सम्पर्क— सेतो कुकुर

सम्पर्क— सेतो कुकुर

हिजो थबाङबाट जलजला पहाड काटेर आएका थिए उनीहरू । जे गरे पनि सम्पर्कमा पुग्न सकेनन् । थकाइले लखतरान थिए, जेठमासको घामको मकै बिरुवाझैँ । राती सेतो कुकुर सम्पर्कमा पुग्न अझै पाँच घण्टा बढी हिँड्नुपथ्र्यो ।
आज भीरखोलाको गाउँमा बास बस्नु पर्‍यो ।
बिहानै तल गाउँतिर स्थिति केही शङ्कास्पद थियो । पारि कर्तमगाउँतिर कुकुरहरू जोड जोडले भुकिरहेका थिए । यता नम्लीगाउँतिर पनि मान्छेहरू लाखापाखा लागेका देखिन्थे । कोही घाँस काट्ने निहुँमा, कोही दाउरा बटुल्ने बाहनामा । मान्छेहरू एक दुई जना भएर फरक फरक बाटो गरी बनतिर हतारिरहेका देखिन्थे । त्यो हतारमा एउटा आतङ्क ब्याप्त थियो ।
“आज गाउँमा केही गडबड जस्तो छ ।”- एक जनाले शङ्का ब्यक्त गरे ।
“पुलिस अप्रेशन छ कि क्या हो ?”- अर्कोले थप्यो ।
“केही बुझेर मात्र जानु पर्ला ।”- दुबैको निचोड रह्यो ।
रुखका छायाँमा आफुलाई लुकाएर गाउँतिर आँखा गाडे । वारिपारिको डाँडातिर आँखा केन्द्रित गराए । घरआँगन, गोठटहरो, बाटाघाटा, पाखापखेरा, थुम्काथुम्की सबैतिर एक एक गरी चियाउँदै लगे, मृग ढुकेका शिकारीका आँखा बिछ्याए जसरी । केही देखिन्न ।
“ड्याङ… ड्याङ”- दुई फायर गहिरो आवाज सुनियो । यो आवाज राइफलकै हो- चिने, आवाजबाटै ।
उनीहरूको शङ्का प्रमाणित भयो । दुबिधा रहेन अब भने । गाउँमा पुलिस आएछन् । धुम्म थियो, बादल ओढेको आकाश । मौसमले भीरपाखा पनि चिसिएका जस्ता देखिन्थे । टाढा कतै भाले बासेका आवाज तीखो गरी कानमा ठोकियो । तल खोला पनि चिसा सास फेरेझैँ गरी सुसाउँछ- स्वाँऽऽऽ ।
“ला खतम…. सम्पर्कमा नपुगिने भो अब ।”
“तर जसरी पनि पुग्नै पर्छ । एकदमै इमर्जेन्सी चिट्ठी छ, चौबिस घण्टे ।”
“अनि आगोमा हामफाल्ने दुस्साहस गर्ने ?”
“उपाय आउला केही ।”
“कसरी ?”
