नेपालको मध्यपश्चिम गुल्मी जिल्लाको तत्कालीन ज्वहाङ पञ्चायत वडा नं. २ बाँसकोट (नयाँखर्क) हालको सत्यवती गाउँपालिकामा बुबा दामोदर भुसाल र आमा चन्द्री भुसालको कोखबाट राँइली छोरी (पाँचौ नम्बर)का रूपमा १९९८ बैशाख ५ गते लक्षिमादेवीको जन्म भएको हो । लक्षिमादेवीको बाबुआमाबाट दुई छोरा र छ जना छोरीहरू जन्मिएकोमा जीवित बच्न सफल उहाँका जेठी दिदी, एक दाजु र एक बहिनी हुनुहुन्थ्यो । उहाँको दिदीको पनि धेरै बर्स पहिला मृत्यु भएकोले अब एक दाजु र एक बहिनी मात्रै हुनुहुन्छ ।

पाहाडको जनजीवन यसै पनि कष्टकर हुन्छ नै । त्यसमा पनि आर्थिक रूपमा गरिब परिवार भएकाले उहाँको बुबाले बसाइँ सर्ने निधो गर्नुभयो । सोही क्रममा उहाँको परिवार २००४ साल पुस महिनामा दाङको हालको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको च्युरेडाँडामा जग्गा जमिन किनेर बसाइँ सर्‍यो । जतिवेला लक्षिमादेवी छ बर्सको हुनुहुन्थ्यो । भुसाल परिवारका नाताकुटुम्ब, आफन्त सबै त्यतिवेला गुल्मीबाट बसाइँ सरेर त्यस स्थानमा बसोबास गरेका थिए । तत्कालीन समयमा दाङको तराई भुभागमा औलो (मलेरिया)ले सताउने भएकोले पाहाडी क्षेत्रमा पर्ने सिस्नेरी, रानिटाकुरा च्युरेडाँडा गाउँमा बस्ने गरेका थिए । शिक्षाको अबसरबाट पुणर्रूपमा बन्चित हुनुभएको लक्षिमाको बाल्यकाल र किशोराबस्था भमके च्युरेडाँडामा घाँस-दाउरा र ग्वाला गरेरै बितेको थियोे । २०१६ सालमा हालको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा बस्ने ज्वतिष बलभद्र पौडेलका जेठा छोरा देवीराम पौडेलसङ्ग लक्षिमादेवीको बिबाह भएको थियो । बैबाहिक जिबनको केही बर्ससम्म पनि उहाँको दैनिकी घाँसपात, स्याउलासोतर, गाइभैसी पालेर र बाख्रा गोठालो गरेरै जिन्दगी बितेको थियो ।

बिबाहपछि भारतका दिल्ली, हरियाणा, फरिदावाद, जम्मु कस्मीर, पठानकोट जस्ता शहरहरूमा लाहुरे जीवन विताएका र आफ्नो ज्वतिष र पंडित बुबासँग सामान्य कर्मकाण्डीय शिक्षा लिनुभएका देवीराम पौडेलमा केही शैक्षिक चेतना स्तर बढेको थियो । तेह्र बर्सकै उमेरमा बाबु गुमाएका देवीरामले विभिन्न हण्डर ठक्कर खाएपछि जीवनलाई सहज बनाउन ब्यापारिक पेसा गर्ने निधो गर्नु भयो । घरको खेतिपातीले मुस्कीलले तीन महिना पनि राम्रोसँग खान नपुग्ने आर्थिक अवस्था भएका देवीरामले सानोतिनो व्यापारसँगै आफ्ना बाबुबाट सिकेको ज्वतिष र कर्मकाण्डीय पेसालाई पनि साथसाथै लैजाने निधो गरेर २०२१ सालको हिउँदमा पातुखोला किनारमा रहेको साजवास भन्ने ठाउँमा व्यापार गर्न झर्नुभयो । आफ्ना श्रीमान्ले यो पेसा रोजेपछि लक्षिमादेवीले त्यसलाई दह्रोसँग साथ दिनुभयो । साजबास भन्ने स्थान दाङका कल्ले, राम्री, सिद्देधारा, आम्वास, र सल्यानको पाखापानी, लामिडाँडा, धनबाङ, गाँडापानी आदि गाउँको सङ्गमस्थल र मसानघाट स्थल पनि हो । चारैतिरबाट अजङ्गका पाहाडले घेरिएको र कतै पनि गाउँटोल नदेखिने अनकन्टार जङ्गलको खोँचमा खोला बगरमा पातिले बारेको बुकुरोमा एक्लै बस्नु देवीराम र लक्षिमादेवीको साहास चानचुने थिएन । त्यस स्थानमा ब्यापार ब्यबसाय गर्न थालेदेखि केही जिवनमा आर्थिक परिवर्तन भएको थियो । तत्कालीन समयमा गाउँगाउँमा लाग्ने गरेका मेलाजात्रामा चिया र सेल रोटी पकाउने र बेच्ने गर्दै ब्यापारिक सुरुवात भए पनि सिजन अनुसारको खेतीपाती नै मुख्य पेशा थियो । २०२१ सालदेखि हालको तुलसीपुर उपमहानगरपालिका वडा ३ साजबासमा पातीले बारेको बुकुरो (झुपडी) बनाई ब्यापार सुरु गर्नु भएको र उक्त ठाउँ तत्कालीन अबस्थामा दाङ, सल्यान, रुकुम, रोल्पा र डोल्पासमेतका मानिसहरू हिँड्ने प्रमुख नाका भएकोले ब्यापार राम्रो चल्न थालेपछि उहाँहरू सोही ठाउँमा स्थायी बसाइँसराई गरि घरबास बनाई बसोबास गर्नुभएको थियो ।

यसरी साजबासमा बसेर व्यवसाय गर्ने क्रममै जेठी छोरी निर्मला अधिकारी २०२२/१२/२५, जेठो छोरा हिरामणि दुःखी २०२५/०३/१४, कान्छो छोरा भेषकुमार २०२७/०५/२५, माइली छोरी कान्ती भट्टराई २०३०/०७/०१ र कान्छी छोरी थम्मनकुमारी पौडेल २०३२/१२/१७ गते गरी पाँच सन्तानलाई जन्म दिनु भएकोमा कान्छा छोरा भेषकुमारको गत २०७७ बैशाख ७ मा निधन भइसकेको छ ।

उहाँको घर सँधै विभिन्न प्रकारका मानिसहरू (बाटो हिँड्ने बटुवाहरूको बेलुकी) बास बस्ने थलोका रूपमा रहेको थियो । त्यसैले उहाँहरूको चिया नास्ताका साथै अर्डरअनुसार खाना पकाउने र किराना सामानको समेत व्यापार रहेको थियो । ब्यापारिक नाकाका रूपमा रहँदै गर्दा तत्कालीन अबस्थामा दाङ्गाली कम्युनिस्ट आन्दोलनका धरोहर नेता नेत्रलाल अभागी पनि सङ्गठन विस्तारका क्रममा त्यही बाटो भएर सल्यान, रोल्पा, रुकुम हिँड्ने क्रममा उहाँहरूको घरमा बास बस्ने गर्दा नेत्रलालसँग यो परिवारको राम्रो हिमचिम भएको देखिन्छ । नेत्रलाल पनि पौडेल भएको र देवीराम पनि पौडेल भएकाले यो परिवार गोत्यारका रूपमा अझ बढि घनिष्ठ रहन गएकोले नेत्रलालको कम्युनिस्ट विचारले यो परिवारलाई प्रभावित गर्‍यो । ज्वतिष पंडित पेसासमेत गर्ने र साजवासमै रहेको ने.रा.प्रा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका एक शिक्षित देवीराम पौडेल कम्युनिस्ट विचारबाट प्रभावित हुनु भएको थियो । त्यसलै नेत्रलालको बिचार र ब्यक्तित्वबाट प्रभावित भई कम्युनिस्ट पार्टीप्रति माया जागेको कुरा आमाले बताउनुहुन्थो । यी बाबुले कल्पना गरेको ब्यबस्था आएपछि देश जनताले सुखशान्ती पाउने थिए भनेर कल्पना गरेकी आमा लक्षिमादेवीले पछि आफ्नै छोरा हिरामणि कम्युनिस्ट पार्टीको नेता भएपछि अझ बढी खुसी भएको बताउनुहुन्थ्यो । त्यसपछि त यो पुरै परिवार नै कम्युनिस्ट भएको थियो । आफ्नो श्रीमान् र छोराछोरीहरूलाई कम्युनिस्ट बिचारप्रति आकर्षण गराउन उहाँको महत्वपूणर् भुमिका रहेको छ । पटकपटक पञ्चायती शासन ब्यबस्थाले घर छापामार्दा घरमा रहेका विभिन्न राता किताबहरू बनजङ्गलमा लगेर लुकाएर राखेको कुरा पनि गर्नुहुन्थ्यो आमाले ।

जनयुद्धमा छोरा हिरामणि, बुहारी देवी र नातिनी ज्वतिसमेत् भुमिगत भएपछि सेना प्रहरीले उहाँहरूलाई निकै दुःख दिएको थियो । पटकपटक सेना प्रहरीले घरमा छापा मार्ने, खानतलासी गर्ने, बुबाआमालाई धक्कामुक्का गर्ने, अनेकौँ प्रश्न सोधेर केरकार गर्ने गरेको थियो । यति सास्ती सहेर पनि आमाले पार्टीको सूचना आदानप्रदान गर्ने काम सहजै रूपमा गर्नु हुन्थ्यो ।

साजबासमा ब्यापारिक नाका भएकोले उहाँको परिवार हप्ताको एक दुई पटक सामान खरिद गर्न तुलसीपुर बजारमा आउनुहुन्थो । बेलुकी फर्कने समयमा मेरो घरमा बसेर पानी मागेर खाने र खाजा (अर्नि) खाने गर्नुहुन्थ्यो । मैले २०३३/०३४ सालदेखि नै उहाँ र उहाँको परिवारलाई राम्रोसँग चिन्दछु । उहाँ नयाँ बिचारका कुराहरू सुन्ने अन्याय अत्याचारको बिरूद्धमा आवाज उठाउने सक्षम महिला हुनुहुन्थ्यो । उहाँहरू साजबासपछि सिस्नेरीमा रहँदासम्म मेरो निरन्तर सम्पर्क भेटघाट हुने र कमरेड हिरामणि घनिष्ठ साथी भएकोले म हप्तामा एक दिन उहाँको घरमा पुग्थेँ । बेलुकी घर, समाज, गाउँ, शहर देशको समस्या र त्यसको समाधानको पाटो समेत खर्रर्रर्र सुनाउनुहुन्थो । लाग्थ्यो उहाँ साक्षर मात्रै होइन उच्च शिक्षा हासिल गरेकी गृहणी हुनुहुन्थ्यो । वास्तवमा उहाँले अक्षरसमेत् चिन्नु पनि हुन्थेन ।

