
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सम्पन्न भएको छ । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा आधारित यो चुनावमा नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनका उम्मेदवार विपुल पोखरेल नेतृत्वको प्यानलले देशैभर जित हासिल गरेको छ । प्रतिगमन विरोधी मोर्चाको नाम दिइएको यो चुनावी गठबन्धनमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन, नेकपा (एमाले माधव समूह) निकट प्रेस चौतारी, नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघ, नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ लगायतका संगठनहरु रहेका थिए । सँगै सैद्धान्तिक सहमतिमा हस्ताक्षर गर्ने अन्य संगठनहरुमा क्रान्तिकारी पत्रकार संगठन, प्रेस सेन्टर, मधेशी पत्रकार समाज लगायत पनि थिए । तर उम्मेदवारहरुको चुनावी प्यानल बनाउने क्रममा संसदमा प्रतिनिधित्व गर्ने चार राजनीतिक पार्टी निकटका पत्रकार संगठनको मात्रै बनाइयो । क्रान्तिकारी पत्रकार महासंघको तीव्र असहमतिका बाबजुद चारवटा संगठन प्यानल बनाएर चुनावमा होमिए । क्रान्तिकारी पत्रकार महासंघले केन्द्रमा प्यानलमा सहमति नबने पनि सैद्धान्तिक सहमतिभन्दा बाहिर नगई केन्द्र, प्रदेश र जिल्लाहरुमा उम्मेदवार उठायो । उपत्यका प्रदेश र लुम्बिनी प्रदेशमा क्रान्तिकारी पत्रकार महासंघका उम्मेदवारहरु पनि प्यानलमा समेटिए भने जिल्लाहरुमा ललितपुर, रुपन्देही, नवलपुर, चितवन, पर्वत, डडेलधुरा, उदयपुर लगायतका जिल्लामा प्यानल बने । प्यानल बनेको ठाउँमा प्यानललाई र नबनेको ठाउँमा स्वविवेक प्रयोग गरी मतदान गर्न संगठनले मतदाताहरुलाई सर्कुलर गर्यो ।

निर्वाचन परिणामका अनुसार क्रान्तिकारी पत्रकार महासंघले उपत्यका प्रदेशमा खुल्ला सदस्यको रुपमा विधुर ढकाल र लुम्बिनी प्रदेशमा संगठनका उपाध्यक्ष समेत रहेका टेक मास्कीरानाले जनजाति सदस्यमा जित हासिल गर्नुभएको छ । त्यसैगरी जिल्लाहरुतर्फ ललितपुरमा जिल्ला शाखाको उपाध्यक्षमा संगठनका सचिव समेत रहेका रनसुर महतराले, खुल्ला सदस्यमा विष्णु आलेले र केन्द्रीय परिषद् सदस्यमा संगठनका अध्यक्ष समेत रहेका इन्द्र राउतले चुनाव जित्नु भएको छ ।
संगठनका पूर्व केन्द्रीय सदस्य गोपाल जिसीका अनुसार पर्वतमा क्रान्तिकारी पत्रकार महासंघका तीन जना उम्मेदवारहरुले जिल्ला कार्यसमितिमा जित हासिल गर्नुभएको छ । महिला उपाध्यक्षमा इन्दु तिवारी, सहसचिवमा निर्मल पौडेल र सदस्यमा महेन्द्र जिसीले जित हासिल गर्नुभएको हो ।

त्यसैगरी नवलपुरमा यमबहादुर सोमै जनजाति सदस्यमा र डडेलधुरामा दिपक भट्ट खुल्ला सदस्यमा निर्वाचित हुनुभएको छ भने बागमति प्रदेश परिषद् सदस्यमा चितवनबाट दिपक पोखरेल निर्वाचित हुनु भएको छ ।
केन्द्रमा उम्मेदवारी दिनु भएका संगठनका नेताहरु कावा अध्यक्ष नारायण पंगेनीले खुल्ला केन्द्रीय सदस्यमा ६३२ मत प्राप्त गर्नुभयो भने महासचिव रामकुमार श्रेष्ठले जनजाति सचिवमा १११३ मत प्राप्त गर्नुभयो । लुम्बिनीबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका संगठनका कोषाध्यक्ष रवि पाण्डेयले ८१ मत प्राप्त गर्नुभयो । कञ्चनपुरको कोषाध्यक्षमा उम्मेदवारी दिनुभएका संगठनका केस तथा सुदूरपश्चिम प्रदेश संयोजक धनञ्जय अवस्थीले २६ मत प्राप्त गर्नुभयो भने सदस्यमा उम्मेदवारी दिनुभएका भुवन भट्टले पनि २६ मत नै प्राप्त गर्नुभयो ।

उता दाङबाट केन्द्रीय परिषद् सदस्यमा उम्मेदवारी दिनुभएका संगठनका सल्लाहकार संयोजक हिरामणी दुःखीले २७ मत प्राप्त गर्नुभयो भने उदयपुरबाट केन्द्रीय परिषद् सदस्यमै उम्मेदवारी दिनुभएका संगठनका केस तथा प्रदेश १ का संयोजक मधुकर थापाले ३१ मत प्राप्त गर्नुभयो । दाङमा सुरुमा प्यानलमा राखेर उम्मेदवारी दिन लगाइए पनि उम्मेदवारी फिर्ताले अवधि समेत सकिएपछि हिरामणि दुःखीको नाम विभिन्न बाहनाबाजी गरी प्यानलबाट हटाइयो ।
प्यानलमै उम्मेदवारी दिएका रुपन्देही शाखा सदस्यका उम्मेदवार मानबहादुर कुँवरले १४६ मत पाएर पनि पराजित हुनुभयो भने नवलपरासीबाट सदस्यमा उम्मेदवारी दिनुभएका संगठनका जिल्ला अध्यक्ष समेत रहनुभएका संजय तिवारी पनि पराजित हुनुभयो ।


प्रतिगमनका विरुद्ध प्रेस युनियनको नेतृत्वमा चुनावमा जाने सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरेको क्रान्तिकारी पत्रकार महासंघलाई प्रेस युनियन, प्रेस संगठन लगायतका आफूलाई ठूला संगठन दावी गर्नेहरुले क्रान्तिकारी पत्रकार महासंघका उम्मेदवारहरुलाइै केन्द्रदेखि जिल्ला तहसम्म प्यानलमा समावेश गरेर जानुपर्ने आधारभूत नैतिकता र इमान्दारिता पनि प्रदर्शन गरेनन् । बरु विभिन्न बाहनाबाजी गरी क्रान्तिकारी पत्रकार महासंघ लगायत क्रान्तिकरी धारका उम्मेदवारहरुलाई योजनाबद्ध निषेध गर्ने काम गरियो ।





























