
काठमाडौँ । भारतीय सेना र नेपाली सेनाको संयुक्त तालिम सुरु भएको एक महिनापछि अमेरिकी सेनासँग पनि नेपाली सेनाले संयुक्त तालिम थालेको छ ।
नेपाली सेनाले साेमबारदेखि अमेरिकी सेनासँग ‘संयुक्त तालिम अभ्यास एक्स नेक नेल–२२’ को थालनी गरेको हो । यसअघि भारतको पिथौरागढमा असोज ४ देखि १७ गतेसम्म भारतको उत्तराखण्डस्थित पिथौरागढमा नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न भएको थियो ।
नेपाली सेनाका अनुसार नेपाली सेनासँगको संयुक्त अभ्यास छाउनीस्थित रेन्जर गणमा सोमबार सुरु भएको हो । उक्त कार्यक्रममा विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाह र अमेरिकी राजदूतावासको ‘प्यासिफिक अगमेन्टेसन टिम तथा अफिस अफ डिफेन्स कर्पोरेसन’ प्रमुखसहित नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिती रहेको थियो । नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरू मध्येबाट करिब ५० जना र अमेरिकी सेनाका करिब २० जना सम्मिलित उक्त अभ्यास मंसिर १४ गते सकिने छ ।
उक्त संयुक्त तालिम काठमाडौं, पोखरा र अन्नपूर्ण बेसक्याम्प इलाकामा सञ्चालन हुनेछ । ‘यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ,’ सेनाले विज्ञप्तीमा उल्लेख गरेको छ । काठमाडौं, पोखरा र अन्नपूर्ण बेसक्याम्प इलाकामा मंसिर १४ गतेसम्म तालिम सञ्चालन हुनेछ ।

सेनाकाअनुसार उक्त तालिमले दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिवृद्धि हुनुको साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास छ ।
अमेरिकी सेनाको विशेष फौजसँग माओवादी जनयुद्ध कालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रुपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेकनेल’ लाई अघि बढाएको हो ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले कोभिड–१९ का कारण रोकिएका सैनिक अभ्यास, तालिम, सेमिनार र अन्य गतिविधिहरूलाई अब अघि बढाउन लागेको कान्तिपुरलाई जानकारी दिए । उनले भारतसँग संयुक्त सैनिक अभ्यास भइसकेको, अमेरिकासँग थालनी भएको र चीनसँग सहकार्य मिति तय गर्ने सम्बन्धमा गृहकार्य भइरहेको प्रष्ट पारे । बेलायतसँग भने यसपटक पनि तालिम नहुने भएको उनले जानकारी दिए ।
नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास सुरुवात गरेको हो । जुन एक वर्षमा एक पटक नेपाल र अर्को पटक भारतमा गरि दुई पटक हुँदै आइरहेको थियो । तर कोभिड–१९ को संक्रमणको कारण संयुक्त तालिम रोकिएको थियो ।