काठमाडौ । नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २ हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको हो।
नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार मंगलबार मात्र उपत्यकाका तीन जिल्लामा ३ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५ सय ३७ र ललितपुरमा ६ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैबीच, उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबार सकिने भएपछि दुई साता थपिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर