
काठमाडौं । कीर्तिपुर क्षेत्रका स्थापित माओवादी नेता दिपक महर्जनको श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा महासचिव किरण, नेकपा (माओवादी केन्द्र)का बागमति प्रदेश इन्चार्ज हितमान शाक्य, क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमीर महर्जन, जसपाका नेता कृष्ण केसी लगायतका नेताहरुले कमरेड दिपक महर्जनले दशबर्षे जनयुद्ध र त्यसयता खासगरी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गर्दै श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कीर्तिपुर पांगा स्थित कमरेड दिपक महर्जनको निवासमै नेकपा (क्रान्तिकारी माओवादी)को कीर्तिपुर नगर कमिटिले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा कमरेड दिपककी छोरी दिपा महर्जनले बुबाको राजनीतिक जीवनको बारेमा संक्षिप्तमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा कमरेड दिपककी जीवनसंगिनी रमा महर्जन, छोरा दिलिप महर्जन, नेकपा (क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश इन्चार्ज दिनेश शर्मा सागर, सेक्रेटरी सुरेश श्रेष्ठ, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ, पार्टी केस शारदा महत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
क्रान्तिकारी माओवादीका कीर्तिपुर नगर इन्चार्ज रमेश महर्जनको अध्यक्षता र राम नेपालीको सञ्चालन सम्पन्न कार्यक्रममा स्थानीय जनताको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा कमरेड दिपको फोटोमा माल्यार्पणसहित १ मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
लामो समयदेखि मृगौला रोगबाट थलिएका कमरेड दिपकको हृदयघातबाट असार ३० गते निधन भएको थियो ।
