
असार ६, काठमाडौं ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी भएको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले सवारी साधन सञ्चालनमा ल्याउनुपर्ने सुझाब दिएका छन् । बताइएअनुसार आइतबार अपरान्ह ४ बजे उपत्यकाका सीडीओहरुको बैठकले सोबारे निर्णय लिनेछ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले व्यापार र व्यवसायलगायतका केही क्षेत्रलाई खुकुलो बनाउने गरि छलफल अगाडि बढेको जानकारीदिए । उनका अनुसार सवारी साधन सञ्चालनमा जोर–विजोरको विषयमा छलफल भईरहेको छ ।
साथै खाद्यान्न पसलहरु दिनभर नै खोल्ने र अन्य व्यवसायलाई बारअनुसार सञ्चालन गर्ने विषयमा छलफल भईरहेको छ ।
गत बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।
उपत्यकामा जारी निषेधाज्ञा सोमबारबाट सकिँदैछ । आगामी दिनमा निषेधाज्ञाको मोडल कस्तो बनाउने र कति समय लगाउने भन्ने निर्णय आइतबार बस्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय लिनेछ ।