३ आश्विन काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले दिवंगत नेता खगुलाल गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले आइतबार शोक वक्तव्य प्रकाशित गरी नेता गुरुङको मृत्युप्रति गहिरो दु:ख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
‘उहाँको मृत्युबाट हाम्रो पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाउन पुगेको छ’ महामन्त्री सिंहले भन्नुभएको छ ।

साथै मसालले उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एउटा जीवित साक्षी तथा क्रान्तिकारी सिद्धान्त र आदर्शको एउटा प्रतिरुपको रुपमा रहनुभएको थियो भन्दै गुरुङलाई एउटा आशावादी र साहसिक इच्छाशक्तिले भरिएको व्यक्तित्वको रुपमा स्मरण गरेको छ ।

यस्तो छ वक्तव्य
का. खगुलाल गुरुङको १०४ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । उहाँको मृत्युबाट हाम्रो पार्टी र सम्पूर्ण नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्वलाई गुमाउन पुगेको छ ।
का. खगुलाल गुरुङ वि.सं. २००७ साल देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनभएको थियो । उहाँ २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो । त्यसरी उहाँ लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रहँदै आउनुभएको थियो । उहाँ प्यूठानमा नेकपाको संस्थापक सदस्यमध्ये एकजना हुनुहुन्थ्यो । त्यसरी स्थापना गरिएको नेकपाको प्यूठान जिल्ला समितिमा का. मोहनविक्रम सिंह सेक्रेटरी हुनुहुन्थ्यो भने उहाँ उक्त समितिको सदस्य हुनुहुन्थ्यो ।
प्यूठानमा पार्टीको स्थापना भएपछि उहाँ पार्टी र किसान संघका कैयौँ कार्यक्रममा सामेल हुनु भएको थियो । २०११ सालमा प्यूठानको नारीकोटमा चलेको ऐतिहासिक किसान आन्दोलनको उहाँ एउटा प्रमुख नेता हुनुहुन्थ्यो । प्यूठानको किसान आन्दोलनपछि उहाँसहित किसान आन्दोलनका अभियन्ताहरुमाथि झुट्टा मुद्दा लगाइएको थियो ।
उक्त किसान आन्दोलनपछि प्यूठानमा प्रशासनको भ्रष्टाचार र दमनका विरुद्ध पुन: आन्दोलन उठेको थियो । उक्त आन्दोलनमा विरोध प्रदर्शन गर्न प्यूठानको सदरमुकाम जाने सिलसिलामा राति बास बसेको अवस्थामा मोहनविक्रम सिंह, रुमबहादुर पाण्डे, नन्दलाल गुरुङ, सिद्धिमान सिंह, नेपाली काँग्रेसका हेमराज पण्डित सहित कामरेड खगुलाल गुरुङ पनि गिरप्तारीमा पर्नु भएको थियो ।
त्यसरी गिरप्तार भएपछि उहाँहरुलाई करिब १८ महिनासम्म पाल्पा र सल्यान गरी विभिन्न जेलमा चलान गरिएको थियो । जेलबाट रिहाइ भएपछि तत्कालको प्यूठान जिल्लाअन्तर्गतको रोल्पामा उहाँले संगठनात्मक कामलाई अगाडि बढाउनुभएको थियो । २०१५ सालको आम निर्वाचनमा उहाँ उक्त क्षेत्रबाट नेकपाको उम्मेदवार समेत बन्नुभएको थियो ।
का. गुरुङ एक सामान्य जीवनयापन गर्ने कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँको जीवनको धेरै ठूलो हिस्सा नेपालको कम्युनिस्ट आन्दोलनमा व्यतित भएको छ । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको एउटा जीवित साक्षी तथा क्रान्तिकारी सिद्धान्त र आदर्शको एउटा प्रतिरुपको रुपमा रहनुभएको थियो ।

उहाँको कम्युनिस्ट विचारप्रतिको आस्थामा कहिल्यै पनि विचलन आएन । उहाँ एउटा आशावादी र साहसिक इच्छाशक्तिले भरिएको व्यक्तित्व हुनुहुन्थ्यो । जीवनभरि नै समाजलाई बदल्न र समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र उत्पीडनको अन्त्य गरी सुखी र उन्नत समाज निर्माणका लागि सँधै संघर्षरत रहनु उहाँको सबैभन्दा महत्वपूर्ण र उल्लेखनीय पक्ष हुन् ।
का. गुरुङले आत्मसंघर्ष गर्दै सिद्धान्त र विचारप्रति निष्ठता कायम राख्नुभएको छ । उहाँले स्वार्थ र प्रतिष्ठाबाट माथि उठेर जीवनको धेरै लामो दूरी हिड्न सफलता हासिल गर्नुभएको छ । उहाँ दृढ निष्ठा र आदर्शले भरिएको एउटा कम्युनिस्ट हुनुहुन्यो । उहाँको जीवनबाट नयाँ पुस्ताले सिक्नुपर्ने थुप्रै विषय रहेका छन् । हामीले उहाँको जीवनबाट शिक्षा लिँदै कम्युनिस्ट आन्दोलनमा दृढतापूर्वक काम गर्न सक्यौँ भने उहाँप्रतिको सच्चा सम्मान र श्रद्धा हुन सक्ने छ ।
का. गुरुङलाई सँधैको लागि विदा गरिरहँदा हामीले नयाँ पुस्तालाई यो सन्देश दिन चाहन्छौँ कि कम्युनिस्ट आन्दोलन दृढ विचार, अनुशासन र लगनशीलताको लामो र कठिन यात्रा हो । हामी सबैले का. गुरुङले झैँ अविचलित भएर हिड्न सिकौँ र कम्युनिस्ट आन्दोलनलाई योगदान पुर्‍याऔँ । यही नै का. गुरुङप्रतिको सच्चा सम्मान हुनेछ ।
अन्तमा हामीले का. गुरुङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।
२०७८ असोज ०३ गते ।
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया

सम्बन्धित खवर