“क्रान्तिकारीहरू अप्ठ्यारोमा पनि हतास हुँदैनन् ।”
मधुरो आवाजमा छलफल गरे दुबैले ।
नम्लीगाउँको माथिल्लो डाँडामा टड्कारो आवाज सुनियो ।
“ठोक् ठोक्… । साले भाग्यो भाग्यो ठोक् ।”
ड्याङ ड्याङ ड्याङ आवाज आयो । गाउँले पहिरनमा एक जना युवा कान्लेभीरमा हामफाल्दै डौडेको देखियो । काला बर्दीधारीहरू पिछा गर्दै राइफल पड्काउँदै लखेट्दै थिए । मृगलाई शिकारीले लखेटे जसरी कोही माथिबाट कोही तलबाट घेरा मार्दै पुलिसहरू जोड जोडले चिच्याइरहेका थिए । हावाको वेगमा ज्यानको प्रवाहै नगरी त्यो मान्छे फालहाल्दै दौडिरहेको थियो, मानौ कि त्यो कुनै जङ्गली जनावर हो ।
धन्न त्यो मान्छेलाई गोली लागेन । भीर छाँगा र खोल्सा नाघेर बन्दुकधारीहरूलाई धेरै पछि पारिदियो । वरको नेटो काटेर बन्दुकको नजरबाट अलप भइहाल्यो ।
आहारा नपाएका शिकारी कमिलाझैँ काला बर्दीधारीका लस्कर गाउँतिर सोझियो । केही बेरपछि ओझेल परेको गाउँबाट धुँवाको मुश्लो देखियो । कालो नीलो धुँवाको मुश्लो बटारिँदै आकाशको बादलसित मिसियो । यो धुँवा मानव वस्तीको कुनै घरमा आगो लगाइएको दावानलबाट निस्किएको थियो । एउटा ग्रिनेड बिष्फोटको आवाजले तल खोला हुँदै पारिका पखेरामा आतङ्क मिश्रित तरङ्ग फैलायो । स्वाईँय गर्दै जङ्गलका रुखहरू पनि सर्सराए । कुकुर भुक्न छाडे । भाले बास्न छाडे । महिला र केटाकेटीको चिच्याहट अझ भनुँ दुःखदपूणर् आर्तनाद जोडजोडले सुनियो । जङ्गलका चराचुरुङ्गी पनि गाउन छाडे ।
केही मुन्तिरको झाडीमा खास्य्राक खुस्रुक चाल सुनियो । त्यो मान्छेकै चाल प्रष्ट थियो ।
दुबै जना सतर्क भए । रुकस्याकको ग्रिनेड हातमा लिए । आफ्नो ज्यानलाई स्याउलासँग सेपेर लुकाए । वरपर हेरे । सशङ्कित भए । आपसमा आँखाहरूको साउती गरेर बोले- ‘के हो ?’ नियालेर हेरे । बुझे, कोही घाँस काटिरहेको थियो । चिने, मनमाली आमा पो रहेछिन् । अनुहार खुशीले उज्यालियो ।
ओहो ! ढुङ्गा खोज्दा देवतै मिल्यो । हराएको मृगपाठाले आमा पाउँदाको झैँ उत्साहित भए, पुलकित भए दुबै । मनको आक्रान्तता पनि कता भाग्यो भाग्यो ।
“उहीँ गएर बुझौँ”- कानेकुशी गरे दुबैले ।
केही नजिक पुगेर ढुङ्गाले सङ्केत गरे । त्रसित मनमाली झस्किइन् ।
उसै त बन्दुकको कर्कस आवाजले परिवेश आतङ्कित नै थियो । सन्त्रास ब्याप्त थियो, भिडन्त नजिकको गाउँ जस्तो । अथवा त्यो पारि डाँडामा भर्खरै लखेटिएका मान्छेको मन जस्तो । हत्केलाले सङ्केत गरे- “यता आऊ ।”
उनीहरूको बीचको दुरीमा टाढाबाट देखिने नाङ्गो भाग काटेर झाडीतिर आइन् ।
झाडीबीचमा चिलबाट त्रसित चल्ला जस्तै एकै ठाउँमा जम्मा भएर सुस्तरी बोल्न थाले ।
“आम्मै ! कताबाट आयौ बाबुहरू ?”
“जरुरी काम थियो । यतै रोकिनु पर्ने भयो आमा ।”
आमाले वरिपरि आँखा दौडाइन् । चारो टिप्न लागेका ढुक्कुर जसरी चनाखो भइन् ।
“आज नजाऊ बाबु नजाऊ… मारिहाल्छन् ।”- मनमाली आमैले सुझाइन् ।
“कोही साथीलाई समाए कि ?”
मनमाली आमै बोलिन्- “खै, त्यस्तो ता था पाइन” गाउँतिर आँखा फर्काउँदै बोलिन्- “बिहानै अँध्यारोमै गाउँ घेर्न आ’का थे, अघि भर्खरै गोली हान्दै लखेटेका थे’ नि, त्यो ता सहरको क्याम्पस पढ्ने माझघरे माइलाका छोरा हुन् । अस्तिको दिन आ’का थे, गाउँमा नयाँ मान्छे देखिनै हुन्न… कस्ता राक्षसहरू ।”
मनमालीका आँखामा अब सन्त्रास भन्दा पनि आक्रोश मडारिएको थियो । भर्खरै गाउँबाट छुटेको धुँवा भन्दा पनि गाढा आक्रोश ।
पारिको गाउँमा कुकुर जोडजोडले भुक्न थाल्यो । केहीबेरपछि काईँकाईँ गर्दै कुकुरले दर्द र त्रासको आवाज निकाल्यो । लाग्यो, मान्छे रूपका कुकुरले अर्को कुकुरलाई झम्टिरहेछ ।
ढोका फोडिएको जस्तो आवाज पनि आयो । भाँडाकुँडी फाल्दा आएको खत्ल्याङ् खुत्लुङ आवाज पनि कानमा ठोकियो । सबले सास रोकेर त्यो आवाज सुनिरहे । दाँत किट्छन् । मुट्ठी कस्सिन्छ । मानौँ भर्खरै जलाइएको घरको दावानल छातीभित्रबाट ओकलिहेछन् ।
“बाबुहरूलाई भोक लाग्यो होला”- मनमालीले गादोबाट केही पोका खोलिन् र भुटेको मकैको खाजा हातमा राखिन्- “खाऊ बाबु ।”
दुबैले खाए, कुरुम कुरुम । यस्तो बेला खाजा पनि रुचेन । मुखबाट खाजा चपाएर भिजाउने रस नै आएन । छिरेन घाँटीदेखि तल । पोका खल्तीमा कोचे । र, भने- “आमै, डिएचक्यु आज नपुर्‍याई नहुने जरुरी पत्र छ, के गर्ने होला ?”
सोँचमग्न देखिइन् आमा । निधार खुम्चाइन् मानौँ अगाडि कोही छैनन् । भर्खरै चेत खुलेको मान्छेलेझैँ निधारको गाँठो फुकाइन् र भनिन्- “चिन्ता नलेऊ बाबु” अझ उत्साहित भइन्, केही सङ्कोच मिसाएर बोलिन्- “सुर्ता मान्दैनौ भने त्यो पत्र मलाई देऊ … म गर्न सक्छु त्यो काम ।”
“हँ !”- एकापसमा मुखाकृति दुश्यापान गरेपछि एउटाले भने- “के को सुर्ता लिनु ? तपाईलाई केही जोखिम हुन्छ भनेर…।”
“केको जोखिम ?” मनमाली आमा बीचैमा काटेर बोलिन्- “हामी दुरगाउँका मान्छे राज्यको बन्दुकमुनि त्यसै पनि जोखिममा छम् नि, अइले मारिने कि भोलि मारिने । देखेनौ र अघि भर्खरै त्यो निर्दोष स्कुलेलाई त्यस्तरी लखेटेका । यसै मर्ने उसै मर्ने, काम गरेरै मर्ने नि । पत्र देऊ मलाई, तिमरू भन्दा सजिलै काम गर्न सक्छु म ।”
पारि गाउँको धुँवा पुट्याउन छाडेको थियो । मनमालीको आन्तरिक दृश्यमा धुँवा अझै पुत्ताइरहेथ्यो । मान्छे फालहाल्दै दौडिरहेथ्यो । पछि पछि बन्दुक हान्दै पुलिस अझै दौडिरहेझैँ लाग्यो ।
धेरै बेरसम्म योजनाबारे छलफल चल्यो । योजना मुताबिक मनमालीको हातमा पत्र थमाइयो ।
“यो डिएचक्युको पत्र हो, आज राती जसरी पनि सेतो कुकुर सम्पर्कमा पुर्‍याइदिनु होला । एकदमै सुरक्षित है आमा ।”
