इच्छुक !
यतिबेला म
तिम्रो समय शीर्षक सापटी लिएर
उभएिको छु दशगजाको एक छेऊ
साल्ट ट्रेडिङको भग्नावशेष अगाडि
अर्थात् तिम्रो प्रिय कोइलाबास ।

खण्डहर कोइलाबास,
जहाँबाट तिमीले
जोवन ढल्दै गरेका बाआमाका लागि
जोहो गर्दै थियौ एक मुठी नुन
प्राण धान्न सातुसामल
र, अरू धेरै बाआमाहरूका निम्ति
नुनको जोहो गर्ने
कुण्डली हेथ्र्यौ व्यवस्थाको
अनि भन्थ्यौ,
हलिया र ज्यामीहरूको छाप्रोमा घाम
जरुर उदाउने छ एकदिन ।

साल्ट टे्रडिङको एउटा कोठाबाट लेखेको
तिम्रो चिठी र कविता पढेर
धेरै सारथीहरू पस्थे तिम्रो शिबिरमा
र, कबुल गर्थे निशा चिर्न
आयुध समाउने ।

समयको गर्तमा फसेपछि
समाए तिनले व्ल्याकलेवलका प्याला
बन्धक राखे मष्तिष्क
सामेल भए सपनाको गला रेट्न
सैतानहरूको जुठो चाट्दै लपलपी
उनीहरूकै कित्तामा
तत्क्षण कित्ताकाट भयो तिनको र मेरो
म भने साल्ट ट्रेडिङको भग्नावशेषमा उभिएर
‘रोगी देश’को कविता पढिरहेको छु
सिङ्गो देश फेरि पनि यतिवेला
‘एउटा दुःसाध्य रोगले थला परिरहेको छ’
र, यसको निदानमा
सामान्य मल्हमपट्टी होइन
‘एउटा ठूलै अप्रेशनको जरुरत परेको छ ।’

इच्छुक !
इतिहासको यस घडिमा
तिम्रा सबर्गीहरूको एउटा पङ्क्ति
तिम्रो सालिक अगाडि उभिएर
गोधिकाश्रु बगाउँछन्
र, पिठ पछाडिबाट दागा धर्छन्
जसका निम्ति एउटा क्रुर कोठरी भित्र
तिमीले सगर्व मृत्युवरण गर्‍यौ
मैनबत्तीको शिखाझैँ
आपूm जलेर अरूलाई उज्यालो दियौ
परन्तु, तिम्रा तिनै सखाहरू
त्यही क्रुर कोठरीमा लगेर हामीलाई
ग्यासच्याम्बरमा हाल्ने धम्की दिइरहेछन्
इतिहासको यस घडिमा ।

भन्न त यतिबेला
गणतन्त्र आयो पनि भन्छन् भन्नेहरू
परन्तु, सत्ताको चरित्र उस्तै छ
जतिबेला तिमीले देखेका थियौ
नख्खु र गोलघरबाट
छामेका थियौ
महेन्द्र पुलिस क्लबमा
हो, ठ्याक्कै उस्तै र दुरुस्तै छ अहिले पनि
कति निर्दयी हुँदो रहेछ सत्ताको अनुहार
तिम्रा ‘दुःखीराम’हरूलाई सताएकै छ उसैगरी
उस्तै छ तिम्रो ‘भिखारीदास सदा’को नियति
उस्तै छ ‘कोशी टप्पु’को पीडा
उस्तै छ ‘पूmलमती’हरूको नित्यकर्म
उस्तै छ ‘गोचाली’हरूका पूmलबारीमा
जङ्गली बाँदरहरूको ताण्डवनृत्य
उसैगरी कुर्लेकी छिन् ‘बिर्खु सुनार्नी’
‘पुर्खे सुनारकी आमा’
ज्यानमाराहरूको रगत तनतनी
पिउँछु भन्दै माइतीघर मण्डलामा
र, ‘बिर्खु सुनार्नी’को जुलुसमा थपिएका छन्
समीक्षा र धेरै समीक्षाहरू
तिम्रो हत्या गर्नेहरूका विरुद्ध ।

म भने यतिबेला उभिएको छु
तिम्रो कोइलाबासको छातिमा
साल्ट टे्रडिङको भग्नाबशेष अगाडि
र, तिमीलाई सुनाइरहेछु
दुःखान्त इतिहासबाट उदाएको नायक
बदलियो प्रहसनबाट खलनायकमा
‘त्यो महान् प्रतापी नायक’
यथार्थ जीवनमा यतिखेर
हाम्रो टाउकोमा गिर खेल्दै
क्रुर खलनायकमा बदलिएको छ
नाटक मञ्चन भइरहेछ रङ्गमञ्चमा
उही
‘माछो माछो भ्यागुतो’ ।
१२ कार्तिक २०७७, तुलसीपुर
इच्छुक वर्ष ७ अङ्क ७, २०७८ बाट

प्रतिक्रिया

सम्बन्धित खवर