
काठमाडौं । रुपन्देहीका स्थापित जनजाति नेता दलबहादुर छन्त्यालको कोरोना संक्रमणबाट निधन हुन पुगेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का रुपन्देही जिल्लाका सदस्य तथा अखिल नेपाल जनजाति महासंघ केन्द्रीय सदस्य एवम् ५ नं. प्रदेशका संयोजक छन्त्यालको बिहीबार विहान ११ बजे बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेता छन्त्यालको निधनले स्तब्द र दुखित् भएको भन्दै अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष प्रा.डा. ओम गुरुङले एक शोक वक्तव्य जारी गर्दै मृतक छन्त्यालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
बिहीबारै जारी गरिएको शोक वक्तव्यमा भनिएको छ, “कमरेड दलबहादुर छन्त्याल अत्यन्त सरल, मिलनसार, सहयोगी हुनुहुन्थ्यो । उहाँ उत्पीडित जाति तथा वर्गको अधिकारका लागि सदा संघर्षशील व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले जनजाति तथा राजनैतिक क्षेत्रमा बाहेक सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । उहाँको निधनबाट नेपालको जनजाति र कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।”