समय र बिकाश क्रमसङ्गै तुलसीपुर सल्यान सडक खुलेपछि साजबास र सिस्नेरीमा पहिलाको जस्तो चहलपहल हुन छोड्यो । ब्यापारमा ह्रास हुँदै जान थालेपछि आर्थिक अभावका कारण उहाँको परिवार २०४६ सालका अन्त्यतिर बर्दियाको पाथाभारमा बसाइँसराई गर्नुभयो । त्यहाँको बसाई अनुकूल नभएपछि उहाँहरू २०५० साल मङ्सिरमा तुलसीपुरको कपडादेवी भन्ने ठाउँमा थोरै खेत किनेर परिवारले किसानको भुमिका र आमाले गृहणीको भुमिका निभाउनु भएको थियो । सोही बर्स उहाँको परिवारले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को नामिनगर भन्ने ठाउँमा सानो झुपडी किनेर त्यहीँ सानोतिनो ब्यापार र श्रीमान्को पंडित्याई पेशाबाट नियमित जीवन गुजारा गर्दै जाँदा २०७७/०३/१७ गते उहाँको श्रीमान् देवीराम पौडेलको पनि निधन भयो । दुई महिना अगाडि आफ्नो कोखको एक सन्तान गुमाएकी आमा लक्षिमादेवीले दुई महिना पछि पति गुमाउनु पर्‍यो । तर पनि उहाँ कत्ती विचलित हुन भएन ।

श्रीमान्को मृत्युपछि उहाँले सामन्तवादी संरचनामा जकडिएको कुसंस्कारका बिरूद्ध सतिसालझैँ ठिङ्ग उभिएर रुढी र परम्परावादी समाजलाई ठाडो चुनौती दिनु भएको थियो । उहाँले पति वियोगमा काजकिरिया नगरी, सेतो कपडा नबेरेर, सँधैझैँ सधवा फेसनमै सजिएर रहनु भयो । यसरी उहाँले आफ्नो बाबुको किरिया नगरेका भौतिकवादी सच्चा क्रान्तिकारी कम्युनिस्ट छोरा हिरामणिलाई दह्रो साथ र सहयोग गर्नु भयो । उहाँको शिक्षा त साक्षर पनि थिएन तर महान् बिचारका धनी, समाज रूपान्तरणका लागि महिला मुक्ति आन्दोलनमा उहाँले खेलेको भुमिका अविष्मरणीय रहेको क्रान्तिकारी आमाको निधन २०७८/०६/०५ गतेका दिन दिउँसो १ बजे ८१ बर्सको उमेरमा भयो ।

बर्दिया बसाइँ सराइँ गरे लगत्तै देशमा पञ्चायती व्यवस्था हटेर बहुदलको आगमन भएपछि विभिन्न प्रकारका राजनीतिक दलहरू खुल्ला रूपमा आए । त्यही क्रममा यो परिवार आफ्नो छोरा हिरामणि दुःखी सङ्लग्न रहेको नेकपा (मशाल) पछि एकताकेन्द्र हुँदै माओवादी पार्टीप्रति वफादार रहेर सङ्गठनमा सकेको योगदान दिइरह्यो । त्यसैक्रममा आमा लक्षिमादेवी पनि क्रान्तिकारी महिला सङ्गठनमा आवद्ध हुनुभएको थियो । त्यसैले पनि जीवनका हरेक सङ्घर्षशील मोडहरूमा ठिङ्ग उभिएको, जनयुद्धका क्रममा यो घर परिवार सबै आवद्ध रहेको र पार्टी कार्यालय जस्तै बनेको हुनाले आमाको पार्टीमा निकै ठूलो लगानी रहेको थियो । यो सबैको मूल्याङ्कन गरेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तकारी माओवादी) दाङले लक्षिमादेवी पौडेललाई मरणोप्रान्त पार्टी सदस्यता प्रदान गरेको छ । उहाँको अन्तिम दाहसंस्कारमा पार्टीको झण्डा ओढाएर उहाँका छोरा तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य कमरेड हिरामणि दुःखीले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । अल विदा क्रान्तिकारी आमा । तपाइँप्रति भावपुणर् श्रद्धाञ्जली दिँदै मेरो कलमलाई यहीँ विश्राम दिन्छु । अस्तु ।
१५ असोज २०७८, तुलसीपुर दाङ

प्रतिक्रिया

सम्बन्धित खवर