नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका ७० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । अस्पतलामा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् ।
अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । अस्पतालमा हाल करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन् ।
अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा थप भर्ना लिन सक्ने अवस्थामा छैन । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन् । जसमध्ये २८ जनाको स्थिति गम्भीर अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
मन्त्रालयका अनुसार भेरी अस्पतालका लागि १० जना मेडिकल अफिसर, दुई जना नर्सिङ अधिकृत, तीन जना एनेस्थेसियोलोजिस्ट, पाँच जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना जनशक्ति थपिने छन् ।
मन्त्रालयले भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको उपचारका लागि २५ हजार, आईसीयूका लागि १० हजार र अक्सिजन बेडका लागि ३ हजार ५ सय उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर