कवितामा राष्ट्रियताको भाव तथा नवसंशोधनवादी विचारका विरुद्धको स्वर कसरी ध्वनित भएका छन् भन्ने कुराको दृष्टान्त प्रस्तुत गर्न यहाँ दुई बेग्लाबेग्लै कविता लिइएको छ । कवि मेदिनीनाथ सुवेदीको ‘धम्की न दे भारत’ शीर्षकको कविता राष्ट्रप्रेम, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभीमानी चरित्रको वर्णन गरिएको कविता हो । यो २०२७ सालमा रचिएको पद्य छन्दको कविता हो । त्यतिबेला नेपाल–भारत पारवहन बिग्रेको थियो र भारतले नाकाबन्दी गरी नेपाललाई दुःख दिएको थियो । त्यस घटनाले कवि हृदयमा पारेको प्रभाव स्वरूप मेदिनीनाथले भारतीय शासक वर्गको उक्त रवैयाप्रति चुनौती दिँदै ‘धम्की न दे भारत’ शीर्षकको कविता लेखेका थिए । प्रस्तुत कवितामा उनले नेपाल–भारतको सम्बन्ध धेरै पुरानो भएको, नेपाल–भारतबीचको आर्थिक, सांस्कृतिक र कतिपय भाषागत सम्बन्ध रहनु, तथा दुई देशबीच खुला सीमा रहनुको कारण दुई देशबीचमा सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिन्छन् । तथापि इतिहासदेखि असल सम्बन्ध रहँदै आएकोमा अहिले आएर भूगोल र जनसङ्ख्याका आधारमा नेपाल सानो देश हुनुको नाताले नेपालको कमजोरी ठानेर भारतले नेपाललाई हेप्न खोजेको हो त भन्ने प्रश्न गर्छन् । उनले लेख्छन् ः
हाम्रो खास छिमेक भै स्थिति निकै मिल्दा दुवै देशको,
धेरै वर्ष अगाडिदेखि बलियो मित्रत्व सम्बन्ध भो ।
त्यो नै पुष्ट गराउँदै अघि बढ्यौँ के भूल हाम्रो छ त ?
सोझै राख्छु दबाबमा म त भनी धम्की नदे भारत !

सानो गर्दछ के सबै किसिमले मै हूँ ठूलो देश त,
खाँचो हुन्छ अनेक चीज न दिए नेपालमा के छ र ?
भन्ने भाव लिएर तुच्छपनका ठानेर हामीसित,
लत्री आउँछ, भित्र यो मत लिँदै धम्की नदे भारत !
यहाँ नेपाललाई सानो देश ठानेर भारत आपूm ठूलो देश भएको दम्भ लिँदै ठूलाले सानालाई जे पनि गर्न सकिन्छ भन्ने भावना, विचार भारतले नराखोस् भन्ने चेतावनी दिइएको छ । वास्तवमा ठूलाले सानालाई हेप्ने, चेप्ने, दुःख दिने, सताउने, तर्साउने, धम्काउने, मिच्ने, थिच्ने र अनेकौँ उत्पीडन गरेर सानालाई सके निल्ने नभए वशमा पारेर आफ्नो कठपुतली बनाउने सामन्तकालदेखि चल्दै आएको संस्कार र संस्कृति हो । यो व्यक्ति, परिवार समाज हुँदै राष्ट्रसम्म विकसित भएको कुरा हो । यही हेपाहा, मिचाहा प्रवृत्तिकै कारण पुँजीवादी समाज र राष्ट्र विस्तारवाद हुँदै साम्राज्यवादसम्म पुगेको हो । प्रस्तुत कवितामा नेपाल सानो छ, त्यसैले त्यहाँ केही पनि विकास नभएका कारण हरतरहले भारतमा झुक्न, माग्न, शरण पर्न आउँछ भन्ने भावना लिएर भारतले नेपाललाई नहेपोस् भन्ने सन्देश दिइएको छ ।
नेपाल सानै भए पनि यसले कुनै पनि देशको दासत्व स्वीकार गरेको छैन । यो कसैको उपनिवेश पनि बनेन । बरू धेरै वर्षसम्म भारत नै बृटिस साम्राज्यको उपनिवेश थियो । आज त्यही देशले आपूm ठूलो छु भन्दै नेपाललाई हेपेर दबाउन नखोजोस् भन्दै कवि भन्छन् ः
यो नेपाल पवित्र नै छ अरूको दासत्वले शून्य छ,
धेरै वर्ष त मुस्लिमी बृटिसको दासत्वमा भारत ।
बाँचेको इतिहास भन्छ भवमा साक्षी बनी स्पष्ट त,
ठूलो पेट नचाउँदै समरको धम्की नदे भारत !
