बरिस्ठ राजनीतिज्ञ, गम्भीर अध्ययता तथा माक्र्सवादी चिन्तक आदरणीय ब्यक्तित्व मोहन बैद्यद्वारा लिखित ‘हिमाली दर्शन’ नामक पुस्तक प्रकाशित हुँदै गर्दा त्यो पुस्तक मदन पुरस्कार प्राप्त गर्न योग्य छनौट सूचिमा रहेको खबरले बजार तातिएको थियो । आफूलार्ई वाम समर्थक भन्न रुचाउने र हरेक विषयवस्तुुमा टिप्पणी गर्दा बैज्ञानिक विचारधाराको आलाप प्रदर्शन गर्ने तर जड, सङ्कीर्ण र साँघुरो मनस्थितिमा रमाउन चाहने एक हुल जमातले आदरणीय ब्यक्तित्व मोहन बैद्यजीलार्ई उक्त पुस्तक मदन पुरस्कार प्राप्त गर्न बिन्ती बिसाएको र आवेदन हालेकोसम्म भन्न भ्याए । र, एक किसिमले भन्ने हो भने उहाँको विद्वता र क्षमताको मानमर्दन गरे । पुस्तकको ओज, महत्व र त्यसले ओगटेको ब्यापकतालार्ई ख्याल खबर राखेर नै सायद मदन पुरस्कार छनौट समितिले ‘हिमाली दर्शन’ पुस्तकलार्ई मदन पुरस्कार प्राप्त गर्न योग्य सूचीमा राखेको थियो होला ।

समाजलार्ई बुझ्न, जीवन जगतका गहिरा र फराकिला फाँटहरूलाई नियाल्न पनि दर्शनबारे उपरी र सतही टिप्पणी होइन सुक्ष्म, गहिरो ज्ञान, अध्ययन, अनुसन्धानको खाँचो रहेको महशुस गरि दर्शनलार्ई फराकिलो क्षेत्रबाट हेर्न मद्दत पुगोस् भन्नाखातिर चिन्तक मोहन बैद्यजीले निकै मिहिनेत साथ तयार गरि पुस्तक प्रकाशित गरेको यसै बुझिन्छ । तर अनावश्यक टीकाटिप्पणी यस्तैउस्तै विविध कारणले मदन पुरस्कार योग्य छनौट सूचिमा परे पनि पुस्तकले पुरस्कार प्राप्त गरेन । यद्यपि पुरस्कार प्राप्त नगर्दैमा पुस्तकले ओगटेको क्षेत्र र महत्व कम भयो, कदापि होइन ।

