नेकपा (क्रान्तिकारी माओवादी)को पोलिटब्यूरोको बैठक यही चैत्र २८ र २९ गते सम्पन्न भएको जानकारी प्राप्त भएको छ । बैठकमा लिइएका निर्णयहरुबारे एक प्रेस–वक्तव्य मार्फत सार्वजनिक गरिएको छ, जसको पूर्ण पाठ तल दिइएकोछ–
पेलिटब्यूरोको प्रेस–वक्तव्य
२०७७ चैत्र २८ र २९ गते महासचिव कमरेड किरणको अध्यक्षतामा नेकपा (क्रान्तिकारी माओवादी)को पोलिटब्यूरोको बैठक बस्यो । बैठकमा लिइएका निर्णयहरुबारे यसै प्रेस–वक्तव्य मार्फत सार्वजनिक गरिएको छ ।
१. प्रारम्भमा विभिन्न जनआन्दोलन, जनयुद्ध र क्रान्तिका सम्पूर्ण अमर सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. बैठकमा उपस्थित सबै कमरेडहरुद्वारा वर्तमान परिस्थिति, सङ्गठन तथा सङ्घर्षसम्बन्धी कामको समीक्षा र आगामी कामको दिशाबारे सङ्क्षिप्त रिपोर्टिङ् गरियो र कामको वस्तुगत आवश्यकता तथा आत्मगत स्थितिका बीच अन्तर्विरोध रहेको कुरा उल्लेख गर्दै त्यसको समाधानका लागि विशेष प्रयत्न गर्ने निष्कर्ष निकालियो ।
३. सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे २०७८ साल वैसाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय लिइएको छ ।
४. सबै प्रदेशहरुमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ठेगान गरिएको छ ।
५. पहिले लिइएका निर्णयअनुसार २२ अप्रिललाई पार्टी स्थापना दिवश तथा लेनिन दिवसका रुपमा मनाउने, मई दिवसलाई सबै प्रदेशहरुमा केन्द्रित कार्यक्रमका रुपमा मनाउने र माक्र्स विदस पनि मनाउने निर्णय लिइएको छ ।
६. भारतीय विस्तारवादद्वारा अतिक्रम गरिएको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक सहित विशाल भूभागलाई फिर्ता गराउनेबारे गम्भरितापूर्वक आवश्यक पहल नै नगरेको, राष्ट्रपतिद्वारा विभूषण/पदक प्रदान गर्ने प्रक्रियामा भारतद्वारा मिचिएको उक्त भूभागको पुरानै नक्सालाई कायम गरिएको र एमसीसी सम्झौता संसदमा पारित गराउने धृष्टता गरिँदै आएकोमा हाम्रो पार्टी सरकारको कडा विरोध तथा भत्र्सना गर्दछ । साथै, देशको राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्ति र आम जनसमुदायमा हार्दिक अपिल समेत गर्दछ ।
७. सङ्घर्षसम्बन्धी कामबारे निम्न अनुसार निर्णय लिइएका छन् :
(क) देशको राष्ट्रिय स्वाधीनताको रक्षा, मजदुर, किसान, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, अधिकारको प्राप्ति, बेरोजगारी सहित जनजीविकाका समस्याको समाधान, भ्रष्टाचार कमिसनतन्त्र, महङ्गी, महिलाहरुको बलात्कार तथा हत्याको विरोध लगायतका विषयलाई लिएर विकेन्द्रित तथा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने ।
(ख) संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरुद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने ।
(ग) वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था आर्थिक, राजनीतिक एवम् सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको, संसदीय व्यवस्था तथा कम्युनिस्ट नामधारी संशोधनवादी शक्ति गम्भीर सङ्कट तथा विभाजनमा फसेको वर्तमान अवस्थामा देश र जनताका हक, हित तथा मुक्तिका लागि नयाँ जनवादी राज्यसत्ता अर्थात् सङ्घीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादको विकल्पलाई सशक्त रुपमा प्रस्तुत गर्ने ।
हार्दिक अभिवादन सहित !
चैत्र ३१, २०७७

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)

प्रतिक्रिया

सम्बन्धित खवर