अशोक सुवेदीले एकदिन मेरो हातमा एउटा पुस्तकको डमि प्रति थमाइदिनु भयो । उक्त पुस्तक नेपालको प्रगतिवादी साहित्य, कला र संस्कृतिका साथै जनपक्षीय पत्रकारिताका क्षेत्रमा झण्डै आधा शताब्दी आफ्नो अमूल्य जीवन गुजारेका अथक योद्धा शक्ति लम्सालको जीवनबृत्तमा आधारित थियो । शक्ति लम्सालको जीवनी र व्यक्तित्वका बारेमा स्नाकोत्तरमा अध्ययनरत कमला सिग्देल (सुवेदी)ले गर्नुभएको सोध तथा लम्सालका बारेमा लेखिएका र लम्सालले अन्य विषयमा लेख्नुभएका रनाहरूको सङ्कलनको सङ्ग्रहका रूपमा उक्त पुस्तक तयार पारिएको छ । पुस्तकको मूल लेखकका रूपमा कमला सिग्देल रहेकी छन् भने अन्य रनाहरूको सङ्कलन अशोक सुवेदीले नै गरेका छन् । मलाई यो पुस्तकको भूमिका लेख्न निकै अप्ठ्यारो महसुस भएको छ । यस्ता पुस्तकको भूमिका खासै लेखिँदैन । यदि लेखिएको भएपनि मैले पढ्न पाएको छैन । कहाँबाट सुरु गरुँ भन्ने द्विविधामा परेको छु म । जे होस् अशोकजीले निकै अनुरोध गरेपछि जे जस्तो भएपनि लेख्नै पर्‍यो । तसर्थ यो भूमिका नभएर पुस्तक पढेपछिका मेरा अनुभूतिका रूपमा पाठकहरूले ग्रहण गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

प्रस्तुत पुस्तक तीन खण्डमा रहेको छ । पहिलो खण्डमा शक्ति लम्सालका बारेमा कमला सिग्देलले गरेको सोधसामग्री रहेका छन् । दोस्रो खण्डमा शक्ति लम्सालले लेख्नुभएका समालोचकीय तथा संस्मरणात्मक रचनाहरू छन् भने तेस्रो खण्डमा शक्ति लम्सालका बारेमा लेखिएका अन्य स्रष्टाहरूका रचनाहरू रहेका छन् । त्यसका साथै फुटकर रचनाका रूपमा माक्र्सवादी साहित्य प्रतिष्ठानद्वारा शक्ति लम्साललाई सम्मान गर्दा गरिएको सम्बोधनका अंशहरू रहेका छन् । ती सम्बोधनहरू हाल नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र स्वयम् शक्ति लम्सालका रहेका छन् । यी फुटकर रनाहरूलाई पनि जोड्दा प्रस्तुत पुस्तक चार खण्डको हुन आउँछ ।

नेपालको प्रगतिवादी धाराको सांस्कृतिक तथा साहित्यिक आन्दोलनमा शक्ति लम्साल अत्यन्तै परिचित नाम हो । नेपालको वामपन्थी आन्दोलनमा शक्ति लम्सालका दुई वटा पक्ष रहेका छन् । उनको एउटा पक्ष सक्रिय राजनीतिक व्यक्तित्वको पक्ष हो भने अर्को पक्ष वामपन्थी साहित्य र जनपक्षीय पत्रकारिताको पक्ष हो । उनको राजनीतिक पक्ष जीवनको पूर्वाद्र्धको खण्डमा बढी सक्रिय रहेको छ भने जीवनको उत्तराद्र्धको खण्डमा साहित्य र पत्रकारिताको पक्ष बढी सक्रिय भएर आएको छ । यद्यपि साहित्य, कला र संस्कृतिको अन्तरसम्बन्ध राजनीतिसँगै हुन्छ । त्यसो हुँदा पछिल्लो पक्षलाई राजनीतिमा जोड्न सकिन्छ । परन्तु, अघिल्लो अवधिमा उनी जे जसरी कम्युनिस्ट पार्टीको राजनीतिक सङ्गठनमा सक्रिय भूमिका खेले त्यसअनुरूपको पछिल्लो अवधिमा खेलेको पाइँदैन । शक्ति लम्सालका सम्बन्धमा माक्र्सवादी सौन्दर्यचिन्तक एवम् राजनीतिशास्त्री चैतन्यको धारणा यस्तो छ, शक्ति लम्सालको जीवन नेपालको सिङ्गो सांस्कृतिक आन्दोलन एउटा माक्र्सवादी र जनवादी सांस्कृतिक आन्दोलनको इतिहास पुरुषका रूपमा मानिन्छ । वि.सं. २००९ सालदेखि हालसम्म साहित्य, कला, चिन्तन र सिङ्गो कम्युनिस्ट आन्दोलनको क्षेत्रमा अडिग रहन सक्नु एउटा गौरवको विषय भएको छ । (अथक साधक शक्ति लम्साल, पृष्ठ १३)