पुस्तक भित्र अध्याय एक अन्तर्गत दर्शन परिचय, हिमाली दर्शन, दर्शनको वर्गीकरण, दर्शनशास्त्रको मौलिक प्रश्न, दार्शनिक पद्धति, दर्शनमा पक्षधरताको प्रश्न, दर्शनका विभाग, दर्शन प्रयोजन र विधि, दर्शनको महत्वबारे विवेचना गरिएको छ । त्यसैगरि अध्याय दुईमा ऐतिहासिक विकासको प्रक्रियामा सामाजिक तथा सांस्कृतिक पृष्ठभूमि, प्रारम्भिक युगः हिमाली दर्शनको उषाकाल, दास स्वामी युग, नौ दर्शनको उत्पति, सामन्ती युग, औपनिवेशिक, अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती युग र निष्कर्ष शीर्षक अन्तर्गत प्रकाश पारिएको छ । त्यसैगरि अध्याय तीनमा प्राचीन हिमाली दर्शनमा पद्धति र सिद्धान्तको विकास अन्तर्गत वेदमा द्वन्द्ववाद र अधिभुतवाद, वेदमा भौतिकवाद र आदर्शवाद, उपनिषद्मा भौतिकवाद र आदर्शवाद, लौकिक धारा र वैदिक धारा र अध्ययनको निष्कर्ष शीर्षकमा प्रकाश पारिएको छ । अध्याय चारमा नौ दर्शनको परिचय अन्तर्गत लोकायत दर्शन, सांख्य दर्शन, जैन दर्शन, बौद्ध दर्शन, योग दर्शन, वैशेषिक दर्शन, न्याय दर्शन, मीमांसा दर्शन, वेदान्त दर्शनबारेमा वर्णन गरिएको छ । अध्याय पाँचमा पद्धति मीमांसामा दुई पद्धति, द्वन्द्ववाद र अधिभुतवादका विशेषता, द्वन्द्ववादका कतिपय प्रवर्ग, प्राविधिक पदावली र निष्कर्षमा प्रकाश पारिएको छ । त्यस्तै अध्याय छमा तत्वमीमांसा शीर्षक अन्तर्गत तत्व परिचय, भौतिकवाद, आदर्शवाद, मध्यवर्ती धारा, निष्कर्षमा प्रकाश पारिएको छ । अध्याय सातमा ज्ञानमीमांसा अन्तर्गत चतुष्टय पदपरिचय, प्रमाण विवेचना र ज्ञानको स्रोत, के संसार ज्ञय छ ? सत्ता र चिन्तनको सम्बन्ध, सत्यको सापेक्षता र निरपेक्षता, सत्यको प्रकृति र कसौटी, निष्कर्ष राखिएको छ भने अध्याय आठमा आचारमीमांसा अन्तर्गत भौतिकवादी धारा, आदर्शवादी धारा, मध्यवर्ती धारा र निष्कर्ष राखिएको छ । अध्याय नौमा केही प्रमुख वाद तथा सिद्धान्त अन्तर्गत कारणवाद, प्रामाण्यवाद र भ्रान्तिको सिद्धान्त, ईश्वरवाद, प्रमाणुवाद, अपोहवादको चर्चा गरिएको छ । अध्याय दसमा शब्दबोध र भाषाचिन्तन अन्तरगत ब्याकरण सम्मत मान्यता, दार्शनिक मान्यता, साहित्यशास्त्रीय मान्यता, एक सङ्क्षिप्त तुलना, निष्कर्षको चर्चा रहेको छ । अध्याय एघारमा वौद्ध तथा अद्वैत आदर्शवाद एक सङ्क्षिप्त तुलनामा कारणवादको सन्दर्भ, दुई सत्यको सिद्धान्त, शून्यवाद र मायावाद, वौद्ध चिन्तनबाट अद्वैत वेदान्ती प्रभावित, निष्कर्ष रहेको छ । अध्याय बाह«मा विज्ञान, दर्शन र धर्म शीर्षकमा प्रकृति विज्ञानमा योगदान, धार्मिक आतङ्क, विज्ञानको विकासमा अवरोध, निष्कर्ष छ । अध्याय तेह«मा हिमाली र पश्चिमी दर्शन एक सङ्क्षिप्त तुलना अन्तर्गत सामान्य तुलना, पारस्परिक प्रभावको प्रश्न र निष्कर्ष छ । अध्याय चौधमा पद्धति र सिद्धान्तका क्षेत्रमा विकसित सङ्घर्षको संश्लेषण, द्वन्द्ववाद र अधिभुतवाद, भौतिकवाद र आदर्शवाद, पदार्थ र गतिको सम्बन्ध, सिमा र समस्या, केही जटिलता र बिडम्बना, द्वन्द्ववाद र भौतिकवादः एकरूपताको प्रयास, निष्कर्ष समेटिएको छ । अध्याय पन्ध्रमा धर्म, तन्त्र दर्शन, सामान्य परिचय, धर्म तन्त्र र दर्शनको विकास, अन्य धर्म र दर्शन, आजको स्थितिसमेटिएको छ । त्यस्तै अध्याय सोह«मा नेपालमा दर्शन अन्तर्गत प्रारम्भिक अवस्था, सामन्ती अवस्था, अर्ध–औपनिवेशिक तथा नव–औपेनिवेशिक अवस्था, विज्ञान र प्रविधि, निष्कर्ष तथा उपसंहार शीर्षकहरूमा आधारित रहि विषयवस्तु माथि मिहिन र गहिरो रूपमा प्रकाश तथा विवेचना गर्ने प्रयास गरिएको छ ।

