दुःख छन्, दुःख यी झेल्ने धीरता गाँस ए प्रिया
झिल्का छन्, क्रान्ति भै जाग्लान्, आसले हाँस ए प्रिया
पार पाइन्न भागेर, सामना गर्नु नै छ यो
दुःख यो कति हो भोग्ने !अबता अति नै भयो
छैनन् मन्दिरमा द्यौता, छैनन् ती मूर्तिमा पनि
यो अत्याचार के हुन्थ्यो देवता त्यैँ थियो भनी
चर्च मस्जिद गुम्बामा पनि भेटिन्न ईश्वर
हो त्यतै धाउनेको नै पीडा कम्ती कहाँ छ र !
आफ्नै पौरखले मान्छे सके बाँच नभा मर
देख्दैनन् दैवले आफ्नो बन्दोबस्त स्वयम् गर
निभ्न आँट्यो नठोस्नाले अगुल्टो नै बरा भयो
घातकी पातकीले नै जरा गाड्ने धरा भयो
निर्धामाथि नियाँ हुन्न धनीका तजबीजले
न्याय निम्ति सधैँ जागी आँटले युक्तिले चले
































