
लामो समयदेखि नेपालमा कम्युस्टिहरू मूलत: दुई धारामा विभाजित रहिआएका छन् — अवसरवादी र क्रान्तिकारी । अवसरवादी कम्युनिस्टहरूले आफ्नो नाम अझै कम्युनिस्ट नै राखे पनि काममा ती प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका अत्यन्तै भरपर्दा रक्षाकवच बन्दै आएका छन् र साम्यवादको उदात्त आदर्शसित तिनको कुनै सम्बन्ध छैन ।
२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी अहिले बहत्तर वर्षको भएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन जस्तै नेपाली कम्युनिस्ट आन्दोलन पनि एकता, सङ्घर्ष एवम् रूपान्तरणको द्वन्द्वात्मक प्रक्रियाका बीचबाट विकसित हुँदै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलन सङ्गठन र सङ्घर्षका विभिन्न सकारात्मक र नकारात्मक अनुभवका प्रचुर शिक्षाहरूले समृद्ध रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि माक्र्सवाद र संशोधनवादका बीच भीषण विचारधारात्मक सङ्घर्ष चल्दै आएको छ ।
प्रारम्भमा क. पुष्पलालको नेतृत्वमा लोकजनवादमा आधारित क्रान्तिकारी धारा प्रभावी थियो । २०१० सालको पहिलो महाधिवेशनदेखि २०१९सालको तेस्रो महाधिवेशनसम्म आउँदा मनमोहन अधिकारीको सम्वैधानिक राजतन्त्र, रायमाझीको राजतन्त्रपरस्त र तुल्सीलालको संसदवादमा आधारित दक्षिणपन्थी संशोधनवादी धारा प्रभावी बन्यो । त्यस पश्चात् २०२५ सालमा सम्पन्न पुष्पलाल पक्षीय राष्ट्रिय सम्मेलन, २०२८को झापाविद्रोही धारा र केन्द्रीय न्युक्लस हुँदै २०३१सालमा सम्पन्न चौथो महाधिवेशन पक्षीय धाराले बेग्ला बेग्लै ढङ्गले दक्षिणपन्थी संशोधनवादका विरुद्ध माक्र्सवाद–लेनिनवाद एवम् माओविचार, नयाँ जनवाद तथा सशस्त्र सङ्र्षको मान्यता अवलम्बन गरे । त्यसै क्रममा नेपाली कम्युनिस्ट आन्दोलन अझै विभिन्न धारा तथा उपधाराहरूमा विभाजित बन्दै गयो ।
झापाविद्रोही धाराबाट नेकपा (माले) मा विकसित धाराले २०४६ साल पश्चात् माओविचार, नयाँ जनवाद तथा सशस्त्र सङ्घर्षलाई परित्याग गरी बहुदलीय जनवादको दक्षिणपन्थी संशोधनवादी मान्यतालाई स्वीकार गर्न पुग्यो । त्यसले मनमोहन अधिकारी, तुल्सीलाल सहितका पक्षसित एकता गरी नेकपा (एमाले) को रूप धारण गर्यो । अर्कोतिर त्यस धाराका विरुद्ध चौम भित्रका मशाल, विद्रोही मसाल, लामापक्षीय चौम, सर्वहारावादी श्रमिक संगठनका बीच एकता गरी नेकपा (एकता केन्द्र) बन्यो । त्यसले माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध लगायतका मान्यता अँगाल्यो । यो निकै महत्वपूर्ण उपलब्धि थियो । परन्तु, त्यस पश्चात् नेकपा (एकता केन्द्र) भित्र गम्भीर प्रकृतिका राजनीतिक विवाद पैदा भए । त्यसै क्रममा नेकपा (माओवादी) जन्मियो र त्यसले २०५२ देखि २०६३ सालसम्म महान् जनयुद्धलाई सशक्त रूपमा अगाडि बढायो । दु:खको कुरा, माओवादी धाराको मूल नेतृत्वभित्र दक्षिणपन्थी संशोधनवाद पैदा भयो र त्यसले महान् जनयुद्धप्रति गद्दारी गर्न पुग्यो । फलत: महान् जनयुद्धले गम्भीर धोका र धक्का खायो । त्यसै क्रममा माओवादी धारा विभाजित भयो ।
नेपाली कम्युनिस्ट आन्दोलनको समग्र इतिहास माक्र्सवाद तथा संशोधनवादका बीचको भीषण विचारधारात्मक संघर्ष र सकारात्मक तथा नकारात्मक अनुभवमा आधारित द्वन्द्ववादी शिक्षाले समृद्ध रहेको छ । ख्रुश्चेभको आधुनिक संशोधनवाद तथा संसदवादका विरुद्ध संघर्ष गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्नु, नयाँ जनवाद तथा वैज्ञानिक समाजवादको क्रान्तिकारी राजनीतिक कार्यक्रम तथा कार्यदिशा अवलम्बन गर्नु, दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशा स्वीकार गर्दै ऐतिहासिक झापा विद्रोह र दश वर्षीय महान् जनयुद्धको प्रकृयालाई अगाडि बढाउनु — नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिका अत्यन्तै महत्वपूर्ण सकारात्मक शिक्षा हुन् । नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासमा नेपाली जनता तथा योद्धाहरुले धेरै रगत र पसिना बगाएका छन् । यो समग्र प्रकृयामा अनेकौं वीर विराङ्गनाहरुले प्राणको आहुति दिएर त्याग, वीरता र बलिदानका अनुपम कीर्तिमान स्थापित गरेका छन् । यिनले हामीलाई क्रान्तिका लागि सदैव उत्पे्ररित गर्दै आएका छन् । परन्तु अर्कोतिर नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिको इतिहासमा आत्मसमर्पणवाद, पलायनवाद, विश्वासघात, धोका र गद्दारीका अनेकौं कुरुप उदाहरण पनि पाइन्छन् । यिनले पनि क्रान्तिलाई अगाडि बढाउनका लागि निश्चयनै नकारात्मक रूपमा आवश्यक शिक्षा प्रदान गर्नेछन् ।
ऐतिहासिक झापाविद्रोहका बीचबाट नेकपा (माले) हुँदै एमालेमा परिणत भएको अवसरवादी उपधारा र चौम, मशाल तथा एकताकेन्द्रबाट नेकपा (माओवादी) हुँदै माओवादी केन्द्रमा परिणत भएको अवसरवादी उपधारा मिलेर एकातिर संविधान सभा मार्फत् २०७२ सालमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय हितमा आधारित संसदवादी संविधान बनाउन पुगे भने अर्कोतिर ती दुबै दक्षिणपन्थी अवसरवादी उपधारा मिलेर एकता गरी कम्युनिस्ट नामधारी डबल नेकपाको स्वरूपमा पेश भए । त्यसै क्रममा उनीहरू झण्डै दुई तिहाइ बहुमतको सरकार बनाई प्रतिक्रियावादी शासन सत्तामा आरुढ भए र तिनले आफूलाई नेपालमा दिग्विजय गर्न सफल बन्न पुगेको चक्रवर्ती राजा सरहको देखाउँदै नाना तरहका अभिनय गर्नथाले । परन्तु केही समय बित्दै जाँदा सत्ता, पद, निजी प्रतिष्ठा र स्वार्थका लागि ती आफ्नै पार्टीभित्र आँखा चिम्लिएर मदमत्त साँढे सरह जुद्धै गए । प्रतिनिधि सभा विघटन र पुन:स्थापनाको प्रक्रियाका भीषण अन्तर्कलह, मुद्दामामिला र द्वन्द्वका बीचबाट एमाले र माओवादी केन्द्रले पुरानै भेष धारण गर्दै ‘पुनर्मूषिको भव’मा परिणत हुन पुगे । यो समग्र प्रक्रियामा नेपाली राजनीतिमा संसदीय व्यवस्था र संशोधनवाद भयावह अन्तर्विरोध र सङ्कटका महाभुमरीमा फस्दै र असफल साबित हुँदै गएका छन् । तर दक्षिणपन्थी संशोधनवादीहरू संंसदीय निर्वाचनमा बहुमत ल्याउन र क्षतविक्षत हुन लागेको प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामा प्राण भर्नका लागि आफूलाई महाकम्युनिस्ट बताउँदै पार्टी एकताको अर्को नौटङ्की गर्न थालेका छन् । बिरालाहरू मुसल्धारे पानीमा निथ्रुक्कै भिजे पनि टाउको देखाउन पछि पर्दैनन् भनेको यही हो ।
अर्कोतिर, क्रान्तिकारी कम्युनिस्टहरू विभिन्न धारा, उपधारा र समूहमा छितरिएर रहेका छन् । उनीहरूले नेपाली कम्युनिस्ट आन्दोलनका क्रान्तिकारी अनुभव, शिक्षा र परम्पराको आधारशिलामा उभिएर एकातिर प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था र अर्कोतिर दक्षिणपन्थी संशोधनवादका विरुद्ध सक्दो सङ्घर्ष गर्दै र आवाज उठाउँदै आएका छन् । यो राम्रो कुरा हो । तर ती पनि एकातिर दक्षिणपन्थी अवसरवादको जबर्जस्त प्रभाव र अर्कोतिर आआफ्ना कमी, कमजारी तथा सीमालाई नाघेर अगाडि बढ्न सकेका छैनन् । यो दु:खद कुरा हो । यी सबै विषयबारे हामीले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
आज दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय प्रतिक्रियावादी राज्यसत्ता सङ्कटग्रस्त बन्दै गएको छ । संसदीय व्यवस्था र कथित लोकतन्त्रको धज्जी उडिरहेको छ । प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थाको रक्षाकवच बन्दै आएका दक्षिणपन्थी संशोधनवादीहरूको प्रतिक्रियावादमा पतन हुन पुगेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू निकै भयावह र जटिल बन्दै आएका छन् । पुराना प्रतिक्रियावादी मात्र होइन नयाँ प्रतिक्रियावादीहरू पनि पश्चगामी राज्यसत्ता र व्यवस्थालाई थाम्न असफल साबित हुँदै गएका छन् । जनताको एउटा ठुलो हिस्सा क्रान्तिकारी विकल्पको खोजीमा छ । परन्तु दु:खको कुरा क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गए पनि आत्मगत परिस्थिति भने अझै प्रतिकूल नै रहेको छ ।
त्यसैले, ठीक यो बेला यदि हामीहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट हौं भने आत्मगत शक्ति बलियो बनाउनका लागि निकै गम्भीरतापूर्वक सोच्न र एकताबद्ध हुन जरुरी छ । नेपाली क्रान्ति, जनता र इमानदार नेता तथा कार्यकर्ताहरूले क्रान्तिकारी कम्युनिस्टहरूको सिद्धान्तनिष्ठ एकताको माग गरिरहेका छन् । यो मागलाई हामीहरूले राम्रोसित सुन्न र सहर्ष स्वीकार गर्न जरुरी छ । अब हामी विभिन्न समूह तथा उपसमूहमा रमाएर र आपसी आग्रह तथा पूर्वाग्रहले ग्रसित भएर बस्नु ठीक हुँदैन । परन्तु, यदि हामी पनि नामधारी कम्युनिस्ट नै हौं भने दक्षिणपन्थतिरको यात्रा सोझ्याए हुन्छ । केही फरक पर्दैन । सच्चा क्रान्तिकारीहरूले अनेकौं आरोह–अवरोहका बीचबाट तमाम प्रतिकूलताको सामना गर्दै निश्चित रूपमा दृढ विश्वास र सङ्कल्पका साथ क्रान्तिलाई अगाडि बढाउने नै छन् । क्रान्ति कसैले रोकेर रोकिदैन, अन्तत: त्यो विजयी बन्दछ । प्रतिकूलताका ज्वारभाटाहरुका विरुद्ध संघर्ष गर्दै र प्रतिकूलतालाई अनुकूलतामा फेर्दै आवश्यक धैर्य र दृढताका साथ अगाडि बढ्नु नै क्रान्तिकारी कम्युनिस्टहरुको असली दायित्व हो । हामी यस दायित्वप्रति प्रतिबद्ध हुन जरुरी छ ।
क्रान्तिकारी कम्युनिस्टहरुको सिद्धान्तनिष्ठ एकता आजको ऐतिहासिक आवश्यकता हो । क्रान्तिकारी कम्युनिस्टहरुका बीच पार्टी एकताको आधार तयार पार्नका लागि सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक विषयसँग सम्बन्धित निश्चित मापदण्डहरुलाई अगाडि बढाउन आवश्यक हुन्छ । यस सन्दर्भमा विशेष दृष्टि दिनुपर्ने मूल विषय यी हुन्: (१) माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा र महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई अंगीकार गर्नु । (२) नयाँ जनवाद तथा वैज्ञानिक समाजवादलाई स्विकार्नु । (३) प्रतिकृयावादी राज्यसत्ता तथा व्यवस्था, संसदवाद र मन्त्रिमण्डलवादका विरुद्ध जानु, (४) बलप्रयोगको सिद्धान्तलाई अवलम्बन गर्नु, (५) सर्वहारा अन्तराष्ट्रियतावादलाई अँगाल्नु र (६) जनवादी केन्द्रीयताको सिद्धान्तलाई मान्नु । हामीले उक्त विषयमाथि गहन तथा विशद छलफल तथा बहस, विचार विमर्श र संवाद गरी एउटा निश्चित अवधिभित्र सही संश्लेषण र सकारात्मक निष्कर्षमा पुग्नका लागि गंभीरतापूर्वक प्रयत्न गर्न जरुरी छ ।
यो बेला देशमा गम्भीर एवम् जटिल बन्दै आएका राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको सही समाधान खोज्न, संकटग्रस्त बन्दै गएको प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध नयाँ जनवाद र वैज्ञानिक समाजवादको सशक्त विकल्प पेश गर्न, दक्षिणपन्थी संशोधनवादीहरुका नानातरहका विभ्रमहरुलाई चिर्न र क्रान्तिको आँधीवेहरी सृष्टि गर्दै अगाडि बढ्न नितान्त जरुरी छ । यसका लागि क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध हुनु विशेष ऐतिहासिक आवश्यकता एवम् दायित्व बन्न गएको छ । यस यथार्थलाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न हामी सबन्धित सबै पक्ष तथा कमरेडहरूसित विशेष एवम् विनम्र अनुरोध गर्दछौं ।
भदौ २८, २०७८