प्रस्तुत कृतिमा अभिव्यक्त भएको विचारअनुरूप लम्सालले आफ्नै बाबुबाट पनि विद्रोह गरेर काठमाडौंका एउटा सामन्ती परिवारलाई चुनौती दिएका थिए । यस कृतिमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शक्ति लम्सालसँग पहिलो पटकको भेटमा नेपालको कम्युनिस्ट आन्दोलनबारे छलफल गर्ने क्रममा उनी सामान्य पत्रकार तथा साहित्यकार मात्र नभएर नेपाली क्रान्तिको रणनीति र कार्यनीतिको गहिरो ज्ञान समेत भएको व्यक्तिका रूपमा पाएको बताएका छन् । यसले के कुरा स्पष्ट गर्छ भने लम्साल वास्तवमा लेखक र पत्रकार मात्र थिएनन् । उनी माक्र्सवादी राजनीतिका जानकार पनि थिए । किनकि उनमा माक्र्सवादी दर्शन, सिद्धान्त र राजनीतिको गहिरो अध्ययन थियो । त्यही ज्ञान भएकै कारण उनको साहित्य निकै प्रखर थियो र पत्रकारिता पनि धारिलो थियो । त्यसैले पनि पतिक्रियावादी सत्ताले उनलाई दर्जनौं पटक गिरफ्तार गर्ने, हिरासतमा राख्ने राजनीतिक मुद्दा लगाएर जेल हाल्ने काम गरिरह्यो । उनलाई जेल र हिरासतको यातनाले कहिल्यै पनि गलाएन बरू झन्झन् दरिलो, स्पातिलो र क्रान्तिकारी बनायो ।

यस पुस्तकको प्रथम खण्डमा शक्ति लम्सालको विषयमा गरिएको कमला सिग्देलको सोधसामग्री सङ्गृहित छ । जहाँ सिग्देलले लम्सालको प्रारम्भिक परिचय, व्यक्तित्व, उनले भोगेको यातना र जेलजीवन, साहित्यिक कृतिहरू, परिशिष्ट अन्तरगत उनका अन्तरवार्ता, लेख, फुटकर कविता, निबन्ध आदि माथि गरिएका समालोचकीय टिप्पणी आदि रहेका छन् । यसरी लम्सालमाथि गरिएको सोधको कार्य पूरा भएको छ । लम्साल जस्तो अथक क्रान्तिकारी योद्धा, जो पक्षघातको रोगसँग जीवनमरणको लडाईं लडिरहेका थिए का बारेमा सोध गरेर नेपाली जनतालाई उनका बारेमा जानकारी लिन सहयोग पुर्‍याउने काम गरेकी छन् ।
२००७ सालदेखि नै राजनीतिमा प्रवेश गरेका लम्साल सानैदेखि नै वर्गसङ्घर्ष, युद्ध, क्रान्ति र आमूल परिवर्तनको उद्देश्य लिएको कुरा उनको जीवनीमा बताइएको छ । विद्यार्थी राजनीतिबाट क्रियाशील राजनीतिमा लागेका लम्साल २०१२ सालमै रूपन्देही जिल्लाको कम्युनिस्ट पार्टी सङ्गठनको जिल्ला सचिवालय सदस्य भएको कुरा यस कृतिमा उल्लेख गरिएको छ । पार्टीमा उनको छवि सरल मिजास भएको तर खरो लाइनका पक्षधरका रूपमा चिनिन्छ । उनले संशोधनवादी धाराका विरुद्ध निकै कडा आलोचना गर्दथे । र, आफूलाई जीवनभर क्रान्तिकारी धारामा उभ्याउन सफल भए । २०१८ सालमा पहिलो पटक मोहनविक्रम सिंहसँगै तौलिहवामा जेल परेका लम्साल १८ महिनापछि छुटे । त्यसपछि २०२२ सालमा पुनः भैरहवामा जेल परे । त्यतिबेला उनी किसान विद्रोहको मुद्दा झेलिरहेका थिए । २०४५ देखि ०४७ सम्म पुनः पञ्चायत विरुद्धको आन्दोलनमा जेल परे । त्यस्तै २०५२, ०५३ र ०५५ मासमेत पटकपटक शान्तिसुरक्षा ऐन अन्तरगत जेल र हिरासत बसेका शक्ति लम्साल प्रतिक्रियावादी सत्ता सामू कहिल्यै पनि झुकेनन् ।
शक्ति लम्सालको अर्को पाटो भनेको प्रगतिवादी साहित्य र जनपक्षीय पत्रकारिताको क्षेत्र हो । साहित्यमा उनको मुख्य विधा समालोचना हो । उनका दुई वटा कृति भियतनाम युद्धको ऐतिहासिक पृष्ठभूमि २०२९ सालमा र माक्र्सवाद, समाज र साहित्य २०६१ सालमा प्रकाशित छन् । त्यसबाहेक उनका दर्जनौं पत्रपत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशित छन् । त्यसैगरी धेरै स्रष्टाहरूका कृतिहरूको भूमिका पनि उनले लेखेका छन् । उनले योजना, महिमा, जनादेश जस्ता क्रान्तिकारी जनपक्षीय पत्रिकाहरूको सम्पादकको भूमिका पूरा गरेर पत्रकारिता क्षेत्रको निकै लामो यात्रा पूरा गरेका छन् ।

प्रस्तुत कृति निकै महत्व र गम्भीरतम प्रकृतिको छ । यस्तो मूल्यवान कृति तयार पारेर कमला सिग्देल ‘सुवेदी’ र अशोक सुवेदीले शक्ति लम्सालका बारेको नेपाली समाजलाई अमूल्य सम्पत्ति दिन सफल भएका छन् । यसमा उनीहरू दुवैलाई धन्यवाद छ । शक्ति लम्साल मृत्युसँग पौँठेजोरी खेलिरहेका र सक्रिय जीवनबाट ओझेल परेका बेला उनकाे बारेमा यति गहन कृति प्रकाशित गरिनु हाम्रा निम्ति गाैरवकाे कुराे हाे । यस्तो वेला यो कृतिले लम्साललाई बिर्सन खोजेका पाठकहरूलाई पुनः स्मरण गराउन मदत गर्ने छ ।
२५ चैत २०६९

‘क्रान्तिकारी साहित्य संस्कृति र पत्रकारिताका स्तम्भ शक्ति लम्साल’ पुस्तककाे भूमिकाबाट साभार 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार