अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटीनका बीच जेनेभामा बितेको साता सम्पन्न शिखर बार्तालाई बिश्वका बाँकी देशहरुले के कसरी हेरेका छन् यो अहिले ठूलो चासो चर्चाको बिषय बनेको छ । एकथरी बिश्लेषकले यस बार्तालाई चीनले सन्देहको र भारतले उत्सुकताको दृष्टिले हेरेको अडकलबाजी गरेका छन् । यद्यपि दुबै बार्ताकार देशहरु अमेरिका र रुसमा भने त्यस्तो कुनै ठूलो आशाकासाथ यो सम्पन्न बार्तालाई हेरेको पाइदैन । तथापि यो बैठक आयोजित हुनु नै ठूलो कूटनीतिक घटना हो भनेर औंल्याइदैछ । यो बैठक त्यतिबेला भएको छ जतिबेला अमेरिका र रुसका बीच कूटनीतिक तनाब रहेको स्थिति कायम छ र दुबै देशका राजदूतहरु आ–आफ्नो देश फिर्ता गएको स्थिति छ ।
यो बिचार बिमर्शको तत्कालिन परिणाम के भएको मानिएको छ भने बिश्वका दुइ ठूला परमाणु शक्तिहरु परमाणु हतियारका सम्वन्धमा पुन: बार्ता गर्न मञ्जुर बनेका छन् । अनि साइबर सुरक्षामाथिको बढ्दो खतराका बारेमा पनि दुबै देश बार्ता गर्न सहमत भएको बताइएको छ । माथि नै भनिएको छ कि यो शिखर बार्ताको स्थल जेनेभा थियो । यो यूरोपली देशहरु र अमेरिकाको तर्फबाट रुसलाई सन्देश दिन खोजिएको रुपमा बुझिएको छ कि रुसको बढ्दो सैनिक प्रभावलाई नियन्त्रणमा राख्न अमेरिका यूरोपको साथमा खडा छ । यूक्रेन र जर्जियाको सन्दर्भमा रुसको राजनीतिक र सैनिक गतिबिधिहरुलाई लिएर पनि यूरोपेली देशहरु सशंकित बनिरहेको स्थिति छ ।भनिन्छ यसै कारणले गर्दा अमेरिका र रुसका बीच सानो स्तरमा अहिले शीत युद्ध जारी रहेको पनि छ ।
हुन पनि आफ्नो राष्ट्रपतीय कार्यकालको आरम्भवमा नै अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो शिखर बार्तामा भाग लिने निर्णय गरेका थिए । त्यसको उदेश्य उनका यूरोपेली मित्रहरुलाई आश्वस्त तुल्याउने र रुससँगको आफ्नो सम्वन्ध पनि कम टकराव हुने स्थितिको बनाउने थियो । यसको कारण प्रष्ट के पनि हो भने अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीताको केन्द्र अब यूरोप नरहेर एशिया हुन पुगेको छ । झण्डै आधा शताब्दी अघि भने अन्तर्राष्ट्रिय शक्ति संघर्षको केन्द्र पूँजीवाद र समाजबादी बिचारधाराका बीच चलेको मानिन्थ्यो र त्यसको मूख्य केन्द्र यूरोप रहेको थियो । शीत युद्धको त्यस क्रममा अमेरिकाले ‘पिङ्गपङ्ग’ कूटनीतिको माध्यमले चीनसँगको सम्वन्ध सामान्य बनाएको भनिन्थ्यो र त्यतिबेला रुसका बिरुद्ध चीनसँग अमेरिका खडा भएको ठानिन्थ्यो । अमेरिका र रुसको त्यो जोडीले बिश्वमा रुसको बढ्दो दबदबालाई रोकने प्रयत्न गरेको बिश्लेषण पनि गर्ने गरिएको थियो । यद्यपि यो अर्कै कुरा हो कि सोभियत समाजबाद आफ्रने आन्तरिक आर्थिक र राजनीतिक कमजोरीका कारण कमजोर हुदै गएर अन्तत अस्तित्वको ७० बर्ष पछि बिघटनको स्थितिमा सोभियत संघ पुगेको थियो र १९९० मा बिघटन भएको थियो ।