मान्छेका नाउँ, ठाउँका नाउँ, हिँडने बाटा, भेट्ने सेल्टर, कामका तरिका- सबै कोर्ड भाषामा थिए । सेल्टरमा भएको सेतो कुकुरको रङ्गबाट त्यो सेल्टरको नामाकरण गरिएको थियो । त्यो खोलाबाङको गाउँ, जहाँबाट तल माडीखोला तरेर पारि घापागाउँ अनि उतै कतै जानुपथ्र्यो डिएचक्यु जान ।
“चिन्ता नलेऊ” मनमालीले बाचा दिइन्- “बरु मेरो ज्यान जाला, यो कागज दुष्टहरूको हातमा पर्न दिन्नँ म, तिमरू ढुक्क भएर फर्किनु ।”
आपतको बादलले घेरिएका दुई युवाका अनुहारमा कृतज्ञताको मुस्कान कोरियो । मनमनै भने- ‘धन्य आमा, धन्य जनता, महान् जनता ।’
छुट्नेबेला मनमालीका आँखा एक पटक त्राहिमाम बनेको गाउँतिर घुमे । फेरि दुई युवातिर फर्केर मुस्कुराइन्- “निर्धक्क होऔ, काम बन्छ, बरु तिमरू निकै ख्याल राखेर फर्किनु । लौ छुट्टिम् अब, धेरैबेर बस्नु ठीक छैन ।”- मनमालीले सासै सासमा भनिन् ।
ती युवा माथिको डाँडाबाट ओझेल नपरुञ्जेलसम्म मनमालीले हेरिराखिन् । त्यसपछि घाँसको भारी कसिन् र गाउँतिरको बाटो समाइन् ।
गाउँ छिर्ने गौँडामा पुलिसहरू जम्मा भएका देखिए । सिनो लुछेर घाम तापिरहेका गिद्धहरूझैँ झुम्म परेका थिए । एक जनाले सोध्यो- “एइ बुढी कताबाट आइस् ?”
पुलिसको बेतुकको सवाल । घाँसको भारी देख्दा देख्दै पनि ।
“घाँस काटिकन ।”- निडर तर स्वाभाबिकतामा बोलिन् ।
“आतङ्ककारीलाई खाना त पुराइनस् ।”
“आफ्नै पेट भर्न त पुग्दैन, काँ अरूलाई खाना दिनु ?”
“उतातिर कोइलाई देखेनस ?”
“अहँ ।”
“अघि रगत चुहाउँदै दौडेको केटा कतै मरेको त देखेनौ”- अर्को पुलिसले थप्यो ।
“अहँ ।”
“साले बाँच्न त बाँच्दैन त्यो, दुदुई गोली खाको छ, त्यतै कतै खोल्सामा ढलेछ होला ।”
मनमालीको मन चिसियो । तर अनुहारमा केही सङ्केत समेत देखाइनन् ।
“भारी बसाल ।”- फेरि अर्को बन्दुकधारी बन्दुक सोझाउँदै बोल्यो ।
“गाईलाई कुँडो पकाउन हतार छ ।”
“बसाल भन्या”- अलि च्याँट्ठिएर बोल्यो- “भनेको मान्दैनौ ?”
मनमालीले बाटोको भितामा भारी बसालिन् र अनुहारको पसिना रुमालले पुछेर खुईँय थकाईको सास फेरिन् । यो अशिष्टता र अपमान सुन्न उनी अभ्यस्त थिइन् ।
“खै हात उठा”- बन्दुकधारी बन्दुककै भाषामा बोल्यो । शरीरभरि खानतलासी लियो । काखी, कुम, गादोभित्र, सानो झोला, अगाडिबाट पछाडिबाट सबैतिर छामे । पटुकी पनि छामे तर पटुकीभित्रको पेटिकोटको डोरीमा बाँधिएको सानो कागज छामिएन । तलासकारी पुलिस हाकिमको अघि गएर तनक्क तन्कियो- “केई छैन सा’प ।”
“केही छैन ? घाँसको भारी हेर ।”- दोस्रो आदेश ।
डोरीले कसक्क बाँधिएको घाँसको भारी फुकाउन लगाइयो । ओल्ट्याई पल्ट्याई घाँसको मुठा मुठा हेरियो । मनमालीलाई भित्र भित्रै रिसको पारो चढ्यो । तर शान्त र स्थिर भइन् । मुखभरि आएको गाली पनि मनमै रोकिन् ।