कविले नेपालमा विश्व थर्काउने वीर सपुतहरू छन् । उनीहरूले रचेको वीरताको इतिहास र स्वाभिमानी नेपाली जनता छन् । ती जनता आफ्नो देशको रक्षा गर्न जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार छन् । यसमा भारतको जुनसुकै ताकतलाई पनि परिआए निस्तेज पार्न नेपाली तयार छन् भन्ने चेतावनी पनि कवि हृदयले यसरी व्यक्त गर्दछ ः
हाम्रा वीर सपूत छन् समरमा यो विश्व थर्काउने,
हाम्रा जोश र होस छन् मुलुक यो आकल्प जोगाउने ।
यो सांसारिक शत्रुको बल लिने नेपालमा शक्ति छ,
तेरो तागत छैन कत्ति यसमा, धम्की नदे भारत !
त्यसैले कवि मेदिनीनाथ सुवेदीले भारतलाई सन् १९६० मा जुन किसिमले व्यापार तथा पारवहन सन्धि भएको थियो, त्यही मुताविकको सन्धी तुरुन्त गर्न आग्रह गर्छन् । पारवहन सन्धि नेपालको नैसर्गिक अधिकार भएकोले भारतले यसमा थप कुनै शर्त राख्नुहुँदैन भन्ने भनाई राख्छन् । नेपालसँग शत्रुताको भाव राखेर भारतलाई कुनै फाइदा छैन भन्दै अहिले नाकाबन्दी गरेर जुन भुल गरिरहेको छ, यो भुलसुधार छिटै गर्न पनि भारतलाई कविले यसरी आग्रह गर्छन् ः
गर्दे सन्धि छिटै कि पारबहनी वाणिज्य सम्बन्ध यो,
साठी (१९६०) को जुन सर्तमा छ बलियो त्यै सर्तमा चल्छ यो ।
सम्झी राख भविष्य इज्जत नयाँ मित्रत्वले प्रेरित,
भै त्यो भूल सुधार झट्ट गरिदे, धम्की नदे भारत !
भारतले नेपालमाथि दुर्नियत राखेर नाकाबन्दी गरेको भनाई छ कविको । यसो गर्नु आफ्नै शरीरको छारो उडाउनु हो र यसले स्वयम् भारतलाई हित नहुने तर्क छ उनको । यसो भन्दै सुवेदीले बरू सक्छस् भने अमेरिका, चीन, रुस जस्ता ठूला देशलाई हाँक दिन चेतावनी दिँदै सानो देशलाई निल्छु भन्ने कलुषित भावना राख्न भारतले छोड्नुपर्छ भन्ने तर्क गर्छन् । साथै, नेपालीसँग त मेलमिलाप गरेर मित्रत्व सम्बन्ध राख्न सुझाव दिन्छन् । यस सम्बन्धमा सुवेदी अगाडि लेख्छन् ः
ठूला चीन अमेरिका रुसहरूलाई बरू हाँक दे,
साना देश अँठ्याउने कलुषता राख्ने प्रथा छोडिदे
तेरो यो स्थिति ठिक छैन अरूले भन्छन् सधैँ स्पष्टः,
नेपालीसँग मिल्नुपर्छ कहिल्यै धम्की नदे भारत !
यदि भारतले यसैगरी बलमिच्याइँ गरेर नेपाललाई दुःख दिने हो भने पूर्वजहरूले विस्तार गरेको पूर्वको टिष्टादेखि पश्चिम किल्ला काँगडासम्मको विशाल नेपाल फिर्ता लिन सक्ने ताकत नेपालीहरूसँग भएको चुनौती दिन्छन् । उनी यसबारे प्रस्ट गर्दै अगाडि लेख्छन् ः
टिस्टा पूर्व दिशा र पश्चिम दिशा किल्ला त त्यो काँगडा,
हाम्रो साँध थियो लडेर बलले सीमा गरेको खडा ।
त्यो ताजा इतिहास आज सबले आँट्यौँ भने सर्वतः,
आफ्नै देश बढाउँछौँ अघि बढी, धम्की नदे भारत !
उनले भारतीय शासकवर्गले जसरी नेपाललाई सानो राष्ट्र भनेर हेप्दै कमजोर छन् नेपाली भन्ने ठानेको प्रति कडा प्रतिवाद गर्छन् र पूर्वजले रचेको वीरताको इतिहास पढ्न चुनौती दिन्छन् । यदि अहिले (तत्कालीन समयका सन्दर्भमा) जसरी नाकाबन्दी गरेर नेपाललाई थर्काउन खोजेको छ, साँच्चै त्यसो गर्नै खोजेको हो भने गार्खाभर्ती मार्फत भर्ती गरिएका सबै नेपाली सेनालाई भारतीय फौजबाट फिर्ता गर्न चुनौती दिँदै अगाडि लेख्छन् ः
मान्दैनस् यदि सन्धि गर्न सुरिँदै गर्छस् भने निर्णय,
गर्छौँ पूर्ण विरोध कत्ति नझुकी हौँ वीरका वंशज ।
हाम्रा मानिस छन् त्यहाँ जति यहाँ फर्काई दे सैनिक,
लड्नै पर्छ भने लडौँ अघि सरी धम्की नदे भारत !
यसरी मेदिनीनाथ सुवेदीले २०२७ सालमा भारतले नेपालको नैसर्गिक अधिकारलाई बलात् आक्रमण गरी जसरी नाकाबन्दी गरेर पारवहन रोकेको थियो, त्यसका विरुद्ध कडा प्रतिवाद गरेका छन् । राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति इतिहासमा टिष्टादेखि काँगडासम्म र नालापानीदेखि गङ्गाको मैदानसम्म लडेको पूर्वजका वीरताका गाथाहरूलाई स्मरण गर्छन् र आवश्यक परे पुनः त्यो गाथा दोहो¥याउन तयार भएको हाँक प्रस्तुत कवितामार्फत दिन्छन् । राष्ट्रिय स्वाधीनता र सार्वभौमिक अखण्डताका निम्ति बरू मृत्यु स्वीकार्य छ तर दासता र अपमान स्वीकार्य छैन भन्ने सन्देश प्रस्तुत कविताको सार हो । यस कविताले वर्तमानमा आउँदा नेपालका शासकवर्ग र सत्ताको वरिपरि रहेका राजनीतिक दलहरूतर्फको व्यग्ङ्य पनि गरेको छ । जनताको प्रतिनिधि चेतनाको अभिव्यक्ति यो कविता हो भने नेपालका सत्ताधारी राजनीतिक दलहरूका मुख्य भनिएका नेता प्रस्तुत कविताको ठिक उल्टो भएको पाइन्छ । नेपालका बुर्जुवा राजनीतिज्ञदेखि संसदवादी कम्युनिस्ट हुँदै जनयुद्ध लडेर आएको माओवादीको एउटा पक्ष त्यही विस्तारवादी भारतीय शासकवर्गसँग आत्मसमर्पण गर्न पुग्छन् । यस्तो छ नेपाली विडम्बना !
