्ति दिनासाथ, राष्ट्रप्रति जिम्मेवार सबै तह र तप्काबाट विरोध गर्दा पनि सरकारको नेतृत्वकारी ओलीलाई यसको कुनै सुचना प्रवाह नभए जस्तो गरी चुपचाप बस्नुले यी दुवैको राष्ट्रवाद एकै किसिमको रहेछ भन्ने दिनको घामजतिकै छरपस्त हुन पुगेको छ ।
नक्कली राष्ट्रवादी ओली, आफुलाई अत्यन्त राष्ट्रवादी कहलाएर नथाक्ने र ठुलाठुला आदर्शका गफ हाँकेर दक्षिण (भारत)को गुलामी नगरी कुनै छाक नपाक्ने सोचले, अनि उताको गुलामी नगरी राष्ट्रवादका चर्का कुरा मात्रै गरेमा कुर्सी टिक्दैन भनेर त्रस्त ओलीले उतै (भारत)का चेस बोर्डका प्यादाहरुलाई महत्वपूर्ण मन्त्रालय जिम्मा लगाएर अलि लामो समय कुर्सीमा टिक्ने चाल चलेकाले अब उताबाट गाल नपर्ने भये भनी चैनको स्वास फेर्न थालेका छन् ।
देशमा कोरोना संक्रमणको महामारी अत्यन्तै भयावह स्थितिबाट गुज्रन्दै गरेको वर्तमान अवस्थामा, विपन्न तथा श्रमिक जनताका सामु दैनिक हातमुख जोर्ने भयावह आर्थिक समस्या एकातिर छ भने अर्कोतिर निकम्वा सरकारको गैर जिम्मेवारी हरकतले गर्दा थप जतिल्ता र आम जनतामा बढ्दै आइरहेको सरकारको कृयाकलापबाट असन्तुष्टि तथा छट्पटीको भुमरिमा परी देशको वर्तमान स्थिति विकराल बन्दै गइरहेको छ । भने स्वेच्छाचारी फाँसिवादी ओली नेतृत्वको वर्तमान सरकार देश र जनताप्रति होइन, आफु बहाली रहेको सत्ता र आफ्नो अस्तित्व जोगाउन, देशको राष्ट्रिय स्वाधिनता माथि थिचोमिचो गर्दैै साम्राज्यवाद, विस्तारवादीहरुको हस्तक्षेपकारी चलखेलमा रुमलिन्दै उनीहरुकै नीति निर्देशन (चाहना) लाई सिरोधार्य गर्दै देश र जनतालाई गुमनाम बनाउन तलिन रहिआएका छन् ।
वर्तमान सरकारको देश र जनताप्रति गैरजिम्मेवारी सोच र प्रवृत्तिकै कारण देश विदेशी शक्ति केन्द्रको कृदास्थल बन्न पुगिरहेको छ । अहिले प्रत्यक्ष देख्ने गरी भारतले लिम्पियाधुरा, कालापानी तथा लिपुलेख क्षेत्रमा अतिक्रमण गर्नुको सँगै देशका बिभिन्न भागमा सीमा अतिक्रमणको प्रक्रियालाई बढाउँदै आएको छ, भने अर्कोतिर अमेरिकी साम्राज्यवादले हिन्दप्रशान्त रणनीतिको अङ्गको रुपमा एमसीसी परियोजना थोपर्ने आफ्नो घृष्टतालाई तीब्र पार्दै आइरहेका छन् । देशको राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप कार्यलाई दीगो र प्रभावकारी बनाउन यीनिहरु नेपालमा आ–आफ्नो स्वार्थ सिद्धका लागि, अहिलेको भण्डा अरु मज्बुत र जब्बर कठपुतली सरकार निर्माण गर्ने तरखर गरिन्दै आइरहेका छन् । खास गरी यसै सम्बन्धमा भन्नुनैपर्दा यीनिहरुले बेलामौका हेरी नयाँ नयाँ मगन्तेहरु हेरफेर गर्दै आइरहेको कुरा जगजाहेर छ ।
