दाङ जिल्ला तत्कालीन लाहुरेचौर गा.प वडा नम्बर ७ राम्री गाउँ हालको तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ३ राम्रीमा १९८४/०१/१६ गते पिता बलभद्र पौडेल आमा पार्वती पौडेलको कोखबाट जन्मिनु भएका देवीराम पौडेलको राम्री कल्ले बल्ले सिद्धाराका उकाली ओराली गर्दै बाल्यकाल वित्यो । त्यस समयमा औपचारिक अध्ययन बिना नै वित्यो । बाल्यकालदेखि नै गाइबाख्रा चराउने (ग्वाला जाने) घाँस दाउरा काट्दै अनौपचारिक शिक्षा हालिस गर्दै बाह्रखरी सिक्दै घरायसी काममा बाल्यकाल किशोर अवस्था विताउनु भयो । किशोरावस्थामा २००८ साउनमा बुबाको निधन भयो । बुबाको मृत्युपछि उहाँको आर्थिक तथा पारिवारिक जीवनमा उहाँमाथि थप जिम्मेवारी थपियो । २०१६ सालमा लक्षीमादेवी भुसालसँग बैबाहिक जीवनमा बाँधिनु भएकोले जीवनमा घरव्यवहार चलाउन साँझ बिहानको जोहो गर्न नै सङ्घर्ष गर्नुपर्‍यो । २०२१ सालपछि मात्रै उहाँको पेशा परिवर्तनसँगै केही आर्थिक अवस्था सुध्रियो । स्थानीय थर्कोटको काखमुनी रहेको बल्ले गाउँमा दशैँपछि लाग्ने मेलामा सिरखोला बस्ने ब्यापारी रामबहादुर श्रेष्ठ (कान्छा नेवार) बाट सिसाका गिलास, केट्ली, छन्नी र गिलास राख्ने जालीसमेत् भाडामा लिई चिनी र चियापत्ती उधारो लगेर होटल गरेदेखि उहाँ ब्यापारमा आकर्षक हुँदै जानुभएको र सातबास भन्ने ठाउँमा तिहारपछि लाग्ने मेलामा चिया पसल होटल गरेपछि सोही ठाँउमा पातीले बारेको सानो झुपडी बनाई ब्यापारलाई मुख्य पेशा बनाउनु भएको थियो ।

हालको तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ३ साजबास तत्कालीन अवस्थामा रुकुम रोल्पा सल्यानका मानिसहरू आवतजावत गर्ने प्रमुख नाकाको रूपमा ब्यस्त रहने ब्यापारिक नाका थियो । ब्यापार व्यवसाय राम्रो भएकोले उहाँको आर्थिक अवस्थामा सुधार हुँदै आयो । सोही ठाउँमा व्यवस्थित बसोबास गरेकै समयमा तीन छोरी र दुई छोरा जन्मेका थिए । पुरानो बसोबास रहेको घर राम्रीमा २०३४ सालमा उहाँको आमा पार्बती पौडेलको दुःखद निधन भयो । आमा राम्री पुरानो वस्तीमा कान्छा भाइसित बस्नुभएको थियो । सानैदेखि दुःख पीडा अभावै अभावमा हुर्किएको कारणले समग्रमा दुःखपीडा कष्ट हटाउनका लागि के छ त उपाय ? कसरी समग्रमा आफुजस्तै वर्गको हितमा काम गर्न सकिन्छ ? छोराछोरी लगायत गाउँका मानिसलाई कसरी शिक्षित बनाउन सकिन्छ भन्ने चिन्ताले गर्दा उहाँको सकृयतामा साजबासमा २०२८-२०३५ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आफु साक्षर भएता पनि छोराछोरी तथा नयाँ पिँढीले पढ्नुपर्छ भन्दै गाउँ गाउँमा पुगेर छोराछोरीलाई विद्यालय पठाउन अनुरोध गर्दै शैक्षिक अभियान चलाउनु भएको थियोे । राजनीतिक रूपमा २०२६/०२७ सालतिर दाङका कम्युनिस्ट नेता नेत्रलाल अभागी दाङ सल्यान हिँड्ने समयमा बास बस्ने सम्पर्कस्थल उहाँको घर हुन पुग्यो । त्यही समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनको समर्थक रहनु भएको थियोे ।

२०२८ सालमा भएको झापाली आन्दोलनको प्रभावले देशव्यापी हलचल भएकोले तत्कालीन नेताहरूले अध्ययनका लागि दिएका माक्र्सवादी पाठ्यपुस्तकहरू प्रहरीले घर छापामार्न आउने डरले जलाएको कुरा गर्नुभयो, भने पेशागत रूपमा सानोतिनो ब्यापार र पण्डित पेशा अङ्गाल्नु भएको थियोे । बिषेशतः उहाँ दलित तथा जनजाति समुदायका बिचमा लोकप्रिय पण्डितको रूपमा स्थापित हुनुहुन्थ्यो । उहाँ जहाँ पूजाआजा बिबाहजस्ता सबै कर्मकाण्डीय कार्य गर्न जानुहुन्थो । त्यहाँ सहभोज चलाउनुहुन्थो र जातीय भेदभावको बिरुद्धमा दरोखरो रूपमा आफुलाई उभ्याउनु हुन्थ्यो । त्यस ठाउँमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका नेताहरूलाई सम्पर्क स्थान बनाइदिएर फर्कनुहुन्थो । उहाँ व्यक्तिगत रूपमा माक्र्सवादी हुनुहुन्थ्यो तर घर चलाउनका लागि र पार्टी सम्पर्क जोड्न उपयुुक्त पेशा थियोे पाण्डित्याई पेशा । तत्कालीन पञ्चायती व्यवस्थाको आँखाको कसिङ्गर हुनुहुन्थ्यो उहाँ । पञ्चायती शासन कालमा पटकपटक प्रहरीले समात्ने र प्रमाण फेला नपर्ने कारणले उहाँलाई मुद्दा लगाउन नसकेको कुरा बताउनु हुन्थ्यो । तर बहुदलीय कालमा छोरा नेकपा (माओवादी) पार्टीको नेता भएको कारणले पटकपटक तुलसीपुर इलाका प्रहरी कार्यालयले समात्ने यातना दिने र छोड्ने गरेको थियो उहाँलाई । साजबासमा ब्यापार गर्दैगर्दा तुलसीपुर बजारमा घरका सबै परिवार आउनुहुन्थो र डोकामा पसलको सामान बोकेर लानुहुन्थो । महिनामा तीनचार पटक सामान लिन तुलसीपुर आउनुहुन्थो र त्यही समयमा घरतर्फ फर्कंदा मेरो घरमा बसेर पानी र अर्नी (नास्ता) खाजा खाने गर्नुहुन्थ्यो । मैले उहाँको परिवारलाई सानैदेखि चिन्दथेँ तर मेरो घनिष्ठ सम्बन्ध चाहीँ २०४२/०४३ देखि उहाँको जेठा छोरासँग मेरो दोस्ती बढेदेखि म उहाँको परिवारको एउटा सदस्यझैँ रहेर आइरहेको छु ।

