
आयु पुगेछ झरौं भनेर
तारा झरेका छैनन् ,
मरे भनेको हल्ला रैछ
उनी मरेका छैनन् ,
बसिरहेछन् एतै कतै
इच्छुक मरेका छैनन् !
लेखिरहेछन् गीत कविता
अल्छि गरेका छैनन्,
अविचल छन् अठोटमा
बसाइँ सरेका छैनन् ,
कसले भन्यो मरे भनेर
उनी मरेका छैनन् ,
अजर अमर छन् सँधै सँधै
इच्छुक मरेका छैनन् !
कविहरूका हृदयभरि
कविता बनेर बस्छन् ती,
दु:खीहरूका नयनबाट
आसु बनेर खस्छन् ती,
कविताभरि सँधैभरि
आगो बनेर पस्छन् ती,
अरिहरूका शरीरमा
तक्षक बनेर डस्छन् ती !
लड्न डरेर दु:खसँग
खोला तरेका छैनन् !
कसले भने मरे उनी
इच्छुक मरेका छैनन् !!
मजदूरहरूका जुलुसमा
नारा बनेर हिड्छन् ती,
हर समरका सकसहरूमा
योध्दा बनेर भिड्छन् ती,
नानीहरूका मुहारमा
मुस्कान् बनेर फुल्छन् ती,
उठ जुट लड भनेर
बस्तीहरूमा डुल्छन् ती !
झुक्ने ढुक्ने भुक्नेतिर
मनै गरेका छैनन् !
गाउँभरि छन् सहर भरि छन्
इच्छुक मरेका छैनन् !!
आऊ कवि गीतकारहरू
इच्छुक रचेर वाँचौं,
आऊ मजदूर किसानहरू
इच्छुक लडेर वाँचौं,
आऊ वुध्दिजीवीहरू हो
इच्छुक–आदर्श वाँचौं,
आऊ समरका यात्रीहरू
इच्छुक उद्देश्य वाँचौं !
गगनभरि छन् ताराहरू
भूइँमा झरेका छैनन् !
अजम्मरी हुन् यथार्थमा
इच्छुक मरेका छैनन् !!
२०७८/०३/३०
माइतीघर






























