विराटनगर । प्रधानमन्त्री केपी ओलीको गृहनगरमा सरकारले भूमिहीन किसान तथा सुकुम्बासीहरुको बस्तीमा डोजर लगाएर जबर्जस्त विस्थापित र विचल्ली पारेपछि नेकपा (क्रान्तिकारी माओवादी)ले त्यस घटनाको घोर विरोध एवम् भत्र्सना गरेको छ । पार्टीको १ नंं प्रदेशका इन्चार्ज मिनकुमार र सेक्रेटरी प्रशान्तले संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्दै घटनाको विरोध गर्नुभएको हो ।
चैत्र २७, २०७७ मा झापा जिल्लाको दमक नपा वडा नंं ७ पञ्चमुखी टोलमा ०५७ सालदेखि बसोबास गर्दै आएका भूमिहिन किसान बस्तीमा विना सूचना अकस्मात ठूलो समूहमा प्रहरी परिचालन गरी डोजर लगाएर किसानहरुलाई आफ्नो खाद्यान्न लगायत दैनिक उपभोग्य सामान समेत निकाल्न नदिई घर टहरा भत्काई किसानहरुलाई विचल्ली बनाएको भन्दै वक्तव्यमा घोर विरोध एवम् भत्र्सना गरिएको छ । वक्तव्यमा जबर्जस्त विस्थापित गराइएका भूमिहीन किसानहरुलाई सोही ठाउँमा पुनस्र्थापित गराउन र उनीहरुको घर टहरा बनाइ सम्पूर्ण क्षति दिलाउन स्थानीय नपा लगायत राज्यका निकायसँग जोडदार माग गरिएको छ ।


वक्तव्यमा उक्त भुमिहीन किसान बसोबास गर्दै आएको जमिन २०२१ सालको नक्सा अनुसार पुर्वपश्चिम राजमार्ग देखिएको (हाल राजमार्ग सो जमिनबाट करिब ३०० मि. दक्षिणमा रहेको) र २०५७ बैशाख १ गतेमा बासोबास भएको, त्यस पछिको सरपट नापीको नक्सामा समेत बस्ती नै देखिएको तर २०६६ सालमा दमक नपाको नाममा जालसाजीपूर्ण रुपमा श्रेस्ता काय गराएको भन्दै सो जमिन विस्थापित किसानहरुकै स्वामित्व कायम हुने गरी पुनस्र्थापित गर्न क्रान्तिकारी माओवादीले माग गरेको छ ।
वक्तव्यमा विस्थापित गराइएका किसानहरुलाई पुनस्र्थापित गराउनका लागि आवाज उठाउन राज्यलाई दबाब दिन राजनैतिक पार्टी, नागरिक समाज, मानवअधिकारवादी संघ संस्था लगायत सुकुम्बासी संघ संगठनहरुलाई समेत अपिल गरिएको छ ।     

प्रतिक्रिया

सम्बन्धित खवर