
काठमाडौँ । चितवनमा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्र्याक्टर दुर्घटनामा ५ जना मजदुरको मृत्यु भएको हो । आइतबार साँझ ७ः३० बजे मजदुर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १९ जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर दुर्घटनामा मृत्यु हुने मजदुरहरुमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।
एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका हुन् ।
प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था भने सामान्य रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