दिनभरि अप्रेशनी बुटमुनि गाउँ सन्त्रस्त भई बस्यो । अनि साधारण गाउँले मनका दिन पनि । त्यस दिन साँच्चै नम्लीगाउँ अप्रेशनभित्र कैद थियो । मान्छेका त कुरै छाडौँ मानौँ हावा पनि पुलिसको आदेशमा बहनु पथ्र्यो । साँझ थुर्पालेकमाथि घाम रातो भइसक्यो । धापालधुरीको छायाँमा नम्लीगाउँ अघि नै छोपिएको थियो । पारि गोलबाङमाथिको ह्वामाधुरीमा रातो घाम भाग्ने हतारमा थियो । तर पुलिस भागेनन् गाउँबाट । जङ्कोट जाने बाटोमा क्याम्प खडा थियो ।
“जसरी नि जानै पर्छ ।”- मनमालीले दृढ अठोट गरिन् । हातमा एउटा बोरा उठाइन् । क्रुसले बुनेको ऊनको फूलबुट्टेझोला भिरिन् । सरासर बाटो लागिन्, त्यही बाटो- जहाँ पुलिस तैनाथ थिए ।
केरकारका धेरै असान्दर्भिक प्रश्नले घेरिइन् । पुलिसलाई सहज र स्वाभाबिक जवाफ दिइन् । “जङ्कोट पसलमा तेल लिन जानु छ ।” कडा खानतलासी पछि उनलाई छाडे । सरासर पाइला चालिन्, बाटै बाटो । हाङ्गाको (भीर) बाटोलाई एकैसासमा पाइलामा गाभिन् । अँध्यारो हुनु बाँकी रहेकोले फुपाज्युको घरमा अल्मलिइन् । झिसमिसे हुनाबितिकै त्यहाँबाट पनि बाटो लागिन् । केही पर झमक्कै अँध्यारो भयो । बनहरगाउँमा कल्याङबल्याङ चर्को थियो । मनमालीले चिनिन् । त्यो कोलाहल पुलिसहरूकै हो । जङ्कोट डाँडामा टर्चका लामा लामा प्रकाशले रातलाई छेडिरहेको थियो । उनलाई थाहा थियो, त्यो पनि पुलिसहरूकै अप्रेशन हो ।
सिँगो परिबेश त्रासभित्र बाँधिएको थियो । वरपरको वाताबरण रातभित्र ग्वाम्लाङ्ग छोपिएको थियो । आकाशका तारा बादलले छोपिएका थिए, आतङ्कले छोपिएको गाउँजस्तै । फाट्टफुट्ट पानीका थोपा खस्न थाल्यो । औधी चिसो थियो मौसम । एक हात अगाडिको वस्तु नदेखिने चुक पोखिएझैँ अँध्यारो रातमा मनमालीले छामछुम छामछुम गर्दै पाइला चाल्न थालिन् । उनले आफ्नो मनको माली आफैलाई सम्झेर मुटु दह्रो पारिन् । मुलबाटो छाडेर टासीबाङ् बनको बाटो भएर माथि ओङ्बाङ् छेडा निस्कने योजना तय गरिन् ।
भूगोलको रूपरेखा उनको दिमागमा प्रष्ट उभियो, त्यो अँध्यारोको समयमा पनि । “त्यो ओङ्बाङ् छेडा काटेपछि फेरि उतापट्टि ओह्रालो, खनियाँको बोट, अझ तल खरेनी, बनमारा अगाडिको खोल्सा, अनि थोरै बायाँतिर लागेपछि चिउरी रुखनिर त हो सेतो कुकुर सम्पर्क ।”- मनमनै सोँचिन् । बिरालोको चालमा अगाडि बढिन् । एकपटक काखीमा च्यापिएको पत्रलाई पनि छामिन् । निर्धक्क भइन्- “ठीकै छ ।”