यसैगरी नवसंशोधनवादको दृष्टान्त प्रस्तुत गरिएको एउटा कविताको चर्चा गरौँ ः
अछाम जिल्ला त्रिपुरासुन्दरी निवासी हाल काठमाडौँमा वसोवास गर्ने प्रगतिवादी कवि निभा शाहले ‘लालख्वामित’ शीर्षकको कविता लेखेकी छिन् । सङ्घर्ष गर्दा जनताका कुरा गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कुरा गर्ने तर जब सत्ताको नजिक पुग्छन् र सरकारमा जान्छन् तब रातारात नवधनाढ्य वर्गमा रूपान्तरण भएर आफ्नो वर्गप्रति घात गर्ने नेपाल कम्युनिट आन्दालनको यथार्थप्रति कडा व्यङ्ग्य गर्दै उनले नवसंशोधनवादको वर्गचरित्रको भण्डारफोर गरेकी छिन् । ‘लालख्वामित’ अर्थात् राता मालिक नवसंशोधनवादको प्रतिनिधि बिम्ब हो । ‘लालख्वामित’ कसरी पैदा भयो ? त्यसका निम्ति जनताले के गरे ? भन्ने दृष्टान्त बताउँदै निभा भन्छिन् ः
लाल ख्वामित
तिमीलाई लाल देवता बनाउन
थुपै्र लाल सीताहरू जले
तब न तिमी
लाल देवता भयौ ।

लाल ख्वामित
तिमीलाई लाल मालिक बनाउन
थुपै्र लाल दासहरू मरे
तब न तिमी
लाल मालिक भयौ ।

त्यसैले त भनिरहेछौँ
लाल ख्वामित
तिमी लाल देवता हौ ।

तिम्रो लाल देवत्वमा
कोही मरेर सहिद भए
कोही जिउँदै सहिद भए ।
यहाँ निभाले मुख्यतः जनयुद्धको प्रसङ्गलाई बढी इङ्गित गरेकी छिन् । एकीकृत माओवादीका सुप्रिमो पुष्पकमल दाहाल जसरी प्रचण्ड बन्न सके त्यसले आज उनको शान र शौकात बढेको छ । वर्गउत्थान भएको छ र उनलाई देउताको कोटीमा पु¥याइएको छ । त्यसका लागि हजारौँ क्रान्तिकारी योद्धाहरू (लालदास) ले आफ्ना जीवनलाई न्यौछवार गरेका छन् । पौराणिक कथा रामायणकालमा जस्तै रावणबाट मुक्त गरेर ल्याएपछि पनि सीतालाई रामले अग्निपरीक्षा लिएका थिए, त्यसैगरी नेपाली चेलीहरूले जनयुद्धकालमा जिउँदै जलाइए र माओवादी पार्टी, विचार नेतृत्वलाई माथि उठाएको विषयलाई प्रतिकात्मक रूपमा व्यक्त गरिएको छ । रामायणकालमा रामलाई भगवान बनाउन बानर र हनुमानहरू लडे, युद्धमा हजारौँ मारिए, त्यस्तै जनयुद्धकालमा तल्लो तहका नेता, कार्यकर्ता र जनतासम्मले बलिदानी दिएर प्रचण्डलाई लालमालिक बनाएका हुन् भन्ने कुरा उल्लेख गरेकी छिन् ।
यसैगरी, जनयुद्ध लड्दा जुन वर्ग र समुदायका जनताले रगत र पसिना बगाए, आफ्ना व्यक्तिगत सुख–सुविधा गुमाए, उदात्त जीवनका निम्ति आफ्ना सम्पूर्ण इच्छा, चाहना, आकाङ्क्षालाई तिलाञ्जली दिए, आज त्यसको प्रतिफल अर्कै वर्गले लुटिरहेका छन् । यो तितो यथार्थ प्रस्तुत गर्दै निभा लेख्छिन् ः
तिम्रो लाल देवत्वकरणमा
तोरी छर्ने नरू
तेल खाने अरू
ग्वालो बस्ने नरू
दूध खाने अरू ।

