
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल किसान महासंघ (क्रान्तिकारी ) लगात किसान संगठनहरुले किसानहरुलाई उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गराउन सरकारसँग जाेडदार माग गरेका छन् ।
विभिन्न राजनीतिक पार्टी निकट किसान संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी हुने व्यवस्था गरिदिनुपर्ने माग गरेका हुन् ।
‘यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दिए पनि आफ्नो बचन पूरा नगरेको उनीहरुको भनाइ छ ।
‘परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेका ेछ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ । वर्षा, झरी, गर्मी, ठण्डी, हिउँ, तुषारो नभनीकन वर्षभरि परिश्रम गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार नपाउनु, बजारमा लगिएका आफ्ना उपज÷वस्तुको मूल्य आफैले निर्धारण गर्न नपाउनु र महिनौँको मेहनतबाट उत्पादन गरेको वस्तुमा उत्पादक किसानहरूले अत्यन्तै कम मूल्य पाउनु तर उपभोक्ता तथा आम सर्वसाधारणले अत्यधिक मूल्य चुकाउन बाध्य हुनुपर्ने र उपभोग्यवस्तुको मूल्यको ठुलो हिस्सा विचौलिया, दलाल र व्यापारीहरूले पाउने स्थिति नेपाली कृषिको तितो यथार्थ रहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।
विगत लामो समयदेखि उखु उत्पादक किसानहरूले आफ्नो मेहनतबाट उत्पादित वस्तु चिनी मिल तथा अन्य व्यापारीहरूलाई बिक्रीवितरण गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद् कुरा रहेको भन्दै विज्ञप्तिमा किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौं वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राष्ट्रिय लज्जाको विषय भएको प्रस्ट पारिएको छ ।
यसरी विज्ञप्ति जारी गर्नेमा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण राना छन् ।