हातखुट्टा टेकेर सुस्तरी ओङ्बाङ छेडा नजिकै पुगिन् । अगाडिको अवस्था बुझ्न करिब पाँच मिनेटजति त्यहीँ बसिरहिन् । आफुलाई जमिनमा सुताएर मूलबाटो र वरिपपरिको भूगोललाई क्षितिजमा पारेर स्थिति बुझिन्- केही गतिबिधि देखिन्छ कि भनेर । शिपालु शिकारीझैँ वरपरको ठाउँमा कान बिछ्याईन् । केही छैन भन्ने निक्र्यौल गरेपछि माथिल्लो भितामा सेपिएर बाटो काटिन् । पल्लोपट्टि पुुगेर फेरि पछाडि फर्किइन् र जाँच गरिन्, कोही पिछा गर्छ कि भनेर । पन्ध्र बीस पाइला तल पुगेपछि लामो सास फेरिन्, ढुक्कताको सास ।
तल माडीखोला गाउँको आतङ्कलाई चिरेर स्वाँ गरी सुसायो । खोलाबाट आएको चिसो हावाले मनमालीको शरीरमा ताजापन भरिदियो । परको धापाल भीरमा घोरलहरू स्याक स्याक गर्न थाले ।
निछाम्मै अँध्यारो । बाटोको एक धर्सो समेत पनि देखिन्न । मनमाली अभ्यस्त थिइन् बाटोसँग । हात खुट्टाको चालले सब ठम्याउन सक्थिन् । यहाँनेर बुटा छ । खाल्डो छ । त्यसपछि घुम्ती । छाँगानेर ठुलो ढुङ्गा । ओरालै ओरालोपछि अलिक तेर्सो । सब थाहा छ उनलाई ।
बारी कुनाको भित्ता पखेरामा पहिलो स्याल करायो । त्यसपछि सबैतिर कराउन थाले । मनमालीलाई यस बेला ती स्याल पनि साथीझैँ लाग्यो । जङ्कोट डाँडामा एक फायर राइफल पड्क्यो । चकमन्न रातमा सारा भूखण्डभरि सोरर्र आवाज प्रतिध्वनित भएर मनमालीको अगाडि आतङ्क भुक्न थाल्यो । उनलाई नटोक्ने कुकुर भुकेजस्तै लाग्यो । ‘पुलिस यता छैनन् र त बन्दुकले उपस्थिति जनाइरहेछन्’- मनमनै भनिन् । बेहिचक अगाडि बढिन् ।
करिब पौने घण्टापछि घर नजिक पुगिन् । ‘यहीँ त हो सेतो कुकुर सम्पर्क’ आफुले आफैलाई भनिन् । पुलिसका मान्छे घर ढुकेर बस्न सक्छन् भनेर दश मिनेट जति वरपर नियालेर बसिन् । कान थापिन् । केही नभएको निक्र्यौल गरेपछि सदाझैँ घर पछाडिको खटप्वालको डोरी तानिन् । जुन डोरीबाट शिरानीको लोटामा घण्टी बज्ने ब्यवस्था मिलाइएको हुन्थ्यो । त्यसपछि सम्पर्कसूत्रका परिचित र सम्बन्धित मान्छे आयो भन्ने अवस्था बुझिन्थ्यो । खात्राकु खुत्रुक बज्यो । भित्र कोही उठे । सेतो कुकुर एक पटक मात्र भुकेर नजिक आयो । कुकुरले गन्धबाटै आफ्नै मान्छे चिन्यो । पुच्छर हल्लाउँदै मनमालीलाई चाटेर अपनत्व जनाउन थाल्यो, मानौँ यस्तो बेला कसरी आयौ भनिरहेछ ।
“आबुई !… कसरी आउनुभो बज्यै ?”-ढोका खोल्दै सान्नानीले भनिन् ।
“डिएच क्यु लाने चिट्ठी… ।”- मनमाली सासै सासमा बोलिन् ।
कानेकुशीमा छोँटो भलाकुसारी चल्यो । पानी पर्न अलि बाकलिँदै गयो ।
“अङ्कलहरू पर कोटल भीरमुनिको ओडारमा छन्, कोही आए त्यहाँ ल्याउनु भन्याछन् ।”
“जाम् जाम् अहिल्यै पुगम् त्यहाँ ।”
कोटल भीरमुनिको ओडार जाने बाटोमा छामछुम छामछुम गरेर पाइला चाल्दै दुबै जना हतारिए ।
१५ चैत्र २०७६
शितलादेवी, पोखरा कास्की ।