पाख्रिन दाइसँगका बसउठ

संस्मरण

प्रकाशित मिति : २०७८ श्रावण २

- मोदनाथ मरहट्टा

भोट माग्ने अभियानमा खैरहनीको वस्तितिर चुनावी पर्चा बाँड्दै थियौं । भाइ अमृत चपाइँले दुःखद खबर सुनबउ– ‘खुशीराम पाख्रिन दाइ गीत गाउँदै ढलेछन् ।’ मान्यताहरू फरक भएपछि अभियान, योजनाहरू पनि फरक हुँदा रहेछन् । खुशीराम दाइ प्रचण्डको चुनावी सभामा भोट माग्ने अभियानमा गीत सङ्गीत सुनाउँदै गर्दा ढलेर अस्पताल लगिएछन् । साँझ उनको निधन भएछ । खबर सुनेर मन अमिलो भयो ।

भोलिपल्टको चुनावी अभियान छोट्याएर बिहानै म कृष्णपुर पुगेँ । कृष्णपुरको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि म आफ्नै कामतिर फर्किएँ । दाइसँग जोडिएका इतिहासका ती उत्साहपूर्ण दिनले मलाई दिएको उर्जा र वर्तमानलाई तुलना गरेँ, कति फरक पर्दो रहेछ आवद्धताले अन्तरसम्बन्धमा ! सो कुरा दाइको शोकसभामा अनुभुत गरेको थिएँ । हिजो एउटै सङ्गठनमा रहँदाको अवस्था र आज फरक सङ्गठनको नाताले उपस्थित हुँदा आनतानको अनुभूति गरेको छु । सायद त्यो बेला कतिपय मित्रहरूलाई लाग्यो पनि होला गोरखाको एउटा कूनाको माष्टर खुशीराम सित के सम्बन्ध होला । तर खुशीराम दाइसित त्यो भावना थिएन र म जस्तो भुइँतहको फुच्चे सांस्कृतिककर्मीलाई नजोडौँ । विषयहरू अलि गहिरा पनि छन् ।

म गोरखाकै बासिन्दा हुँ र जन्मका हिसाबले खुशीराम दाइ गोरखाली नै हुन् । साथै उनी गीत सङ्गीत नृत्य समेतको ज्ञाता र सङ्गठक भएका कारण म पनि जोडिने र सिक्ने अवसर पाएको थिएँ । २०३८ को हिँउदमा खुशीराम पाख्रिन र कोमल धितालको एउटा टीम गोरखा पुगेको थियो । ‘गैँती बेल्चा उचालेर’ बोलको गीत पहिलो पटक मैले सुनेको थिएँ । त्यसै गीतबाट ममा उनीप्रतिको एउटा धारणा बनेको थियो । त्यसपछिका दिनहरूमा आक्कल झुक्कल च्याङ्ली, गाइखुर, हर्मीतिर हुने गीति कार्यक्रममा सहभागी हुँदै रहन्थ्यो ।

२०४८ पछि म गोरखा जिल्लाको जनसांस्कृतिक सङ्घको सचिव बनेपछि भने गोरखामा हुने प्राय सबै कार्यक्रममा मेरो सहभागीता रहन थाल्यो । खुशीराम दाइको सङ्गत र प्रशिक्षणले गोरखामा सांस्कृतिक कर्मीहरूको विशाल सहभागीता रह्यो । ‘भ्याली सांस्कृतिक टिम’बाट शिव श्रेष्ठ, हरिश्चन्द्र श्रेष्ठहरू गोरखा आएपछि खुशीराम दाइकै उपस्थितिमा ‘अभियान सांस्कृतिक परिवार’ गठन गरियो । जसमा शिव श्रेष्ठ, हरिश्चन्द्र श्रेष्ठ, कौशिला गुरुङ, भरत खनाल, शान्ति श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

