पदक वितरणको नाममा राष्ट्रघात भएको भन्दै देजमोले ग¥यो विरोध सभा

प्रकाशित मिति : २०७७ चैत्र २८

- अनु निराैला


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले तक्मा तथा पदक वितरणको नाममा राष्ट्रपतिमार्फत् सरकारले राष्ट्रघात गरेको भन्दै विरोध प्रदर्शन गरेको छ । मोर्चाको काठमाडौं जिल्ला समितिले आज रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन तथा कोणसभा गरेको हो । विरोध प्रदर्शन तथा कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी)की केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्जले विरोध मन्तव्य राख्नुभयो ।
कोणसभामा देजमो काठमाडौंका अध्यक्ष बन्धुदेव पाण्डेले विरोध मन्तव्य राख्नुभएको थियो । कोणसभाको सञ्चालन मोर्चाका जिल्ला नेता ढोगप्रसाद अधिकारीले गर्नुभएको थियो ।
विरोध मन्तव्य राख्दै नेताहरुले ओली सरकारको राष्ट्रघाती कदमको घोर विरोध एवम् भण्डाफोर गरेका थिए । संविधान संशोधन गरेर समेत नेपालको आधिकारिक नक्साको रुपमा लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नक्सा कायम गरिएको अवस्थामा राष्ट्रपतिले पदक तथा तक्मा वितरण गर्दा लिम्पियाधुरा–लिपुलेक–कालापानी गायब पारिएको बुच्चे नक्सा प्रयोगलाई देजमोले राष्ट्रघातको संज्ञा दिएको छ ।
यसअघि दशैको शु्भकामना सन्देश दिंदा पनि प्रधानमन्त्री ओलीले यही बुच्चे नक्सा प्रयोग गरो थिए । चुच्चे नक्सा प्रयोगको संवैधानिक प्रावधानलाई समेत लत्याउँदै पटक पटक सरकारले यसरी बुच्चे नक्सा प्रयोग गर्न थालेपछि ओली सरकारले भारतीय विस्तारवादी शासकसँग भित्रभित्रै सम्झौता गरेको हो कि भन्ने गम्भिर आशंका उत्पन्न हुन पुगेको छ ।
देशव्यापी रुपमा नक्सा अनुसारको नेपाली भूमि कायम गर्न र कालापानीबाट भारतीय सेना हटाउन ओली सरकारलाई दबाब दिइरहेको अवस्थामा सरकारले लिम्पियाधुरासहितको नक्सा प्रयोग नगर्नुले ओली सरकारले भित्रभित्रै लिम्पियाधुरा–लिपुलेक–कालापानीलगायतको नेपाली भूमि बेचिखाएको त होइन भन्ने गम्भिर प्रश्न खडा हुन पुगेको छ ।
ओलीको यस्तो राष्ट्रघातका विरुद्ध सम्पूर्ण देशभक्त तथा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर विरोधमा उत्रनुपर्ने बेला भएको छ ।
क्रान्तिकारी माओवादी तथा देजमोले विगत लामो समयदेखि राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौमसत्ताको रक्षाका लागि निरन्तर रुपमा खबरदारी तथा दबाब आन्दोलन गर्दै आएको छ ।