काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी सम्झौताको मुख्य उद्देश्य चीनलाई घेरा हाल्नु रहेको बताउनु भएको छ । चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्ने उद्देश्यले नै एमसीसी सम्झौता सदनबाट पास गराउन अमेरिकाले दबाब दिएको पनि अध्यक्ष बताउनु भयो । उहाँले एमसीसी पास भए नेपाल युद्धको अखडामा परिणत हुने र नेपालीहरुको हालत इराक र सिरियाको जस्तै हुने चेतावनी दिनुभयो ।
क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)को आयोजनामा भएको राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले भित्रभित्रै एमसीसी परियोजना पास गर्ने तयारी भइरहेको तर्फ संकेत गर्दै सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरुले एकताबद्ध भएर हरहालतमा पास गर्न नदिने स्थिति बनाउनुपर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो, ‘एमसीसी कार्यान्वयन भए हामी खरानी हुन्छौं, कुनै पनि हालतमा पास हुन दिनु हुँदैन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमसीसी चीन विरुद्ध लक्षित रहेकोले चीनले केही गर्ने हो कि भन्ने डरले मात्रै अहिलेसम्म पास हुन नसकेको दाबी गर्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरु भित्रभित्रै एमसीसी पास गर्न सहमत रहेको बताउनु भयो । संसदमा टेबल हुने वित्तिकै पास हुने स्थिति रहेको बताउँदै यो राष्ट्रघाती सम्झौता कार्यान्वयन हुन नदिन सबैले जोडदार रुपमा आवाज उठाउनुपर्नेमा जोड दिनु भयो ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सम्झौताभित्र रहेका राष्ट्रघाति प्रावधानहरुको बारेमा प्राविधिक विश्लेषण गर्नुभएको थियो ।
विप्लव नेकपाका सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग भएको र यो चीन विरोधी समेत रहेकोले यो सम्झौता खारेज गरिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माले)का स्थायी समिति सदस्य सुरेन्द्र ढकालले अमेरिका र भारतले चीनलाई विभाजन गर्न खोजेको र तिब्बतलाई फ्रि बनाएको २४ घण्टाभित्र नेपाललाई सिक्किम बनाउने डिजाइन रहेको दाबी गर्नुभयो ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले एमसीसी सम्झौता असाध्यै घातक रहेकोले यसलाई कुनै पनि हालतमा पास हुन दिन नहुने विचार राख्नुभयो ।
अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता तथा सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजरेलले गुर्नभएको थियो ।






