वर्तमान सरकार प्रमुख ओलीको निम्ति सत्ता र आफ्नो नीजि स्वार्थ बाहेक अरु सबै मिथ्या हुन् । सत्ता एवम् सरकारमा निरन्तर टाँसिरहनका लागि अहिलेका सबै परिघटनाहरु नाङ्गै तरिकाले अभिव्यक्त हुँदै आइरहेको कुरा सबैको सामु छरपस्त नै छ । उनले यसो गर्नुको उद्देश्यभ नेको विदेशी शक्तिकेन्द्रको चाहना अनुरुप म अझै यो भन्दा बढी जब्बर संरक्षक तथा दलाल बन्न सक्छु भन्ने दृष्टान्त हो ।
दलाल नोकरशाही पुँजीपति एवम् सामन्त वर्गका लागि यो संसदीय व्यवस्था खास अर्थमा भन्नुपर्दा उनीहरुको आफ्नो नाता–गोता तथा आफ्ना आसेपासेहरु साथ मिलेमतो गरी आफ्नो स्वार्थ सिद्ध गर्ने गहकिलो थलोको रुपमा प्रयोग गर्दै आइरहेका छन् । भने अर्का पक्ष जो नवसंशोधनवादीहरु यसै व्यवस्थाको हिस्सेदार बनी मोजमस्तिमा रमाउन मलजल गर्दै कम्युनिष्टका नाममा दुईतिहाई बहुमतमा बनेको सरकार, अहिले उनिहरुकै लागि घाँरो सावित बन्न पुगेको छ । यसो हुनुआउनुको खास मकसद भनेको उनीहरुको आ–आफ्नै व्यक्तिगत चाहना र स्वार्थमा रुमलिएर सृजना भएको वस्तुस्थिति हो भन्दा फरक नपर्ला ।
देशमा विकसित हुँदै आइरहेको वर्तमान स्थितिको विकल्प के हुनसक्छ ? देशका तमाम सचेत जिम्मेवार देशभक्त स्वाभिमानी नेपाली जनसमुदायको यतिखेरको दायित्व भनेको उही संसदीय गनगन (गनथन) मा अल्झिएर बस्नु ठिक होइन । खास अर्थमा भन्ने हो भने पुरानो सत्ता तथा व्यवस्था टिकिरहनुको एउटा प्रमुख कारण अग्रगामी शक्ति, आजको आवश्यक्ता अनुरुपको विकल्प बनेर प्रस्तुत हुन नसक्नु नै हो । तसर्थ अग्रगामी परिवर्तनका पक्षधरहरु सबै अत्यन्तै गम्भिरताका साथ एकजुत भई राष्ट्रिय स्वाधिनता प्रति जिम्मेवार भएर सोच्न र तदनुसार अग्रगामी पथमा निर्भीक भई अगाडि बढ्नु नितान्त जरुरी छ ।
पुरानो सत्ता र व्यवस्थाका साझेदारीहरुको गनगन र भुलभुलैयाबाट पूर्णरुपले मुक्तभई अग्रगामी उचाइमा उभिएर आजको देश र जनताको आवश्यक्ता र चाहना अनुरुप पुरानो सत्ता र व्यवस्थालाई अन्त्य गरी, नयाँ जनवादी क्रान्ति सम्पन्न गरी बैज्ञानिक समाजवादको दीशातर्फ अगाडि बढ्नु नै हो । अर्थात मजदुर वर्ग र शोषित पिडित आमजनसमुदायका हातमा राज्यसक्ता सुम्पनु हो । खास अर्थमा यसलाई सर्वहारावर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व (गरिखाने शोषित पिडित जनसमुदाय) मा स्थापना भएको अर्थमा बुझ्नु जरुरी छ ।
यस कार्यलाई सफल तुल्याउन तुतफुतमा परी अलग थलग रही आएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई सिद्धान्तनिस्त एकताको सुत्रमा जुटाउन सक्त जरुरी छ र असंगठित रुपमा छरिएर रहेका तमाम क्रान्तिकारी कम्युनिष्टहरु तथा अन्य क्रान्तिकारीहरुलाई पनि एकसाथ संगठित पारी, अग्रगामी क्रान्तिकारी पथमा हातेमालो गर्दै अगाडि बढ्नु नै आजको राष्ट्रिय आवश्यक्ता हो ।
२०७८/७/२१
ताहाचल, काठमाडौँ































