एजेन्सी । दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो अर्थात् पेरु कम्युनिस्ट पार्टी साइनिङपाथ (सेनडेरो लुमिनोसो) का अध्यक्ष कमरेड गोन्जालो गिरफ्तारीको २९ वर्ष पुग्नु एकदिन अघि निधन भएकाे छ । पेरुका सञ्चार माध्यमले जनाए अनुसार उहाँकाे उपचारकाे क्रममा सैनिक अस्पतालमा मृत्यु भएकाे हाे । उहाँकाे छातीमा इन्फेक्सनका कारण मृत्यु भएकाे जनाइएकाे छ ।
छाला क्यान्सरका बिरामी ८६ वर्षीय गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि कैदी नम्बर १५०९ को बन्दी बनाएर राखिएको थियाे । सन १९६४ मा पेरु कम्युनिस्ट पार्टीको दुई लाइनको संघर्ष रुसी अथवा चिनियाँ रुझानमा गोन्जालोले चिनियाँ रुझान रोज्नु भयाे । पछि सन १९६९ मा गोन्जालोको नेतृत्वमा विश्वविद्यालयका विद्यार्थीहरू सहित साइनिङपाथको स्थापना भयो । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको पार्टी बनेकाले यसलाई पढ्न्तेहरूको पार्टी (पुएब्लो डेल लिब्रो) पनि भनियो । सन १९७८ मा संविधानसभाको चुनाव भयो, १९७९ मा संविधान बन्यो र १७ वर्षको सैनिक शासन पछि पेरुमा १९८० मा राष्ट्रपति चुनावको घोषणा भयो ।
अर्धसामन्ती देश पेरुमा किसान विद्रोहहरूको लामो शृङ्खला थियो । संबिधान निर्माणमा पेरुका जनताको चित्त बुझेको थिएन । राष्ट्रपति चुनावको अघिल्लो रात मई १७, १९८० आयाकुचोको सानो गाउँ चुस्चीमा साइनिङपाथका कार्यकर्ताले मतपत्र र मतदान सामग्री कब्जा गरी जनताहरूको अगाडि सार्वजनिक स्थानमा मतदान सामग्री जलाइ दिए र त्यही दिन साइनिङपाथले पेरुमा जनयुद्ध सुरु भएको घोषणा गर्‍यो । पेरुमा जनयुद्ध सन १९८० देखि १९९९ सम्म चलेको थियो । यो अवधिमा पेरुमा २,९०० सशस्त्र कार्यवाही भए । ४३,००० मानिसहरूको जनयुद्धमा ज्यान गयो भने २६,२५९ लाई बेपत्ता पारियो । सन १९८५-९० मा पेरुको ३२ प्रतिशत भूभाग र ४९ प्रतिशत जनता साइनिङपाथको नियन्त्रणमा थियो र यो समयलाई रणनीतिक सन्तुलन भनियो । सन १९८८ मा पेरु कम्युनिस्ट पार्टी साइनिङपाथको पहिलो महाधिवेशन भएको थियो जुन महाधिवेशनबाट गोन्जालो विचारको प्रादुर्भाव भयो । महाधिवेशनको लगत्तै पछि गोन्जालोले एल डायरियो पत्रिकामार्फत एउटा लामो अन्तर्वार्ता दिनुभएकाे थियाे, त्याे विश्वभरि चर्चित बनेकाे थियाे ।

सन १९९० जुन महिनाको एक बिहान पेरुको राजधानी लिमामा कम्युनिस्ट पार्टीको ७० वटा राता झन्डा समानान्तर फहराइएको खबर संसारभरी फैलियो । यसैलाई प्रेरणा मानी नेपालमा कमरेड रामवृक्ष यादव (मास्टर साहेब) ले एउटा चर्चित मैथिली गीत लेख्नु भएको थियो: पेरु में लाल झन्डा फहराइ रे कोइ माने न माने । पेरु जनयुद्धको प्रभाव विश्वभरि पर्‍यो नेपाल पनि अपवाद रहेन । नेपाल कम्युनिस्ट पार्टी मशाल र मसाल पेरु कम्युनिस्ट पार्टी साइनिङपाथसँगै रिम (रिभोल्युसनरी इन्टरन्यासनल मुभमेन्ट) मा विश्वका १५ भन्दा बढी कम्युनिस्ट पार्टीहरूसँग सहयात्री थिए । पेरु जनयुद्धको समर्थनमा नेपालमा धेरै कार्यक्रम भए । गोन्जालोको एल डायरियोको अन्तर्वार्ता नेपालीमा अनुवाद भयो, पेरुमा जनयुद्ध भन्ने पुस्तक नै प्रकाशित भयो, कैदी नम्बर १५०९ भनेर कथा, कविता र गीतहरू लेखिए । पेरुको जनयुद्ध नेपालको जनयुद्धको प्रेरणा बन्यो ।
संसारभरका कम्युनिस्ट क्रान्तिकारी माओवादीहरुले आजीवन काराबासकाे २९ बर्ष पुग्दै गर्दा उहँकाे जीवन रक्षा र रिहाइमा लागि आवाज उठाएका थिए, अभियान चलाएका थिए । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका पार्टीहरुले पनि कमरेड गाेन्जालाेकाे जीवन रक्षा र रिहाइको माग गरेकाे थियाे ।
अन्ततः उहाँकाे सेप्टेम्बर ११ अर्थात् शनिबार दुःखद् निधन भयाे । क.गाेन्जालाेले बरु मृत्यु राेज्नु भयाे, चरम फासिवादी यातना भाेग्नु भयाे तर जीवनकाे भिख माग्नु भएन । आत्मसमर्पण गर्नु भएन । अमेरिकी साम्राज्यवाद र उसकाे कठ्पुतली पेरुकाे प्रतिक्रियावादी शासकहरुसँग कहिल्यै झुक्नु भएन । विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरुका लागि उर्जा र उत्प्रेरणा बनिरहनु भयाे र बनिरहनु हुनेछ । उच्च सम्मानसहित क. गाेन्जालाेप्रति हार्दिक श्रद्धाञ्जली

प्रतिक्रिया

सम्बन्धित खवर