चीनसँग त्यतिबेला साझेदारी गर्दै गर्दा अमेरिकाले के सोचेको शायद थिएन होला भने रुसका बिरुद्ध चीनलाई उच्च प्रबिधि र ठूलो लगानी उपलब्ध गराएर आखिर उसले एक दिन आफैका लागि कथित भस्मासुर तयार गर्दै छ । बितेको एक दशकयता के स्पष्ट हुन गयो भने चीन बिश्वकै एक नम्बरको आर्थिक तथा सैनिक शक्ति बन्ने दिशामा तीब्र गतिले अघि बढ्दै गइरहेको छ । आर्थिक संकट होस् या कोरोना महामारीको प्रकोप ती दुबैको सामाना गर्न चीनको संगठित समाज र शासन प्रणालीले अन्य देशको तुलनामा अत्यन्तै राम्रो ब्यवस्थापन गरेको देखियो । बिश्वको एक नम्बरको महाशक्ति बनिरहने रणनीति अन्तरगर अमेरिका आफ्नो पूरा ध्यान चीन र एशियामा केन्द्रित गर्न चाहिरहेको देखिन्छ । यतिबेला अमेरिकी प्रशासन दुइ मोर्चा रुस र चीनसँग मुकाबिला गर्नुको साटो चीनलाई नै तारो बनाएर भिड्न चाहेको देखिन्छ । इण्डो–प्यासिफिक क्षेत्रमा ‘क्वाड’ अर्थात ‘चार–राष्ट्र गुट’ बनाएर हिड्नुको पछाडिको उसको उदेश्य पनि यही नै हो भन्ने प्रष्ट देख्न्छि । अमेरिकाले यस उदेश्यका लागि भारतको महत्वलाई पनि राम्रैसँग बुझेको मानिदैछ र यसमा भारतलाई सक्रिय तुल्याउने तानाबाना बुनिसकेको छ। तर भारतमा के भनिदैछ भने यद्यपि पूर्बी लद्दाखमा चीनको कथित आक्रामक गतिबिधिहरुका कारण भारतकको कूटनीतिक समझदारी र रणनीतिमा निकै ठूलो धक्का लागिसकेको छ । त्यति हुँदा हुदै पनि अहिले भारत अमेरिका, रुस, चीन र भारतको बहुध्रुबीय ब्यवस्थामा टकराव या नयाँ सैनिक गठबन्ध स्थापना गर्ने पक्षमा रहेको छैन भन्ने प्रचार प्रसार गर्दैछ, यद्यपि ‘क्वाड’ उसको संलग्नताले नै भनाइ र गराइको अन्तर प्रष्ट पारिरहेको छ । अमेरिका र रुसको अहिलेको शिखर बार्ताका क्रममा बाइडेनले परोक्षरुपमा पुटीनलाई चीनबाट हुने खतराको रुपमा सतर्कता गराउन खोजे । बाइडेको रणनीति रुस र चीनका बीचमा बढ्दो सैनिक र आर्थिक गठबन्धनलाई कम र कमजोर तुल्याउनेतिर केन्द्रित देखिदै आएको छ । यसलाई हिजोको ‘पिङ्गपङ्ग कूटनीति’को नयाँ रुप भनेर पनि अथ्र्याइदैछ ।
निश्चय नै आजभोली पुटीन चीनसँगको आफ्नो सम्वन्धलाई बहुत जोड दिएर अघि बढाइरहेका देखिन्छन् । यसरी चीन र रुसको सम्वन्ध बिश्वमै आज उच्च स्तरमा पुगेको छ । अर्कोतिर भारत र चीनको सम्वन्ध यतिबेला न्यूनतम स्तरमा तल झरेको छ । यस सम्वन्धको त्रिकोणमा भारत र रुसको सम्वन्ध पनि पहिला पहिलाभन्दा राम्रो हुँदैगएको पनि उल्लेख गरिन्छ । भारतीयहरु भन्छन् पूर्बी लद्दाखको चीनसँगको भारतको झडपको घटनामा रुस तठस्थ बसेको थियो । त्यस क्रममा नै रुसले भारतलाई सैनिक तथा रक्षा सरसामानको आपूर्तिलाई पनि तीब्र पारेको थियो र भारतले त्यसलाई सन्तोषजनक मानेको थियो । यी सबै बिकसित पछिल्ला घटना क्रमले रुस र चीनको सवन्धमा कुनै बिग्रह आउने कुनै आधार देखिदैन । चीन र रुस बीचको सम्वन्ध भत्काएर चीनलाई एक्ल्याउने रणनीति अमेरिकाको भए पनि त्यसमा उसले सफलता पाउने आशा कमै गरेको प्रतीत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर