कटारी, उदयपुर । उदयपुर कटारी–४ जहडी स्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर उठिबास लगाएपछि सुकुम्बासीहरु स्थानीय नगरपालिकाका मेयर, उपमेयरका विरुद्ध प्रतिरोधमा उत्रिएका छन् । कटारी नगरपालिका–४ जहडी बजारस्थित सन्तबहादुर सुनुवार र मानबहादुर दनुवारको क्रियापुत्री बसेको घर डोजर लगाई भत्काइएपछि बस्तीका सैयौं सुकुम्बासीहरुले कटारी नपाका मेयर ज्ञानबहादुर श्रेष्ठ, उपमेयर भिमकुमारी राउत लगायतका घरमा ढुंगामुढा प्रहार गरी तोडफोड गरिदिएका छन् ।
जेठ ५ गते दिउँसो भएको यस घटनालई सामान्य बनाउन प्रहरीले सात सेल अश्रुग्याससमेत प्रहार गर्नु परेको थियो । डोजरले घर भत्काएको एक डेढ घण्टापछि जम्मा जम्मा भएका सुकुम्बासीहरुले कटारीको कडा निषेधाज्ञालाई तोड्दै नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ,उपप्रमुख भीमकुमारी राउत,वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवार र प्राविधिक ओम मिश्रको घरमासमेत ढुंगामुढा गरी क्षति पु¥याएको हो ।
तोडफोडमा संलग्न भएको आरोपमा कटारी –३ शान्तिचौकका २६ वर्षीय शरद सुनुवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको सुरक्षास्रोतले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन ।
विवादको चुरो अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) बर्दिबासले सो जग्गा भूमाफियासँग मिलोमतो गरी बेचेको आरोपमा नगरपालिकाविरुद्ध छानविन गरिरहेको छ ।
सो बस्तीमा १५० भन्दा बढी सुकुम्बासीहरु बर्सौदेखि बसोबास गर्दै आएका छन् । नगरपालिकाले किरिया बारेर बसेका सुकुम्बासीको घर समेत कोरोनाको महाव्याधीको बेला भत्काएपछि आक्रोसित बनेका छन् । उनीहरुले स्थानीय सरकारको ज्यादतिक विरुद्ध आज पनि कटारी बजार ठप्प पार्ने तयारी गरेका छन् ।
यसैबीच, सुमुम्बासीमाथि भएको स्थानीय नगरपालिकाको ज्यादतिको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)ले वक्तव्य जारी गर्दैछ ।






























