चीनले एक अर्ब बराबरको सहयोग गर्ने, ५० लाख डोज रुसी खोप ‘स्पुतनिक–५’ ल्याउने तयारी

चीनले एक अर्ब बराबरको सहयोग गर्ने, ५० लाख डोज रुसी खोप ‘स्पुतनिक–५’ ल्याउने तयारी

काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ५ मिलियन आरएमबी (करिब ९१ करोड ९१ लाख ९२ हजार रुपैयाँ) बराबरको सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले भिडियो कन्फरेन्समा यस्तो सहयोगको प्रतिबद्धता जनाएका हुन् । चीनले यसअघि नेपाललाई ८ लाख डोज सिनोफार्म खोप सहयोग गरेको थियो ।
चीनले मंगलबार फेरि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का मुलुकहरूलाई समेटेर ‘कोभिड–१९ को प्रतिकार्यका लागि संयुक्त प्रयास’ नामक भिडियो कन्फरेन्स गरेको थियो । चीनका विदेशमन्त्री वाङको नेतृत्वमा भएको उक्त कन्फरेन्समा सार्कका सदस्यमध्ये भारत, भुटान र माल्दिभ्स मात्र सहभागी थिएनन् । चीनले यसअघि पनि सन् २०२० जुलाई २७ मा वाङकै नेतृत्वमा कोभिड–१९ मा क्षेत्रीय सहकार्य गर्ने भन्दै भारतलाई छाडेर नेपाल, पाकिस्तान, अफगानिस्तान र आफू सम्मिलित भिडियो कन्फरेन्स गरेको थियो । मंगलबारको कन्फरेन्समा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्ध प्रतिकार्य र आर्थिक पुनरुत्थान गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच, सरकारले ५० लाख डोज रुसी खोप ‘स्पुतनिक–५’ ल्याउने तयारी गरेको छ । सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खोप ल्याउने विषयमा बुधबार टुंगो लाग्ने सम्भावना रहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, रुसबाट आएको एक टोली र नेपालस्थित रुसी राजदूतावासबीच बुधबार छलफल हुँदै छ । खोप कति संख्यामा, कति मूल्यमा र कहिले आइपुग्नेलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।