
ईश्वरीप्रसाद गैरे/तुलसीपुर,
२२ साउन/ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ देउखुरी जिल्ला समितिको आयोजनामा एमसिसि तथा भारतीय ज्यादतीका बिरूद्धमा दाङको तुलसीपुर बसपार्कमा बिरोध सभा सम्पन्न भएको छ । सभालाई नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा दाङ देउखुरी जिल्ला इञ्चार्ज समिर, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणि दुःखी तथा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मनोज थापाले सम्वोधन गरेका थिए ।
बिरोधसभालाई सम्बोधन गर्ने सबै वक्ताहरूले एमसिसि नेपालको संसदबाट अनुमोदन गरे नेपालको सार्वभौमसत्ता गुम्ने बताएका थिए । विकासको नाममा आएको परियोजना भएपनि यो अमेरिकाको सैन्य रणनीति अन्तरगत भएकोले नेपालमा यो परियोजना ल्याउन नहुने कुरामा सबै वक्ताहरूको जोड थियो ।

उक्त बिरोधसभालाई सम्बोधन गर्दै देजमो नेपालका केसस हिरामणि दुःखीले भने- ‘एमसिसि राष्ट्रिय हित बिपरित छ र यसका अदृश्य बुँदाहरूले भ्रम सृजना गरेको छ । इण्डोप्यासिफिक सैन्य रणनीतिकै अङ्ग यो एमसिसि भएकोले स्वाभिमानी नेपालीले यसका बिरूद्धमा सशक्त आवाज उठाउनुपर्ने र एमसिसि सम्झौता संसदबाट पारित गर्ने होइन यसलाई खारेज गरी स्वाभिमानी नेपालीका पक्षमा उभिन सम्पूणर् सांसदहरूलाई आग्रह गर्दछु । साथै देश बचाउन सबै स्वाभिमानी नेपाली जनता एक ढिक्का भएर उभिनु पर्ने आबस्यकता छ ।’ दुःखीले ‘नेपालमा यस अगाडिका वैदेशिक सहायता सिधै नेपाल सरकारका परराष्ट्र मन्त्रालय र विभागीय मन्त्रालयमा मात्रै सम्झौता गरेर लागु हुने गरेकोमा यसपटक यो एमसिसि परियोजना नेपालको संसदबाटै पास गर्नुपर्ने कारण किन पर्यो ?’ भनेर प्रश्न गर्दै ‘त्यसैकारण यो राष्ट्रको अहितमा छ’ भने ।
सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केस समिरले देशका शासकहरू अन्धा भएकोले सत्यतथ्य नबुझेर खाली साम्राज्यवादीको चाकरी गर्ने उदेश्यले एमसिसि सम्झौता संसदबाट पास गर्न खोजेको बताए । उनले एमसिसि पास गरेर देशलाई ठुलो द्वन्द्वमा धकेल्न खोजेको बताउँदै एमसिसि पास भएमा देशमा अशान्ति फैलने र ठुलो रक्तपात हुने भएकोले यसलाई रोक्न स्वाभिमानी नेपाली सङ्घर्षमा दरिलो सङ्ग उभिनुपर्ने र व्यापक दवाब सिर्जना गर्नुपर्ने बताए । सम्बोधनका क्रममा नेता समिरले भारतीय एसएसबिले तुइनको डोरी फुत्काइदिएर बेपत्ता पारिएका नेपाली नागरिक जयसिंह धामीको तत्काल खोजतलास गरियोस् र उक्त कार्यको घोर भत्र्सना गर्दै तत्काल सरकारले भारत समक्ष बिरोध पत्र पठाउनुपर्छ भने । समिरले राष्ट्रियता, जनतन्त्र र जनजिविकाका पक्षमा चालीस सूत्रीय माग राखेर महान् जनयुद्ध गरेका सबै नेता कार्यकर्ता नमरेको र उनीहरू साम्राज्यवाद र विस्तारवादका सामू लम्पसार परेर प्रचण्ड-बाबुराम-बादल मण्डलीले जस्तो आत्मसमर्पण नगरेकोले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि फेरि बन्दुक उठाउन तयार रहेको चेतावनी दिए ।
कार्यक्रममा अर्का वक्ता अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) दाङ देउखुरीका अध्यक्ष मनोज थापाले एमसिसि सम्झौताले राष्ट्र राष्ट्रियता खतरामा पर्ने कुरा राख्दै यसलाई तत्काल खारेजीको माग गरे ।
कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरीप्रसाद गैरेले गरेका थिए । सभामा नेकपा (क्रान्तिकारी माओवादी)का नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । देशैभरी राष्ट्रिय स्वाधीनताका पक्षमा आन्दोलन गर्दै आएको क्रान्तिकारी माओवादीले जनगणतन्त्र प्राप्तीको आन्दोलनमा सबै न्यायप्रेमी, देशभक्त जनतालाई सङ्घर्षमा जुट्न आह्वान गरेको छ ।