काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोनाभाइरस संक्रमण भएको छ । सिंहको उपचार होम आइसोलेसनमा भइरहेको सो पार्टीले जनाएको छ । सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीले एक वक्तव्य जारी गरी सो जानकारी दिएका हुन् ।
वक्तव्यमा भनिएको छ, ‘उहाँमाथि सङ्क्रमणको प्रारम्भिक अवस्था छ र सुधार उन्मुख दिशामा बढिरहेको छ । दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ ।’
महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दूर्गा पौडेलका पति हुन् । केही दिनयता बिरामी परेका सिंहको हिजो (सोमबार) कोरोना पोजिटिभ देखिएको हो ।
सांसद दुर्गा पौडेलका अनुसार महामन्त्री सिंहलाई चार दिन अघिदेखि ज्वरो र खोकीले सताएको थियो भने अक्सिजनको लेभल पनि घटेको थियो । अहिले भने सुधार भएको छ ।
महामन्त्री सिंहसँगै उनका छोरा विश्वमोहनलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उक्त पार्टीका प्रवक्ता र राजमोका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य निकालेर सिंहको स्वास्थ्यलाभको कामना गरेका छन् ।






