२०५० पुसमा किसान जागरण अभियानसँगै सांस्कृतिक टिमले जिल्लाका केही ठाउँहरूमा गीति कार्यक्रमको योजना पार्टीले तयार गर्‍यो । पार्टीले जनयुद्धको थालनी गर्नु पूर्व स्थानीय कलाकारहरूलाई प्रशिक्षित र सङ्गठित गर्न आवश्यक ठान्यो । म आक्कल झुक्कल गाउँमा हुने सांस्कृतिक कार्यक्रमहरूमा मादल बजाउने र गीत गाउने गर्दथेँ । अर्कोतर्फ सांस्कृतिक सङ्गठनको जिल्ला सचिव हुनुको नाताले तात्कालिक पार्टी जिल्ला सेक्रेटरी सुरेश वाग्ले (क.वासु)ले मलाई केही समय विदा लिएर टोलीसँगै अभियानमा जोडिन निर्देशन गर्नु भयो । म एक हप्ताको छुट्टी लिएर गोरखाको बतासे पुगेँ । सांस्कृतिक टोलीमा कौशिला गुरुङ, चुनु गुरुङ, शारदा श्रेष्ठ, वर्षा गजमेर अन्जान विरही लगायत हुनुहुन्थ्यो । बतासेबाट शुरु भएको अभियान नामजुङ्ग, वुङ्गकोट, अश्राङ, देउराली ताप्ले, बगुवा हुँदै तान्द्राङको काउले पुगियो । म सोही गाउँमा शिक्षण गर्थें । तान्द्राङमा एक हप्ते प्रशिक्षण भयो र स्थानीय कलाकारहरूको इकाइ निर्माण गरियो । ‘योद्धा सांस्कृतिक परिवार’ नाउँको । सो इकाइका पाँच जना बहिनीहरू मातृका धिताल, विमला पोखरेल, रिता बञ्जरा, रिता लामिछाने, कल्पना बञ्जराहरू त जनयुद्धमा सहिद भए । यिनीहरू मेरा विद्यार्थीहरू पनि थिए । तान्द्राङदेखि टोली गोरखाको पश्चिमी क्षेत्र मोडियो । टोलीले देउराली, च्याङली, भिरकोट, गाइखुर लगायतका गाउँमा कार्यक्रम सञ्चालन गर्‍यो । त्यति बेलासम्म उमा भुजेल र पम्फा कुमाल पनि सांस्कृतिक टीममा जोडिन आए । हर्मी छोप्राक गाँख, पाल्खु, नारेश्वर हुँदै टीम सदरमुकाम भित्रियो । सदरमुकाममा सातदिने प्रशिक्षणपछि हामीले टिकटमा कार्यक्रम प्रदर्शन गर्‍यौँ । त्यो यति भव्य रह्यो कि जिल्लाको ठूलो भनिएको गोरखकाली चलचित्र घरले दर्शक थेग्न सकेन । पाख्रिन गीत सङ्गीतमा मात्र होइन अभिनयका पनि प्रशिक्षक थिए । उनका कतिपय गीतमा नृत्य होइन अभिनय प्रधानका हुन्थे । एक पटक गोरखाको ताप्लेको कालिका प्रा.वि.को आँगनमा सांस्कृतिक कार्यक्रम हुँदै थियो । गोरखा बजारबाट भारी बोकेर खारचोक हिँडेका भरियाहरू त्यहीँको चौतारोमा भारी बिसाएर बास बसेका थिए । ‘अर्काको भारी बोकेर हामी’ बोलको गीतमा गीति नृत्य चल्दै थियो । गीतका शब्द र भाव सामान्य जनताले सजिलै बुझ्ने खालका थिए जस्तो कि–
चाडपर्व आउँदा त्यो बूढो बाउलाई एक पेट खुवाउन,
इज्जत ढाक्ने एक टालो आङमा जहानलाई पुर्‍याउन
अफ्ठेरो बाटो ग्रहुङ्गो भारी जोगाउँदै बिसाउँदै
सहेर कष्ट हजारौं दुःख रुँदै मन बुझाउँदै
पौवामा बिसाइ फुक्नु छ आगो बेलुकी साँझमा
घरलाई सम्झी विषालु काँढा मुटुको माझमा ।
सिकारुको अभिनयमा यी शब्दले दर्शक बनेका भरियाहरू भलभली रोए । पाख्रिनका गीतहरू वर्गबोधी थिए । स्वरको मिठास सङ्गीतको लालित्य र शब्दहरूको संयोजनले श्रोता र दर्शकहरू प्रवाभित हुन्थे । भुमिहीन किसानहरूका पीडाबोधी गीतहरू साँच्चै मार्मिक थिए ।
आज भोली बेलटारीमा बेलुका सँधै गुमानेले सनाइ बजाउँछ,
कतिसारो उराठ लाग्दो बिरहको भाकाले मनै रुवाउँछ

