
पोखरा । अन्ततः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङले नै सपथ खाएका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सपथ खुवाएकी हुन् । प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, तोकिएको समयभित्र चार दलले हस्ताक्षर बुझाएको भएपनि आवश्यक बहुमत पुर्याउन नसकेका कारण पुनः मुख्यमन्त्री गुरुङलाई नियुक्त गरेकी हुन् ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिम विक्रम शाही तटस्थ बसेपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्याउन सकेन । मुख्यमन्त्रीमा नियुक्त गुरुङले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । तर, उनको दलका २७ मात्र सांसद रहेका छन् ।
मनाङ ‘ख’ बाट स्वतन्त्रमा निर्वाचित सांसद राजिव गुरुङ (दिपक मनाङे) सहित उनीसँग २८ सांसद छन् । उनलाई गण्डकी प्रदेशका ६० सदस्यमध्ये ५० प्रतिशत अर्थात ३१ मत आवश्यक पर्छ ।





























