देउवाले ल्याए २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने अध्यादेश

देउवाले ल्याए २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने अध्यादेश

काठमाडौँ । देउवा सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गराएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको छ ।
गत बैशाखमा केपी शर्मा ओलीले यस्तै गरी दल विभाजनका लागि अध्यादेश ल्याउँदा त्यसको विरोधमा उत्रिने देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव नै अहिले उस्तै प्रकृत्तिको अध्यादेश ल्याउने योजनाका मुख्य नेतृत्वकर्ता बनेका छन् ।
देउवालाई अध्यादेश ल्याउनका लागि दाहाल, नेपाल र यादवको उत्प्रेरणा छ । अध्यादेश ल्याउने सरकारको निर्णयसँगै अब फुटको डिलमा पुगेको एमाले विभाजनको कानुनी आधार तयार भएको छ । त्यस्तै जसपाभित्र पनि आधिकारिकता गुमाइसकेको महन्थ ठाकुर लगायतका नेताहरूलाई बाहिरिनका लागि ढोका खुलेको छ ।

सरकारले सुरुमा ३० प्रतिशत राखेर अध्यादेश ल्याउने तयारी गरेको थियो । तर, जसपाका नेताहरुले आफ्नो पार्टीलाई समेत सहज हुनेगरी अध्यादेश ल्याइदिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले २० प्रतिशत राखेरै अध्यादेश ल्याएको हो ।

जसपमा संघीय संसदमा रहेका ३४ सदस्य मध्ये ठाकुर पक्षमा प्रतिनिधिसभाका १२ सदस्य छन् । यो सख्या कुल सांसद संख्याको ३५ प्रतिशत हो । तर, पार्टी विभाजन गर्दा कतिपय सदस्य नजान सक्ने अनुमानका आधारमा जसपा नेता महन्थ ठाकुरले नै २० प्रतिशत राखेर अध्यादेश ल्याउन आग्रह गरेका थिए ।