
२ असार ाठमाडौं ।
भारतले नेपाली महिलाहरुका लागि आफ्नो सेनामा भर्ती खोलेपछि त्यसको विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ । गत जेठ ३१ गते भारतीय दूतावासले सूचना प्रकाशित गरी नेपाली महिलाका लागि भारतीय सेनामा भर्ती खुला गरिएको जनाएको हो ।
भारतको सो कदमलाई ‘ग्रेटर नेपाल अभियान’का अगुवा फणिन्द्र नेपालले नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहेको बताएका छन् । भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत बुझेर रोक लगाउनुपर्ने उनको भनाई छ ।
‘नेपाली युवतीहरूलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन । ‘यौन शोषण र मनोरञ्जनका लागि मात्र हो’ उनले भन्नुभयो ।
नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धीविपरीत रहेको उनले बताउनुभयो ।
‘हामी एउटा सार्वभौम देश भएको नाताले आफ्ना देशका नागरिक अर्को देशको सेनाका लागि लड्न पठाउनु नै गलत छ,’ उनले भने, ‘झन् महिलाको विषय झन् संवेदनशील हो । उनीहरू धेरैखाले जोखिममा हुन्छन् ।’
यस्तै, नेकपा (एमाले) का नेता भीमर रावलले नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन खोजिएको भन्दै सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्नै नहुने बताएका छन् ।
‘सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्दैन।सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन हुन्न भन्दा महिलालाई ’दास’ बनाउने भनी प्रश्न गर्नेहरूले नेपाली महिलालाई विदेशी सेनाको ‘दास’ मात्र होइन नेपाललाई नै वाह्य शक्तिको ‘दास’ बनाउने चाल किन नबुझेको हो ?’ रावलले भने ।
नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो ।
१० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ । त्यस्तै, महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ ।
आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्ने सूचनामा उल्लेख छ।
वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने दूतावासले जनाएको छ।
































