आज निद लागेन प्रिय
टोलाइयो आकाश हेरेर निकै बेर
तारापुञ्जको सफर गरियो
र पुगियो गाउँखर्कहरू
खोला खहरे र बेसीका आकाशहरूमा
ऐसेलु, काफ टिपियो र
कलकल कलकल खहरेको
चिसो पानी पिएर प्यास मेटाइयो ।

विशाल सागरको सफर जुर्छ,
कहिले कसो
विशाल बंगलाको बास जुर्छ,
कहिले कसो
निर्मित चिसो हावाको स्वास फेरिन्छ
कहिले कसो
किन्न पाइन्छ सबै
हावा फोक्सो भरिको
पानी प्यास भरिको
निद सिरानी भरिको
तर नि प्रिय,
सपना जुर्दैन सुनौलो
अलगबगल सुतेका चिचिलाहरूको
निर्दोश चेहरामा हात फेर्दै
तिम्रो जुल्फीको बास्नासँग
मदहोस हुँदै
अँगालोको सपना जुर्दैन प्रिय
र जुर्दैन
बाहुपासको कसिलो बन्धन
खेल्दै खेलाउँदै तर्कका भेलहरू
तान लगाउँदै
सपनाका झुपडीहरूको
आगनको डिलमा रोपिने मखमली
बारीको डिलमा रोपिने गुर्दौली
र कोक्रोको सपना जुर्दैन प्रिय
जो झुलोस् पीडिमा र
झुलाउन सकियोस् लहैलहैलहै ।

मेटिदैन तिर्खा
मेटिदैन भोक
भुलिदैन पदचापहरू
हराउँदैनन् संझनाहरू
सुक्दैनन् पसिनाका भेलहरू
मूललाई छोडेर आएसी बग्न दिएर
ढिकीजातो छोडेर आएसी
अलपत्र पारेर
रजनीगन्धाको महक बोकेर
बहँदैं गरेको चिसो पवनलाई
छोडर आएसी पाखा पखेरामा
निद लाग्दैन
निद नलागेसी सपना जुर्दैन
र सपना नभएसी
जुर्दैन प्रिय
घाँस दाउराको भारी बिसाएर
चौतारीमा,
मनका भाका सुसेल्ने
सुजोक समेत ।
बुटवल

प्रतिक्रिया

सम्बन्धित खवर