सुकुम्बासी बस्तीमा डोजर लगाएर ओलीले बनाउन लगाए सपिङ कप्लेक्स, सुकुम्बासीको विचल्ली

प्रकाशित मिति : २०७७ चैत्र २९

दमक । ओली सरकार सुकुम्बासीहरुप्रति अनुदार बन्दै गएको छ । पछिल्ला दिनमा भूमाफियासँग मिलेर बर्सौदेखि सुकुम्बासीहरुले भोगचलन गर्दै आएको थातथलोबाट जबर्जस्त विस्थापित गरी सो ठाउँमा व्यापारिक कम्प्लेक्सहरु बनाउन थालिएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी ओलीकै गृहजिल्लाभित्र पनि उनकै गृहनगरमा सुकुम्बासीहरुको बस्तीमा डोजर लगाएर उठिबास लगाइएको छ । तीन पुस्तादेखि बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई समेत उठिबास लगाएर सो क्षेत्रमा व्यापारिक कम्प्लेक्स निर्माण गर्न लगाइएको छ ।
प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा एक अर्ब लगानीमा १८ तले भ्यु टावर निर्माणाधीन छ । यहाँ ७ तलाको सपिङ कम्प्लेक्स पनि बन्दै छ । ४० करोड लागतमा सपिङ कम्प्लेक्स बनाउने क्रममा वर्षौंदेखि बसिरहेका दर्जनभन्दा बढी सुकुम्बासी परिवारको भने बिचल्ली पारिएको छ ।

प्रधानमन्त्रीका नातेदार (भतिज) दमकका मेयर रोमनाथ ओलीको निर्देशनमा शुक्रबार सुकुम्बासीका घरमा डोजर चलाइएको थियो । करिब १० कट्ठा जमिनमा बस्दै आएका दमक–७ हाटखोलाका १२ घर र ४ कट्ठामा बस्दै आएका पञ्चमुखी टोलका ८ घर सुकुम्बासीको उठीबास लगाइएको भएको हो ।

केही सुकुम्बासी नगरपालिकाले विपन्नका लागि बसाएको नयाँ बस्तीमा आश्रित छन् । दमक–७ रतुवा खोला बगरको यो बस्तीमा बर्खामा सधैं बाढी पस्छ । कतिपय विस्थापित घर भत्काइएको क्षेत्रमै खुला आकाशमुनि पाल टाँगेर बसेका छन् । शुक्रबार रातिदेखि नै उनीहरूले खुला आकाशमै रात गुजार्दै आएका छन् ।

पूर्व सूचना नै नदिई घर भत्काइएको सुकुम्बासीहरुले आरोप लगाएका छन् । सुकुम्बासीहरुलाई प्रहरी कार्यालयमा बोलाएर त्यही मौका पारी घर टहरा भत्काइएको पञ्चमुखी टोलबाट उठीबास लागेपछि बिचल्लीमा परेकी ठगकुमारी साउदेनले भनिन्, ‘हामीलाई प्रहरी कार्यालयमा बोलाएर हाम्रो अनुपस्थितिमा घर भत्काइयो ।
त्यस ठाउँमा सुकुम्बासीहरू २०५७ सालदेखि बस्दै आएका थिए । हाटखोलाका सुकुम्बासीको भने तेस्रो पुस्ता चल्दै छ । स्थानीय चन्द्रबहादुर नेपालले २००७ सालदेखि हजुरबा यहाँ आएर बसेको दाबी गरे ।