रुपन्देहीमा मात्रै अक्सिजन नपाएर १४ जना संक्रमितले दम तोडे

रुपन्देहीमा मात्रै अक्सिजन नपाएर १४ जना संक्रमितले दम तोडे


बुटवल । रूपन्देहीमा मात्रै अक्सिजन नपाएर १४ जना संक्रमितहरुले ज्यान गुमाएका छन् । अक्सिजन अभावमा मंगलबार राति र बुधबार गरी १४ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको भैरहवास्थित भीम अस्पतालमा र अरु बाँकीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
कोरोना विशेष अस्पतालको आकस्मिक कक्ष र एचडीयूमा उपचाररत बिरामीका लागि अक्सिजनको जोहो गर्न नसक्दा मंगलबार राति ४ जना, बुधबार बिहान २ जना र अपराह्न ४ बजेतिर आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु भएको छ । आकस्मिक कक्ष र एचडीयूमा उपचाररत ५ पुरुष र १ महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिला र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
त्यसअघि मंगलबार राति ४ जनाको मृत्यु भएको थियो । गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुष, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुष, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुष र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको त्यही दिन राति मृत्यु भएको हो । उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।
आईसीयूमा उपचाररत २९, ४४, ५२ र ५९ वर्षका व्यक्तिको मृत्यु भएको हो । तीमध्ये २९ वर्षीय पुरुष बुटवल–११ का हुन् । ती युवकले यही वैशाखमा विवाह गरेका थिए । उनी बिहेपछि कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएका थिए । भीम अस्पतालमा मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर–४ की ४४ वर्षीया महिला छन् ।