यसरी प्रकाश पार्दा अवस्यमेव लेखकको लामो समयको राजनीतिक अनुभव र सुझबुझ, जीवन जगतलार्ई हेर्ने दृष्टिकोण र दार्शनिक समझअनुसार विषयवस्तु र घटनाक्रमलार्ई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिचेत अनुसार नै समालोचना तथा विश्लेषण गर्ने कोशिस गरिएको छ । तथ्यद्वारा सत्य उद्घाटन गर्ने भरमग्दुर कोशिस गरिएको छ । लेखकको भनाईअनुसार हिमाली क्षेत्रमा विकसित दर्शनलार्ई बुझ्ने र अध्ययन गर्ने प्रक्रियामा जुन गलत चिन्तन तथा प्रवृत्ति देखापर्दै आएका छन् यहाँ तिनको विरोध तथा खण्डन गरिएको छ । पुस्तकमा ‘हिमाली दर्शन’को सुदीर्घ ऐतिहासिक परम्परामा विद्यमान द्वन्द्ववाद र भौतिकवादका अर्ध–परिष्कृत र परिष्कृत विशाल खजानालाई सङ्क्षिप्त नै भए पनि उजागर गर्ने प्रयास गरिएको छ । दार्शनिक फाँटमा नेपालले खेलेको भूमिका अथवा नेपालका याज्ञवल्क्य, कपिल, वुद्धलगायतका दार्शनिकहरूलाई कतिपय चिन्तकहरूद्वारा भारतीय दर्शन अन्तर्गत राख्ने काम भएकोमा यो नितान्त गलत भएको र तथ्यसत्य तोडमोड भएको प्रस्ट्याउँदै नेपालको राष्ट्रिय सांस्कृतिक परम्परा तथा स्वाभिमानमा गम्भीर आघात पुर्याएको भन्दै लेखकले चिन्ता प्रकट गरि त्यसबारेमा अध्ययन, अनुसन्धानमा आवश्यक सहयोग पुगोस् भन्नाखातिर पुस्तकमा वस्तुसम्मत धारणा बाहिर ल्याउने प्रयास गरिएको बताएका छन् ।

दर्शन जस्तो विषयवस्तु यसै पनि रुखो, झन्झट, गह«ौँ र बोझिला शब्दद्वारा व्यक्त गरिएको हुन्छ । उसो त त्यहाँ अभिव्यक्त बोली र भाषा सलल बगेको हुँदैन । तर पनि आम पाठक तथा स्रोताले त्यहाँ अभिव्यक्त बोलीलाई सजिलै बुझ्न सक्ने गरि उजिल्याइदिए तथा प्रष्ट पारिदिए हुने थियो भन्ने अपेक्षा राख्नु स्वभाविकै हुन जान्छ । पुस्तक पढिरहँदा भाषाको क्लिष्टता र भारिपनले पाठकलार्ई थिचिरहन्छ । यो चाहिँ खट्केको विषय हो । भनिन्छ र हो पनि कि– हरेक विषयवस्तुु, घटना क्रम, समाज, आफू वरिपरिको वातावरण र जीवन जगतलार्ई हेर्ने दृष्टिकोण र दार्शनिक समझको आधारमा नै मानिस यो वा त्यो कित्तामा रहने गर्दछ । उसका आचरण, व्यबहार, उठबस, खानपिन, सरसङ्गत, चालढाल र सोच्ने ढङ्ग सोहीअनुसार अभिव्यक्त हुने गर्दछन् । कामले, जिम्मेवारीले, पदीय हिसाबले ऊ जहाँसुकै होस् यदि दर्शनको क्षेत्रमा सामान्य सुझबुझ समेत राख्दैन भने ऊ त्यति स्वस्थ र भरपर्दो व्यक्तिमा दरिँदैन । यस मामिला र यस सवालमा गम्भीर चिन्ता प्रकट गरि पूर्वीय दर्शनमा देखिएका र व्याख्या गरिएका कतिपय अष्पटता र अपव्याख्यालाई तथ्यको जग आधारमा टेक्दै सत्य उद्घाटन गर्ने जांगर र मिहिनेत खर्चेकोमा लेखक हामी सबैको साधुवाद, आदर र सम्मानका पात्र बनेका छन् ।

फेरि पनि अन्त्यमा ‘हिमाली दर्शन’जस्तो यति गहकिलो, ओजपूर्ण र गम्भीरतम महत्व बोकेको पुस्तक तयार पारी हामी जस्ता दर्शनको क्षेत्रमा रुचि र सामान्य जिज्ञासा राख्नेहरूलाई र समाजलार्ई विचार पस्केकोमा लेखक आदरणीय व्यक्तित्व मोहन बैद्यजीलाई सलाम, सम्मान र आदर छ । ‘हिमाली दर्शन’ पुस्तक आफैमा एउटा बैचारिक खजाना हो । पुस्तक पठनीय र सङ्ग्रहनीय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर