चारदिन अघिदेखि अविरल परेको वर्षाले दैनिकी लय भत्काइदियो । वर्षाले व्यक्तिको लय मात्र भत्काएन पहाडका कुनाकाप्चा र तराइका भूभागको यथास्थिति भत्काइदियो । वर्षाको पानीको बेग बढेर सडक पुल पुलेसा र घरहरू भत्कायो । आफ्नै घरमा निर्धक्क बसेका कयौं परिवारलाई बाढीले आफूसँगै लग्यो । शोक र सम्वेदनाका वक्तव्यहरू आए । ठूला शहरहरूबाट राहतका पोका जुटाइए, यो मानवीय सद्भावको एउटा अंश हो । पोहर पनि यस्तै भयो, परार पनि उस्तै एउटा नियमित आकस्मितकता जस्तो दृश्य छायाङ्कन हुन्छ । समाचारहरू छापिन्छन्, प्रसारण गरिन्छन्, कानले सुन्छ, आँखाले देख्छ अनि मन रुन्छ ।

पत्रकारले जलविज्ञ थलविज्ञको अन्तर्वाता लिन्छ । विज्ञहरू आफ्ना ज्ञान चेतनाले भ्याएसम्म व्याख्या गर्छन्, सुझाव दिन्छन् । पोहर परार झन् परार पनि यस्ता विचारहरू आए तर वर्षाको बाढी सुकेसँगै विज्ञहरूका तर्क सुझाव सकिए । पृथ्वी गोलो छ आफ्नै कक्षमा घुम्छ । पृथ्वीको घुमाइसँगै ऋतुहरू फेरिन्छन् । यो प्रकृया युगौंदेखि चलेको र अनन्तसम्म जान्छ । यही प्रकृतिमा मान्छे उच्च चेतना विशिष्ट प्राणी हो । यो प्राणी नै सायद प्रकृतिको सबैभन्दा ठूलो बैरी पनि हो । निर्वाहका निम्ति प्रकृतिका साधन उपयोग गर्नु एउटा पक्ष हो, तर यहाँ न्याय विवेक मूल्य मान्यता भत्काउन हामी उद्धत छौँ । मान्छेहरू आफ्ना मनमा खोलाप्रति आफू खुसी धारण बनाउँछन्् । अनि भन्छन् – ‘खोला रिसायो ।’

के खोलो चेतनापूणर् प्राणी हो ? कसरी रिसाउँछ । म आफैं प्रश्न र उत्तर म भित्रै खोज्छु । मलाई लाग्छ हरेक कारणहरूको खोजी व्यक्तिभित्र खोज्नु पर्छ । अनि खोलो रिसाउने कारण पहिलिन्छ । म अहिले जहाँ अश्रित छु त्यसलाई म मेरो घर भनेको छु । यो घर उभिनमा खोलाको पनि योगदान छ । खोला किनार खोतलेर गिट्टी र बालुवा मेरो घडेरीसम्म आयो जहाँबाट बालुवा झिकियो त्यहाँको जमिनमा परिवर्तन आयो अनि आफ्नो मार्गमा बहने खोलाको पानीको वेग असन्तुलन भयो ।

यो मेरो मात्र तर्क होइन धेरैको दिलभित्र घर गरेको मान्यता हो । तर हाम्रो मूल संस्कृति ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्न्ने उखानसित टाउको ठोकेर मित लगाएको छ । बाढीको वितण्डा भन्ने भँगेरे अक्षरका शीर्षकका समाचार पढ्छु, चित्र काटिन्छ ।

कहिलेकाहीँ साना वा मझौला शहर पुग्छु र हेर्छु, शहर भन्नु धेरै घरको जङ्गल हो भन्ने मलाई लाग्छ । यिनै घरै घरका जङ्गलले खोला दोहन गरेका छन् । पहाडी चट्टान फुटालेका छन् । अनि खोला किन रिसाउँदैन । उत्तर त सजिलो छ तर खोलालाई आफ्नै बाटोमा हिँड्न नदिन नीति नियम बन्दैन । बनेका ऐनहरू निष्प्रभावि छन् । खोला रिसाउनुमा मूल दोष मानव वस्ती हुँदै हो सहायक दोष वन पनि हो । जब वन मासिन्छ भूक्षय बढ्छ वातावरण असन्तुलित हुन्छ । वन मासिनुको मुख्य कारण फेरि मानिस नै हो । हरेक हिउँद वन डढ्ने नियति आउनु वा वन पैदावरमा अधिपत्य कायम गराइ विनाश गर्नु मानिस नामको प्राणी हो तर सबै मानिस बनमासा हुन् त ? होइन र कसैमाथि अभियोगको फिराद गर्नु मेरो ध्येय पनि होइन ।

हाम्रो चिन्तनमा भित्रिएको मान्यता के रह्यो भने सुख सुविधा मलाई र दुःख कष्ट तँलाई । यही कारण आपसी होड गर्न हामी प्रकृतिका स्रोतमाथि जाइलाग्यौं । हामी विकसित भएको देखाउन वा सम्पन्नताको पहिचान कायम राख्न हामीले प्रकृतिलाई केन्द्र बनायौं । अहिले हामी सभ्य भयौं । यही वनजङ्गल मासेर सम्पन्न भएको ढोङ फुकिरहेछौं ।

खोलो होस् कि वन, भीर होस् कि पाखो, हाम्रो लोभि आँखाले दृश्य कैद गर्छ । पापी मनले योजना बुन्छ र आशिर्वाद खोज्न प्रभुहरूको सहारा खोज्छ । अहिले त्यस्ता प्रभुहरू दर्जा दर्जामा गाउँ शहरमा भेटिन्छन् । वैदिककालका मानिसहरू वनजङ्गलसित प्रार्थना गर्थे, पूजा गर्थे, वनले उत्पादन दिने अन्न र फलफूल खाएर प्राण रक्षा गर्दथे । उनीहरू खोला वा नदीलाई आदर गर्थे । प्रकृतिबाट हामीले बाँच्न सिक्यौं । हामी विपदमा पर्दा प्रकृतिलाई नै सहारा ठान्छौं । चर्को घामको ताप छल्न हामी रुखको सहारा लिन्छौं । असिना पानीले चुट्यो हामी कुनै गुफा वा ओढारको साथ लिन्छौं । कृषि युगमा पनि वन र खोला नदीको सम्भार र संरक्षण थियौं तर आधुनिक युगमा उभिएका हामी मानिस खोला नदी वा वनमाथि हैकम जमाउन आधुनिक प्रभुहरूको प्रार्थना गर्छौं नजराना चढाउँछौं । नदीको बाटो खुम्च्याएर हामी अधिग्रहण गर्छौं ।

आधुनिक प्रभुहरू पानीमाथि राजनीति गर्छन् वनमाथि राजनीति गर्छन् । प्राकृतिक स्रोतसाधनमाथि राज्यको पहुँचबारे बहस चलिरहेका बेला बहसको अन्तर्वस्तु एकातिर चल्दै छ अर्कोतिर नदीजन्य खनिजको निणर्य बनिसकेको हुन्छ । अहिले माफिया शब्दको निकै चल्ति छ । भू-माफिया, वन माफिया, जल माफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया आदि आदि । यो एक प्रकारको शक्तिशाली मनोवृत्ति हो । राज्यसत्ता वा शक्तिको आडमा यो प्रवृत्ति चलखेल गरिरहेको छ । मूख्यतः नदीजन्य खनिज तत्वको ओसारपसार र विक्री वितरणमा यो तप्का निकै सक्रिय छ ।

मुलुक सम्पन्न बन्न विकासको कुरा गरिन्छ र सडकलाई विकासको पूर्वाधार मानिन्छ । सडक विस्तारको क्रम यति तीव्र गतिमा बढिरहेछ कि हरेक डाँडा र हरेक गाउँहरू घाइते छन् । यसरी सडक खन्ने होडमा पनि माफियाकरण बढेको छ । हामी हरित सडक या वातावरणानुकुल सडकमार्गको अवधारण ल्याउँछौं । फलानो देशको भन्ने दसी पनि पेश गछौं । कार्यान्वयनमा भने आफै ‘झरे आँप, नझरे ढुँगो गयो’ भने झैं गर्छौं ।

हामीकहाँ असाध्यै चलेको पानी राजनीति हो । कोशी गण्डक वा महाकाली हाम्रा साक्ष्य हुन् । हरेक वर्षा याममा बाढी पसेर वस्ती डुवान भएपछि दिल्लीतिर धारे हात लगाउछौँ । हरेक आवधिक चुनावमा यो मुद्दा उठ्छ । चुनावी घोषणा पत्रमा असमान सम्झौता खारेजीको एजेण्डा बन्छ र जब कुनै पार्टी वा शक्ति सत्तामा उक्लिन्छ त्यो मुद्दा सकिन्छ । यसरी पानीमाथिको राजनीति संस्थागत बनेको छ ।ठुला नदीमाथि विदेशी शक्तिले कब्जा जमाएझैं साना खोला र नदीमाथि स्वदेशी सत्ताका चौतारिया भारदारको आडमा राजनीति मौलाई रहेको छ । अहिले वस्तिमाथि खोलाको रजगज वा वितण्डा मूल कारक यो देशको सत्ता हो । ‘दिनभरी छोरो तास रोज्छ, रातपरेपछि घाँस खोज्छ’ भनेझैं हिउँदभरि टेण्डर, कोटेशन र कमिशनमा खोलामाथि राजनीति र वर्षा लागेपछि शोक र समवेदना हाम्रो दुर्नियति बनेको छ । वस्ति, खोला वा वन जोगाउन नयाँ शिराबाट सोच्नु जरुरी छ । किनकि अहिले हामीले भोगिरहेको राजनैतिक व्यवस्थाको मुल कानूनमा जे लेखिए पनि यो नाङ्गो पुँजीवादी व्यवस्था हो र यो व्यवस्था जनताको आधारभूत समस्या र मुलुकको प्राकृतिक सम्पदाप्रति जिम्मेवार छैन । यहाँ आम जनताको जीविका होइन केही भारदार र तिनका आसेपासेहरूको रजगज छ । मूख्य कुरा वन र पानीमाथिको राजनैतिक चलखेल रोक्न सकिए मात्र मानव वस्तिमा पानीको राइँदाइँ रोक्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर