
डराउँछन् मानिसहरू मदेखि
पर पर हुन्छन्
हुन त म परै छु शक्तिदेखि
म त परै छु सुखदेखि
सदा लडिरहने जुधिरहने अभावहरूसँग
भोक र शोकसँग
न त सत्ताको लगाम नै छ मसँग
न त पैसाको खात नै छ मसँग
सत्ता र पैसाको देशमा
विना पैसाको, विना शस्त्रको योद्धा म
फेरि पनि डराउँछन्
टाढा हुन्छन् मबाट उनीहरू
सडकमा डुल्ने मेरो ठेला र तरकारी
मेरो जीवन बचाउने अस्त्र हो
म यसकै भरमा बाँचेको छु
मेरो जीवनको जय विजय
यसैमा छ
शक्तिशाली भएको छु म
उनीहरुको अगाडि यतिबेला
मसँग यतिबेला
कोरानाको भएभरको शक्ति छ
अनि कोरानाको साथ छ
भरिएको छु कोरानाले म उनका नजरमा
फेरि पनि ठेल्दै छु ठेला
घर घर डुलेर
पुर्याउँदै छु तरकारी ।
घुचेट्दै ठेला तरकारीको
कहाँ कति बेला ढल्छु थाहा छैन
म जस्ताहरू ढलिसके हेर्दा हेर्दै
हेरिरहेँ उनलाई
न त उठाउन सकें
न त सँगै बसेर रुन सकें
न त मलामी नै जान सकें
किनकि म युद्धको मैदानमै छु
युद्ध छोडेर कसरी जाने ?
लड्दैछु निरन्तर
मैदानबाटै सलामी गर्दैछु आफन्तहरूलाई
म पुरै मृत्युको रंगले पोतिएको छु
उनका आँखामा
म कालको पनि महाकाल भएको छु ।
भय छ उनीहरुलाई मेरो
फेरि पनि मलाई खोज्छन्
सिरदेखि पाउसम्म रक्षाकवचमा उभिएका मानिसहरू
सेनिटाइजर र फेससिल्डको अस्त्रशस्त्र भिरेर
आउँछन् म निशस्त्रका अगाडि
अनि डराउँछन् म विनाशस्त्रको योद्धासँग ।
जीवनको युद्धमा एक्लो म
उनका सामु उभिएको छु
बेच्दै छु तरकारी
मलाई उनको शस्त्रले
भmन झन लड्ने आँट बढाउँदै छ
म झन झन आफूलाई शक्तिशाली ठान्दै छु
त्यसैले होला उनीहरू डराउँछन् मदेखि
मेरो जीवन कोरानासँग विहानदेखि बेलुकासम्म लड्छ
मेरो निद्रा कोरोनासँगै निदाउँछ
कोरानासँगै बिउँझिन्छ ।
हो, म शक्तिशाली एक योद्धा
विना कवच र शस्त्रमा
लड्दै छु र परास्त गर्दै छु
एक एक गरी कोरानाका सेनाहरूलाई ।






























