जुद्ध शम्शेर राणा प्रधानमन्त्री रहेकोे बेला १९८९ सालमा नेपालमा सिपाहीहरूको तलब मासिक १० रुपैयाँ थियो । एकदिन जुद्ध शम्शेरले सिपाहीहरू टुँडिखेलमा जम्मा गरेर ऊनीहरूको मासिक तलब १० बाट १२ रुपैयाँ पुर्‍याएको घोषणा गर्दा सिपाहीहरूले टुँडिखेल नै उचाल्ने गरी जुद्ध शम्शेरको जयजयकार गरेको काठमाडौंमा लामो समयसम्म चर्चा चलेको थियो (सरदार भीमबहादुर पाँडे: त्यस बखतको नेपाल, भाग २–३) । हिजो ओली सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेशगर्दै सिपाहीहरूको रासनमा १५ प्रतिशत वृद्धि गरेका छन् जयजयकारको अपेक्षा होला ?
ओलीले बजेट आउनु एकदिन अगाडि राष्ट्रका नाममा सम्बोधनको बहानामा नीति तथा कार्यक्रमको फेहरिस्त सुनाए । नेपालको संविधान २०७२ अनुसार बजेट जेठ १५ मा ल्याउने प्रावधान छ । २०७३ साल जेठ १५ गतेको बजेट विष्णुप्रसाद पौडेलले अर्थमन्त्रीको रूपमा ल्याएका थिए । हिजो दोस्रोपल्ट उनले बजेट ल्याएका हुन् । राष्ट्रसेवकहरूको तलबमा मासिक रु. २,००० थप र मनमोहनको पालामा भरतमोहन अधिकारीले २०५२ सालमा मासिक रु. १०० बाट सुरुगरिएको सामाजिक सुरक्षा वृद्धभत्ता यसपटक रु. ४,००० पुर्‍याइएको विशेष चर्चामा छन् जसलाई प्रचार गर्न पत्रकारहरूको स्वार्थको तुष्टिकरण गरिएको छ यद्यपि कोभिड–१९ को आवरणमा झन्डै तीन घण्टा लामो बजेट वक्तव्य सुनाइयो ।
नेपालको संविधान संक्रमित छ । संसद विघटन भएर अदालतमा मुद्दाहरूको बहस चलिरहेको छ । भूतपूर्वहरू (प्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशहरू, अर्थमन्त्रीहरू, प्रमुखनिर्वाचन आयुक्तहरू, विश्वविद्यालयका उपकुलपतिहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षहरू, प्राध्यापक संघका सभापतिहरू, सचिबहरू) का अभूतपूर्व वक्तव्यहरू आइरहेका छन् । विकल्पमा कुनै ठोस कार्यक्रम छैन । सत्तास्वार्थका लागि प्रतिगामी, तानाशाह, स्वैच्छाचारी, भस्मासुरको लफ्फाजी खुब प्रयोग भएका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपाको आर्थिक नीतिको भिन्नता के हो ? पार्टनरहरू पहिला पोलिटिक्स त क्लिएर गर्नुस् । सबै नवउदारवादका अनुयायी ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आर्थिक सर्वेक्षण २०७७/७८ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु. ४२ खर्ब ६६ अर्ब ३२ करोड र प्रतिव्यक्ति आय रु. १,४०,८१९ (१,१९१ अमेरिकी डलर) देखाउँदै धरहरा, रानीपोखरी, दरबार स्कुल, मेलम्ची र विशेषगरी कोभिड–१९ स्वास्थ्यको आवरण ओढेको छ । कामचलाउ सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको जेट बजेट ल्याएको छ । बजेटले यति, ओम्नी मार्का स्वार्थ समुहको तुष्टिकरण गरेको छ । सत्तामा टिकिरहन सत्तासीनहरू यथास्थितिलाई अरुभन्दा राम्रो देखिन मुलर–लियर भ्रम (:गििभच–ीथभच ष्ििगकष्यल) सिद्धान्त अपनाउने गर्छन् । दुईवटा धर्का बराबर भएपनि एउटा अर्कोभन्दा ठूलो भएको भ्रम सिर्जना गर्दछन् । ओलीको यही मतदाता मूर्ख बनाउने मुलर–लियर भ्रम राजनीति अहिलेसम्म चलेको छ । ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिठी कूटनीतिमा काज खटाएका छन् । ओलीको एमाले पार्टी चुनावी तयारीमा छ, अरु पार्टीहरू त छोटे मियाँ सुभान अल्लाह ।

प्रतिक्रिया

सम्बन्धित खवर