‘कालो वनको बीचैमा खेतालाको गाउँ’ बोलको गीतभित्र पस्दा सुकुमवासी वस्ति, उनीहरूका पारिवारिक दुर्दशा र राज्यको चरित्र स्पष्ट चित्रण गरिएका कालजयी गीत हुन् ।

गोरखा बजारमा सांस्कृतिक प्रशिक्षण चलिरहेको थियो । कहिले काँही म अन्तरङ्ग कुरा गर्थें – ‘दाइ गीतमा शब्दको छनौट कसरी गर्नु हुन्छ ?’ ‘हाम्रो कला सामान्य जनताका लागि हो, त्यसैले जन भाषाका सरल शब्दको प्रयोग गर्नु पर्छ ।’ दाइको जवाफ थियो ।

खुशीरामका धेरै गीतहरू लोकलयमा आधारित हुन्थे । विचार चेतनाले उच्च तर सरल शब्दमा उनका अधिकांश गीत रचिन्थे ।
विस्तारवादी भारतको नीति विगार्दैछ सबैको स्थिति
फाट्यो क्यारे गान्धी जीको शान्ति प्रिय जामा
सैनिक प्रभाव फैलँदै छ दक्षिण एशियामा
स्वतन्त्र अस्तित्वलाई देख्नै नसकेको
अङ्ग्रेजपछि बाच्छो मिच्ने साँढे आफैं भाको
सामयिक स्थितिको प्रतिबिम्बन हुने खालका गीत रच्नु पाख्रिनको विशेषता थियो । २०४८ पछि गोरखामा सञ्चालित गीति साँझहरूमा अक्सर म उपस्थित हुने हुँदा म अलि बढी झ्याम्मिएको पनि थिएँ । सायद त्यै लाड प्यार पाएर होला दाइको कार्यक्रममा म मादल भिरेर तम्सन्थे । शिव श्रेष्ठ सारङगीमा हुन्थे भने खुशीराम सङ्गीत अनुसार हार्मोनियम, गीतार वा पियानोसँग हुन्थे । युगल गायनमा शारदा, चुनु र कौशिलाको साथ हुन्थ्यो । दाइको एकल गायनमा कुनै कुनै बेला मादलको तालमा म लट्पटिन्थेँ तर तुरुन्तै सचिन्थे गीत सकिए पछि दाइले भन्थे– ‘बाहुन बिग्रेको’ ! खुशीरामको गीत सङ्गीतले थुप्रै युवा युवतीले माओवादी अभियानमा आफूलाई उठाए । गोरखालीको हकमा पनि यो मान्यता लागु भयो । जुन जुन गाउँमा कार्यक्रम हुन्थे ती ती गाउँबाट कलाकारहरू निस्कन्थे र ती कलाकारलाई वैचारिक प्रशिक्षण दिने काम क.वासु र क. श्याम (सुरेश वाग्ले, श्रीनाथ अधिकारी) बाट हुन्थ्यो । गोरखा जिल्लाकै बिबरणमा पनि डेढ दर्जन भन्दा बढी कलाकारहरूले शाहदत प्राप्त गरे ।

जनयुद्धले घनिभूत गति लिंदै गएपछि भने मेरो व्यक्तिगत सम्बन्ध पाख्रिन दाइसित भएन । उनी माओवादी जनयुद्धको सांस्कृतिक मोर्चाको केन्द्रमा सामना परिवारको रूपमा परिचालित भए । २०६३ को शान्ति प्रकृयापछि २०४६ मा भएको जनसांस्कृतिक सङ्घको किर्तिपुर सम्मेलनमा उस्तै र उनै पाख्रिन दाई भेटिए र भने – बाहुन सन्चै छ ।

