
२१ श्रावण काठमाडौं ।
जापानले नेपाललाई सहयोगमा दिएको ८ लाख ४० हजार डोज खोप एक दुई दिनभित्रै नेपाल आउने भएको छ । जापानमा उत्पादन गरिएको अस्ट्राजेनेकाको १६ लाख डोज मध्य करिब आधा शुक्रबार र शनिबार गरेर दुई खेप नेपाल ल्याइने काठमाडौंस्थित जापानी दुतावासले जनाएको छ ।
दूतावासले बिहीबार र शुक्रबार दुई खेपमा कोभिड–१९ को खोप बोकेको जहाज नेपालका लागि उड्ने जनाएको छ । दूतावासका अनुसार खोपको पहिलो खेप शुक्रबार नेपाल आइपुग्ने छ।बाँकी आधा पछि आउने नेपालस्थित जापानी दूतावासले जनाएको छ ।
‘बाँकी खोप सम्बन्धित संस्थाहरूसँग समन्वयमा ल्याइने छ’ जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापानी राजदूत किकुताले जापानी कोभिड १९ को जारी खोप अभियानलाई तीव्रता दिने प्रयोग हुने अपेक्षा लिनु भएको छ ।’
दूतावासले यो महामारीको समयमा नेपाली जनतालाई जीवन रक्षाका लागि नेपाल सरकारले सञ्चालन गरेको अभियानमा जापानी साथ दिने स्पष्ट पारेको छ । विज्ञप्तिमा राजदूत किकुता युताका कोभिड पछिको नेपाली समाज र अर्थतन्त्रलाई अघि बढाउन मिलेर काम गर्न इच्छुक रहेको जनाइएको छ ।






























