आस्विन ९ पोखरा ।
नेकपा (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेस समितिद्वारा नेपालको वर्तमान संविधान, राज्यको स्वरूप र परिवर्तनको आवश्यकता विषयक एकदिने अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोछ । प्रदेस नम्बर ४ को सचिव केशबहादुर परियारको अध्यक्षता र निश्चलको सञ्चालनमा सम्पन्न उक्त अन्तक्रियात्मक कार्यक्रममा पार्टीका स्थायी सदस्य क. रामसिँह श्रीसले नेपालको संविधान २०७२ प्रति नेकपा (क्रान्तिकारी माओवादी) को धारणा लिखित प्रस्तुत गर्नुभयो भने केन्द्रीय सल्लाहकार समितिका संयोजक प्रा.डा. ओम गुरूङले नेपालको वर्तमान संविधान, राज्यको स्वरूप तथा परिवर्तनको आवश्यकताबारे अर्को अवधारणा प्रस्तुत गर्नुभयो ।
आफ्नो प्रस्तुतिको क्रममा श्रीसले नेपालको संविधानले प्रतिक्रियावादी राज्यसत्ताकै चरित्र बोकेकोले आफू सम्बद्ध पार्टीले यो संविधानलाई स्कीकार गर्न नसकेको कुरा बताउनु भयो । उहाँले अहिलेको गणतन्त्र प्रतिक्रियावादी शाषकहरूको लागि मात्र भएकोले आफुहरू जनताको गणतन्त्र स्थापना गर्नको लागि संघर्षरत रहेको बताउनुभयो ।

अर्का प्रस्तोता प्रा.डा. ओम गुरूङले भूकम्प सन्त्रासको प्रतिकुल परिस्थितिको फाइदा लिएर ४ राजनीतिक दलको १६ बुँदे प्रतिगामी सहमतिका आधारमा २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको वर्तमान संविधान पनि प्रतिगामी नै छ । यो संविधानले नेपालका आदिवासी जनजाति लगायत उत्पीडित जाति तथा वर्ग समुदायको पहिचान र हकअधिकार सुनिश्चित गरेको छैन । बरू संविधानले ऐतिहासिक कालदेखि जाति, वर्ग, भाषा, धर्म र क्षेत्र लिङ्गको आधारमा भईरहेको विभेद र उत्पीडनलाई निरन्तरता दिएको छ भन्दै आत्मनिर्णयको सैद्धान्तिक सहमति र जातीय क्षेत्रीय स्वशासनको आधारमा पहिचान सहितको संघीय स्वायत्त प्रदेसहरूको निर्माण गरिनु पर्छ भन्ने धारणा राख्नुभयो ।
उहाँ दुईजनाको कार्यपत्र माथि वरिष्ठ अधिवक्ता तिलक पराजुली, पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक लक्ष्मीशरण अधिकारी, माक्र्सवादी लेखक तथा वरिष्ठ बामपन्थी नेता रामराज रेग्मीले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकारहरूले दुईजना प्रस्तोताले प्रस्तुत गर्नुभएको कार्यपत्रहरू विस्तृत र विचार उत्तेजक छ भन्दै प्रस्तोताहरूले जुनकुरा प्राप्त गर्न खोज्नुभएको छ, त्यसमा उहाहरूको स्वयम लाग्नु भएको पनि छ भन्दै उहाँहरूको सफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता केशबहादुर परियारले आफ्नो छोटो मन्तव्य सहित कार्यपत्र प्रस्तोताद्धय र टिप्पणीकारत्रय तथा सहभागी सबैलाई धन्यबाद दिदै सभा बिसर्जन गर्नुभयो । कार्यक्रमको बिचमा सङ्गम सांस्कृतिक मञ्चका कलाकार काजीबाबु श्रेष्ठ र डिबी वान्तवाले जनवादी गीत प्रस्तुत गरेका थिए ।






























