
काठमाडौं । कमरेड रामवृक्ष यादवकाे स्मृति दिवसमा नेकपा (क्रान्तिकारी माओवादी)ले वक्तव्य जारी गरेकाे छ । पार्टी महासचिव किरणले जारी गर्नु भएकाे वक्तव्यमा कमरेड रामवृक्षप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले उठाएको लाल झण्डालाई सधैं उँचो राख्ने प्रतिवद्धता व्यक्त गरिएकाे छ । वक्तव्यमा भनिएकाे छ, “हाम्रो पार्टी आज कमरेड रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा उहाँप्रतिहार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँले उठाएको लाल झण्डालाई सधैं उँचो राख्ने प्रतिवद्धता व्यक्त गर्दछ । ”
वक्तव्यमा भनिएकाे छ, ” आज भदौ २ गते कमरेड रामवृक्ष यादवको सहादत भएको दिन हो । उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) का केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो । तत्कालीन जनमोर्चाले जनकपुरमा आयोजना गरेको जनसभालाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेर घर फर्किदै गर्दा २०५१ भदौ २ गते उहाँकै गाउँ बरमझिया नजिकै बाटो कुरेर बसेका वर्गदुश्मनका स्थानीय लठैतहरुको निर्मम आक्रमणबाट उहाँको सहादत भयो । उहाँ उत्पीडित मधेशी जनताका बीचमा मात्र होइन आम नेपाली सर्वहारा वर्गका बीचमा समेत अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । उहाँले रचना गर्नु भएको पेरुमा लालझण्डा फहराउँदैछ भन्ने सर्वहारा अन्तर्राष्ट्रियतावादी गीतले नेपालमा जनयुद्ध थालनीका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । जनताका बीचमा अत्यन्त लोकप्रिय सर्वहारावादी नेता भएकै कारण उहाँको विभत्स हत्या गरिएको हो । उहाँकै क्रान्तिकारी प्रेरणा स्वरुप उहाँको पुरा परिवार महान् जनयुद्धमा संलग्न भयो र उहाँको एकमात्र छोरा कमरेड शेखर यादव जनयुद्धकै क्रममा सहिद हुनु भयो । हाम्रो पार्टी आज कमरेड रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँले उठाएको लाल झण्डालाई सधैं उँचो राख्ने प्रतिवद्धता व्यक्त गर्दछ ।”