त्यसपछि दाइ संविधान सभा सदस्य भए । म चितवनको बसाइ भएर पनि गोरखाली नै थिएँ । कृष्णपुरको पार्टी कार्यालय अघिको हलमा हामीले शारदा स्मृति प्रतिष्ठानको गठन गर्‍यौँ । त्यो प्रतिष्ठानको अक्षय कोषका लागि पाख्रिनको तर्फबाट रु. दुई लाख निकाशा भएको व्यहोरा मेरो जानकारीमा छ । त्यो दुई लाख मध्ये एक लाख शारदा स्मृति कोषमा र अर्को एक लाख उनका शहीद पुत्र दोर्जेको नाउमा कोष स्थापना होस् भन्ने उनको चाहना थियो । पछिल्लो एक लाख कहाँ सञ्चित छ वा कुनै सङ्घ, संस्था, व्यक्ति आश्रित छ यो अन्यौल नै छ । यसबारे खोजी गरिनु पर्छ भन्ने ठान्दछु ।

नेपाली कम्युनिस्ट आन्दोलनमा लाइन सङ्घर्ष पेचिलो बनेर आएको छ । जनयुद्धमा रगत पसिना बगाएर खडा भएको सङ्गठन २०६९ मा फुट्यो । पाख्रिन दाइले तत्कालका लागि ने.क.पा.– माओवादीमा आफूलाई उभ्याउनु भयो । हाम्रो कम्युनिस्ट आन्दोलनमा एउटा महारोग के छ भने इतिहासमा उसको योगदानतिर होइन वर्तमानको आवद्धतातिर मात्र साखुल्ले भइन्छ । एउटा तीतो यथार्थ यो आलेखमा उल्लेख गर्न सान्दर्भिक ठान्दछु ।

शारदा घरदैलोको एउटा सृङ्खला मंगलपुर आसपासको वन समितिको सह–आयोजनामा चलेको थियो र सो कार्यक्रममा पाख्रिनको पनि उपस्थिति थियो । कार्यक्रम सुरु भयो । खास खास मानिसलाई मञ्चमा लगियो तर पाख्रिनबारे साथीहरूले वा त्यतिबेलाको जिल्ला पार्टीले चासो लिएन । कार्यक्रम सुरु भएको डेढ दुई घण्टापछि दाइ बाहिर निस्किए र मलाइ फोन गरे– शारदाको कार्यक्रम छोड्न सकिन र आएँ तर अपमान बोध भयो निस्किएँ । यो बिषयले मलाई गम्भिर बनायो पाख्रिन बिनाको शारदा हुन्थिन कि हुन्नथिन ?

पछिल्लो चरणमा दाइले आफुलाई परिवर्तन गरे पनि अग्रगामी गीत सङ्गीत र समाजको परिकल्पना गर्दा गर्दै अस्ताए । नेपाली जनवादी आन्दोलनले एउटा होनाहार प्रतिभाको क्षति गर्‍यो ।

माओवादी आन्दोलनबारे कतिपय नेतृत्व र नेताहरूमाथि परिवारलाई राजनीतिकरण नगरेको भन्ने प्रश्न उठेका छन् तर पाख्रिन दाइको परिवारबाट छोरा दोर्जेले शाहदत प्राप्त गरेका छन् ।

पाख्रिन दाइकाअनुसार २०१३ सालमा नाङ्गा पैताला गोरखाको बलाङबाट चितवन झरेको यो परिवार र खुशीरामले चाहेको भए चितवनमा बीसौ विघा जमिन जोड्न सक्थे । उनको कला र गला पञ्चायती शासकको स्तुतिमा लगाएका भए पुरस्कार मान सम्मानको भारी बोक्ने थिए तर उनले थिचिएका पिल्सिएका निमुखाहरूको चेतना सङ्गठन र विद्रोहमा उतार्नु नै आफ्नो जीवनको श्रेय ठाने । यही नै नेपाली जनताको लागि ठूलो योगदान भयो ।