हो यस्तै यस्तै थुप्रै
तिम्रो लाल देवत्वकरणमा
नरू चुस्ने
तिमीले जन्माएका लाल जुकाहरू
कहिले सुखानी चुस्छन्
कहिले थवाङ चुस्छन्
कहिले दोरम्बा चुस्छन् ।
श्रम गर्ने र श्रमको प्रतिफल अभिजात वर्गले खाने विरासतलाई कम्युनिस्टहरूले पनि दोहो¥याए भन्ने तथ्य यस कवितामा उजागर भएको छ । कम्युनिस्टहरू सरकारमा र त्यसवरिपरि पुगेपछि रातारात आफ्नो वर्गप्रति घात गर्दै नवधनाढ्य वर्गमा पतन भएपछि वर्गीय विचार पनि स्खलन हुन्छ र तिनीहरू साँच्चिकै लालमालिकमा रूपान्तरित हुन्छन् र भएका पनि छन् भन्ने कुराको खुलासा प्रस्तुत कवितामा गरिएको छ । यसरी रातारात फेरिएका वर्गलाई उनले लालजुकाको संज्ञा दिएकी छिन् र ती जुकाहरूले मानिसलाई कसरी चुस्छन् भन्ने कुराको भाव यसरी व्यक्त गर्छिन् ः
यी अनौठा प्रजातिका जुकाहरू
घाँटीमा बेरिएर
पैंताला चुस्छन्
कम्मरमा बेरिएर
छाती चुस्छन्
छातीमा बेरिएर
नाइँटो चुस्छन् ।
यसरी जुकारूपी नेता, कार्यकर्ताहरूकै कारण पार्टीलाई विचलित बनाइएको छ । सर्वहारा विचार र आदर्शबाट पृथक बनाइएको छ र पार्टीलाई नवसंशोधनवादी बाटोमा हिँडाइएको छ । त्यसका शीर्ष नेताहरू माथिदेखि तलसम्म बदलिएका छन् । सर्वहारा वर्गप्रति विश्वासघात गरेर, आफ्ना आदर्शप्रति गद्दारी गरेर अभिजात वर्गमा फेरिँदै नवसंशोधनवादमा पतन हुन पुगेका छन् । यस्तो अवस्था रुस, चीन जस्ता मुलुकहरूमा कहीँ कतै पनि भएन । यहाँ त क्रान्ति सम्पनन नगर्दै क्रान्तिनायकहरू खलनायकमा परिणत भएका छन् भन्ने कुरा यो कवितामार्फत प्रस्ट्याइएको छ । यो कविताले क्रान्तिकारी विचारले ओतप्रोत नेता कसरी नवसंशोधनवादी विचारमा फेरियो र मालिक वर्गमा फेरियो भन्ने कुराको राम्रो दृष्टान्त प्रस्तुत गरिएको छ ।
अन्त्यमा, उपर्युल्लिखित दुईवटा कविताले अहिलेको नेपालको सत्ताकेन्द्रित राजनीति तथा देश र जनताको पक्षमा दसबर्से जनयुद्धसमेत लडेर आएको माओवादी पार्टीको मुख्य नेतृत्वको एउटा हिस्साको वैचारिक विचलनप्रति तिखो प्रहार गरिएका छन् । ‘धम्की न दे भारत’ कविताले राष्ट्रियताको पक्षमा द¥हो प्रतिबद्धता व्यक्त गरेको छ भने ‘लालख्वामित’ले एकीकृत नेकपा (माओवादीको) वैचारिक विचलन, त्यो विलनले पैदा गरेको वर्गोत्थान र त्यसको मुख्य नेतृत्वको शासकीय चरित्रको पदार्फास गरेको छ । अहिलेको नेपाली राजनीति, सत्ता संस्कृति र कम्युनिस्ट पार्टीमा हुने गरेको वैचारिक विचलनका विरुद्ध काव्यका माध्यमबाट चरित्र चित्रण गर्ने प्रतिनिधि कविताका रूपमा यी दुवै कवितालाई लिन सकिन्छ ।
२०७० असार ११

प्रतिक्रिया

सम्बन्धित खवर