२०४७ वैशाखमा देशमा बहुदलीय व्यवस्था आगमनसँगै उहाँको परिवार बर्दिया बसाइँसराई गर्नुभयो । तर उहाँलाई बर्दियाको बसाई सहज भएन र पुनः २०५० सालमा दाङ तुलसीपुरको कपडादेवी भन्ने ठाउँमा जग्गा किनेर बसाइँसराई गर्नुभयो । कपडादेवी दुई बर्स बसेपछि कान्छा छोरा अलग्गै बस्ने मनसाय भएपछि दुई भाइ छोराहरू अलग हुनुभयो । कान्छा भेषकुमार छुट्टिएर अलग्गै बस्नुभयो भने जेठा छोरा हिरामणी दुःखीले बुबाआमालाई साथ दिनु भयो । उहाँ बुबाआमाको काखमा रहनुभयो । कपडादेवीको बसाइँबाट पनि सन्तुष्ट नभएपछि हालको तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ५ नामिनगर टोलमा रहेको सानो झुपडी घरघडेरी किनेर बसाइँ सर्नु भयो । जुन घरमा उहाँले २०७७/०३/१७ गतेका दिन यस पृथ्वीबाट सदाका लागि बिदा हुनुभयो । देवीराम पौडेल (कमरेड भीष्म)सँग मेरो २०४२/०४३ देखि उहाँका जेठा छोरा हिरामणी दुःखीसँगको दोस्तीबाट चिनजान सुरु भएको हो । (श्री गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरमा पढ्दापढ्दै एउटा सरल स्वाभावको मिलनसार साथीसँग चिनजान भयो । त्यो साथी मेरो जीवनभरको सहयोगी राजनीतिक रूपमा गुरुका रूपमा पाएँ उहाँ सरल, शान्त स्वाभाव र सबैलाई मिलाउने सीप कला भएको हुनुहुन्थ्यो । जीवनका सुखदुःखका घटना जीवनमा भोगेका हरेक घटना मलाई सुनाउनु हुन्थ्यो । उहाँलाई लाग्थ्यो होला छोराको साथी नभएर आफ्नै तेस्रो छोरा हो ईश्वरी । उहाँको पेशा सानोतिनो ब्यापार त छँदैथियो र पनि पाठपूजा लगाउन पण्डित पेशा सहायक पेशा थियो । उहाँ धार्मिक कार्य गराउन जहाँ जानुहुन्थो त्यहाँ आफ्नो राजनीतिक विचार दिनुहुन्थो । जनताको माझ लोकप्रिय हुनुहुन्थ्यो । दलित समुदाय, जनजाति र बाहुन क्षेत्री भनेर जातीय भेदभाव कहिल्यै गर्नु भएन । उहाँले जातीय भेदभावको विरुद्ध आवाज उठाउनुहुन्थो । जहाँ पूजाआजा लगाउनुहुन्थ्यो त्यहाँ सहभोजको आयोजना गर्नुहुन्थ्यो । वहाँ धेरै पढेको त होइन तर धेरै परेको र बुझेजतिको शिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने सक्षम व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको घरमा कहिल्यै पनि घरपरिवारमासमेत् जातीय विभेदका कुराहरू आउदैनथ्यो र अहिले पनि उहाँको घरभित्र ढुक्कसँग सबै जातजातिका मानिसहरू जानेआउने गर्नुहुन्छ । राजनीतिक रूपमा पनि सिद्धान्तलाई अक्षरस व्यवहारमा पालना गर्ने सक्षम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । त्यही कुराको व्यवहारिक प्रयोग उहाँको मृत्युपछि उहाँको श्रीमतीले रुढीवादी काजकिरिया नगरेर समाजलाई खुला चुनौती दिनुभयो । समाजलाई भन्नुभयो, ‘मेरो श्रीमानले काजकिरियामा मलाई विस्वास छैन तिमीले केही गर्नुपर्दैन ।’ यसरी उहाँ कमरेड भीष्म मेरो मार्गदर्शकका रूपमा सदा स्मरणीय रहिरहनुहुनेछ ।

आज कमरेड भिष्मलाई सादाका लागि हामीबाट विदाई गरेको पनि ठ्याक्कै बर्सदिन पुगेछ । हेर्दाहेर्दै समय वितेको थाहै नपाइँदो रहेछ । यस अवसरमा कमरेडप्रति हार्दिक श्रद्धाञ्जली । साथै शोकसन्तप्त परिवारजन, आफन्त र पार्टीपङ्क्तिप्रति गहिरो समवेदना ।
१७ असार २०७८

प्रतिक्रिया

सम्बन्धित खवर