जेठ २५ देखि चिनियाँ खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइँदै

जेठ २५ देखि चिनियाँ खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइँदै


१९ जेष्ठ काठमाडौं ।
चीनबाट अनुदानमा प्राप्त खोप यही जेठ २५ गतेदेखि लगाउन सुरु गरिने भएको छ । २५ गतेदेखि देशभरका खोप लिन बाँकी ६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ । पहिलो चरणको खोप लगाएसँगै दोस्रो डोजको पनि सुनिश्चितता गर्ने मन्त्रालयले जनाएको छ ।
चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख बुधबार काठमाडौं आइपुग्नेछ ।
चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्यको तथ्यांक अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका प्रदेश १ मा एक लाख ४० हजार, प्रदेश २ मा १ लाख ७८ हजार, वाग्मती प्रदेशमा १ लाख ८३ हजार, गण्डकीमा ७१ हजार, लुम्बिनीमा १ लाख ४५ हजार र कर्णाली प्रदेशमा ५२ हजार र सुदूरपश्चिम प्रदेशमा ८४ हजार जना छन् ।