काठमाडाैं । चितवनकी युवती सुजिता भण्डारी मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न राजनीतिक दलनिकट महिला संगठनले माग गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरूले निष्पक्ष छानविन गरेर दोषीलाई सजाय दिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल महिला संघ चितवनका अध्यक्ष पार्वती शाह ठकुरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिका अध्यक्ष अम्बिका मुडवरी र जिल्ला अध्यक्ष संगिता भट्टराई, अखिल नेपाल प्रगतिशील महिला संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे, अखिल नेपाल महिला संघ चितवन अध्यक्ष सुशिला लामिछाने, समाजवादी महिला संघ नेपाल चितवनका सचिव माया पोखरेल, अखिल नेपाल महिला संघ (राष्ट्रिय जनमोर्चा) चितवनका अध्यक्ष सीता आचार्यले यस्ता घटनामा राज्य जिम्मेवार नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
असार ११ गते हराएकी राप्ती-३ की सुजिता भण्डारी २० गते जंगलमा मृत फेला परेकी थिइन् । उनी हराएपछि आफू अपहरणमा परकाे सूचना दिए पनि खाेज अनुसन्धान नहुनुले आशंकम उत्पन्न भएकाे विज्ञप्तिमा जनाइएकाे छ । 
विज्ञप्तिमा भनिएकाे छ ‘९ दिनसम्म नभेटिनु, कसैकाे नियन्त्रण र अपहरणकाे सूचना स्वयमले दिएपनि खाेज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले गम्भीर आशंका पैदा भएकाे छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर